चार पटक हक्कीको विश्वकप उपाधि उचालिसकेको पाकिस्तानले ओलम्पिकमा पनि पहिलो स्वर्ण पदक हक्कीबाटै जितेको थियो। ओलम्पिकबाट स्वर्ण भित्र्याउने खाताको सूचीमा तीन पटक यही खेल कायम रह्यो। यो त भयो इतिहासको कुरा। पछिल्ला दुई ओलम्पिकमा पाकिस्तान हक्कीमा छनोटधरी हुन सकिरहेको छैन। त्यसैले प्रश्न उठ्छ- के भइरहेको छ पाकिस्तानी हक्कीमा?
साठी वर्ष अघि अर्थात् सन् १९६० को सेप्टेम्बरमा पाकिस्तानले ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको थियो। भारतलाई हराउँदै जितेको त्यो स्वर्णको चमक युद्ध जितेपछिको चमकभन्दा कम थिएन।
शाकिल अब्बासी पहिलो पटक पाकिस्तानको जर्सी लगाएको सम्झन्छन्। उनी एकताका पाकिस्तानी हक्की टिमका धुरन्धर खेलाडी थिए। तर, ३७ वर्षे उनलाई अहिले लाग्छ : हक्कीमा लागेर गल्ती गरेछु। उनी ठान्छन् - हक्कीबाहेक पनि उनीसँग विकल्प थिए।
'मैले क्रिकेट छाडेर हक्कीमा लाग्दा ठूलो गल्ती गरेँ। म दुवै खेलमा राम्रो थिएँ, तर मैले राष्ट्रिय खेल (हक्की) रोजेँ,' तीन पटक ओलम्पिक खेलिसकेका उनले अलजजिरासँग भनेका छन्।
सेन्ट्रल फर्वाड शाकिललाई एक समय विश्व हक्कीकै उत्कृष्ट युवा खेलाडीका रुपमा हेरिएको थियो। अहिले उनी इङ्ग्ल्याण्ड, मलेसिया र नेदरल्यण्ड्सका हक्की लिगहरुमा भेटिन्छन्।
'कोभिड १९ को महामारीका कारण ती लिगहरु पनि रोकिएका छन्। यो मेरा लागि पक्कै पनि परीक्षाको घडी हो। किनभने हरेकलाई बाँच्न पैसाको आवश्यकता पर्छ,' उनले भनेका छन्, 'देशका लागि कयौं पटक खेलिसकेको, तीन पटकको ओलम्पियन, दुई विश्वकप र आठ च्याम्पियन्स ट्रफी जितेको खेलाडीसँग यस्तो भइरहेको छ। जब म एउटा बच्चाले हक्की खेलेको देख्छु, मलाई दया लागेर आउँछ।'
पाकिस्तानी हक्कीको स्तर कसरी खस्कँदै गएको भन्ने पछिल्लो विश्व वरियताले पनि देखाउँछ। सन् २००६ मा शीर्ष पाँचभित्र रहेको पाकिस्तान अहिले आइपुग्दा १८ औं स्थानमा छ। र, तीनवटा ओलम्पिकमा स्वर्ण जितेको पाकिस्तानले पछिल्ला दुई वटा ओलम्पिकमा सहभागिता जनाउन सकेको छैन।
ओलम्पिक मात्र हैन पाकिस्तानको खेलस्तर पछिल्लो दशकमा नराम्ररी खस्किएको छ। सन् २०१४ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो पाकिस्तान। हक्कीको गर्विलो इतिहास बोकेको पाकिस्तानसँग समर्थक त छन् तर पाकिस्तानी हक्कीले उनीहरुलाई खुशी बनाउन सकेको छैन।
'पाकिस्तानी हक्कीको यो अवस्था हृदयविदारक छ,' ५१ वर्ष हक्की फ्यान मोजुद्दिन क्वेरेसी भन्छन्, 'ओलम्पिकमा स्वर्ण विजेताको रुपमा पाकिस्तानको राष्ट्रिय गान बजेको क्षण मेरो 'बेस्ट मेमोरी' हो। हामी त सडकमा हक्की खेल्दै हुर्कियौं तर हाम्रा बच्चाहरुलाई यसमा चासो नै छैन। अझ केही दशकमा खेलकुदमा हामी कहीँ हुनेछैनौं।'
केही विज्ञहरुले पाकिस्तानी हक्की 'मृत' भइसकेको बताइरहेका छन् भने केहीले 'भेन्टिलेटर'मा रहेको भन्दै सुधारको आशा कायम राखेका छन्।
आधुनिक हक्की अवलम्बन गर्न नसक्दाको परिणाम
पाकिस्तानी हक्कीको अधोगती सुरु भयो सन् १९८० को दशकबाट।
केही विज्ञहरुको दाबी छ - १९७० बाट आर्टिफिसियल टर्फको प्रयोग हुन थाल्दा सबैभन्दा प्रभावित भए भारत र पाकिस्तान। किनभने दुवै टोलीलाई त्यतिबेला 'किंग अफ ग्रास' भनेर चिन्ने गरिन्थ्यो। विज्ञहरु यहीँबाट पाकिस्तान रेसमा पछि पर्न थालेको दाबी गर्छन्।
त्यस्तै हक्कीको पतन हुनुको पछाडि 'क्रिकेट'ले पनि दोष पायो। क्रिकेटको क्रेज बढेर जाँदा हक्कीको घट्दै गयो। र, धेरै स्कुल र शैक्षिक संस्थाले पनि हक्कीलाई भन्दा क्रिकेटलाई प्राथमिकतामा राख्न थाले।
त्यस्तै, पाकिस्तान हक्की फेडेरेसनका पदाधिकारीहरु आर्थिक हिनामिनमा मुछिँदै गए भने नयाँ योजना बनाउन पनि चुकिरहेको आरोप लाग्यो। यस्ता आरोपबाट पाकिस्तानी हक्कीका 'लेजेन्ड' भनेर चिनिएका खेलाडी पनि अछुतो रहन सकेनन्।
'हाम्रा पूर्व हक्की खेलाडीहरुले विदेशी प्रशिक्षक ल्याउने कुराको लगातार विरोध गरिरहे। र, जब उनीहरुले अवसर आफू केन्द्रित बनाए। उनीहरु पटकपटक असफल भइरहे,' हक्कीका कमेन्टेटर समेत रहेका पाकिस्तानी खेल पत्रकार सरदार खान भन्छन्, 'आधुनिक हक्कीलाई 'एडप्ट' गर्न नसक्दा हामी असफल भयौं।'
विदेशी प्रशिक्षक ल्याएर आधुनिक हक्कीमा प्रवेश गर्ने प्रयास पनि यसैकारण असफल भएको उनी बताउँछन्।
पाकिस्तानी हक्कीको गोल्डन एरामा खेलेका समिउल्लाह खान भने यससँगै पाकिस्तानी हक्की पछि पर्नुका पछाडि अन्य कारणहरु पनि रहेको दावी गर्छन्।
'धेरै खेलाडीले पाकिस्तानी हक्की फेडेरेसनको नेतृत्वका लागि दाबी गरे तर त्यो आइसबर्गको टुप्पोजस्तो मात्र थियो,' फ्लाइङ हर्स उपनामले चिनिने समिउल्लाहले भने, 'हामीले फेडेरेसनको नेतृत्वमा डानामिक अफिसियल गुमाइरहेका छौं। हामी खेलाडी छँदा भाग्यमानी रह्यौं किनभने त्यतिबेला इमानदार काम गर्ने अफिसियलहरु फेडेरेसनमा थिए।'
त्यस्तै, आर्थिक अनियमितता र उचित योजनाको अभावमा पाकिस्तानी हक्की गिजोलिएको उनी मान्छन्।
'फेडेरेसनले प्राप्त गर्ने फण्डहरु सही तरिकाले प्रयोग गरिएन। हामीसँग आधुनिक उपकरण छैन। त्यस्तै, खेल भेन्युहरु कराँची जस्ता शहरहरुमा मात्र केन्द्रिकृत भए जसले ग्रामीण क्षेत्रबाट खेलाडी तान्न सकेको छैन,' उनले भने।
अवकाशप्राप्त ब्रिगेडियर खालिद सज्जाद खोखर अहिले फेडेरेसनको अध्यक्ष छन्। उनी २०१५ देखि पदमा छन् भने पूर्व खेलाडी आशिफ बजवा दोस्रो कार्यकालमा सचिवको पद सम्हालिरहेका छन्।
'पेपरमा हामी १८ औं स्थानमा छौं तर टेक्निकल्ली अझै शीर्ष आठमै छौं,' बजवाको दावी छ, 'पाकिस्तानको वरीयता ह्वात्तै खस्किनुको पछाडि २०१९ को प्रो हक्की लिगमा सहभागिता नजनाउने ब्लन्डर निर्णय थियो। यसले हामी ठूलो परिमाणमा फाइन तिर्नपर्ने अवस्था आयो। जसका कारण हामी टोकियो ओलम्पिकमा पनि क्वालिफाइ हुन सकेनौं।'
यद्यपि, बजवा हक्कीलाई सही ट्र्याकमा ल्याउन अझै धेरै गर्न बाँकी रहेको स्वीकार गर्छन्।
'पहिलो त हाम्रो खेलाडीलाई इन्टरनेसनल एक्पोजर चाहिएको छ जसका लागि धेरै स्थानमा गएर खेल्नुपर्ने हुन्छ। हामीसँग त्यति धेरै फण्ड छैन जति क्रिकेट बोर्डसँग छ,' उनले भने, 'हक्की धेरै महँगिएको छ। काठको स्टिकबाट ग्राफाइटको स्टिकसम्म पुग्दा खर्च बढेको छ। एस्ट्रोटर्फका लागि पनि ठूलो रकमको आवश्यकता पर्छ।'