PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुलपति कर्माचार्यद्वारा दुई बाल कृति विमोचित



कुलपति कर्माचार्यद्वारा दुई बाल कृति विमोचित

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री केके कर्माचार्यले दुई बालकृति विमोचन गरेका छन्। बिहीवार भर्चुअल कार्यक्रममार्फत बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता संग्रह 'रसैरस रसिली' र विजयराज आचार्यको बाल कथा संग्रह 'स्वयम्भूका आँखाहरु' विमोचन गरेका हुन्।

कृति विमोचनपछि कुलपति कर्माचार्यले दुबै कृतिको शीर्षक नै रोचक रहेको बताए। कर्माचार्यले अबका दिनमा कथा लेख्दा अनुसन्धानलाई पनि विशेष जोड दिनुपर्ने सुझाव दिए।

'रसैरस रसिली' बारे टिप्पणी गर्दै कवि रमेशचन्द्र घिमिरेले कविताहरू बालसुलभ भएको उल्लेख गरे। प्रधानका कविताहरूमा देशप्रेम, प्रकृति र बाल मनलाई समेटिएको घिमिरेको भनाई थियो। उक्त पुस्तकमा १० वटा कविता समेटिएका छन्। पुस्तकमा रवीन्द्र मानन्धरका चित्रहरू सजिएका छन्।

यस्तै 'स्वयम्भूका आँखाहरु' माथि बालसाहित्य सर्जक शाश्वत पराजुलीले समीक्षा गरेका थिए। पुस्तकमा मञ्जुश्रीको मिथकलाई आधुनिक प्रविधिसँग जोडिएर लेखिएको उनले बताए। किताबमा ९ वटा बाल कथा समावेश छन्। पुस्तकमा युवक श्रेष्ठका चित्रहरू समेटिएका छन्।

'रसैरस रसिली'लाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो भने 'स्वयम्भूका आँखाहरू' विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भूको संयुक्त प्रकाशन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell