वीरगंज : उच्च अदालत जनकपुरको अस्थायी वीरगंज इजलासले गत आर्थिक वर्षमा ४६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। सूचना अधिकारी जयनारायण राय यादवका अनुसार आव २०७७/०७८ मा कुल ४ हजार २५९ मुद्दामध्ये १ हजार ९४६ मुद्दा फर्छ्यौट गरेको र २ हजार ३१३ मुद्दा चालु आवमा दायित्व सरेको छ।
गत आवमा २ हजार २७६ मुद्दा आव २०७६/०७७ बाट दायित्व सरेर आएको थियो भने १ हजार ९८३ नयाँ दर्ता मुद्दा भएको उनले बताए। अघिल्लो आव २०७६/७७ मा ५१ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो। गत आवमा कोरोना महामारीको कारण करिब ६ महिना काम प्रभावित भएपछि मुद्दा फर्छ्यौटमा कमी आएको यादवले बताए।
गत आवमा अघिल्लो आव २०७६/०७७ बाट बैंकिङ कसूर, राजस्व अपचलन सम्बन्धी ८६ वटा मुद्दा दायित्व सरेर आएको र १७५ नयाँ मुद्दा गरी कुल २६१ मुद्दामध्येबाट ५८ वटा मुद्दा फर्छ्यौट भएको थियो।
त्यसैगरी, पुनरावेदन क्षेत्र अधिकार अन्तर्गतको व्यक्तिवादी देवानी, सरकारवादी देवानी, व्यक्तिवादी फौजदारी, सरकारवादी फौजदारी गरी १ हजार ८५८ वटा अघिल्लो आवबाट दायित्व सरेको थियो भने गत आवमा १ हजार १४३ वटा मुद्दा दर्ता भएको थियो। कुल ३ हजार १ मुद्दामध्ये १ हजार ३८३ वटा मुद्दा फर्छ्यौट भएको थियो।
त्यसैगरी, रीट क्षेत्र अधिकार अन्तर्गत बन्दी प्रत्यक्षीकरण परमादेश, उत्प्रेषण, प्रतिषेत, अधिकारपृक्षा, निषेधाज्ञा गरी अघिल्लो आवबाट ३३२ मुद्दा दायित्व सरेको र ६६५ नयाँ दर्ता गरी कुल ९९७ वटा मुद्दाबाट गत आवमा ५०५ वटा फर्छ्यौट भएको थियो।