PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किन हुन्छ महिला खेलाडीको पोशाकमाथि टिप्पणी ?



किन हुन्छ महिला खेलाडीको पोशाकमाथि टिप्पणी ?
जिम्नास्टिकमा स्वर्ण पदक जितेपछि अमेरिकी खेलाडी सुनिशा लि Photo : AP

१५ वर्ष अघिको कुरा हो। हाल टोकियो ओलम्पिकमा सहभागी भारतीय पहलवान विनेश फोगाटलाई आफ्नो पहिरन छनोट गर्न नै  समाजसँग पहिलो 'दंगल' लड्नु परेको थियो। उनलाई सजिलो हुने लुगा लगाउन छुट दिइएको थियो। टी सर्ट र ट्रयाकमा कुस्ती गर्न सजिलो भयो। तर उनले लगाएको लुगाकै कारण उनी समस्यामा परिन्।  

भारतको हरियाणामा हुर्केकी उनले आफूलाई खेल खेल्दा सजिलो हुने पहिरन लगाएर अभ्यास गर्न गइन्। सजिलो हुने लुगा लगाएर अभ्यास गरेकै कारण उनले नकारात्मक प्रतिक्रिया पाउन थालिन्। यस्तो लुगा लगाएर कसरी घर बाहिर जान दिएको भनि उनको परिवारमाथि नै प्रश्न गरियो। यो क्रम अहिलेसम्म रोकिएको छैन।

अहिले पनि महिला खेलाडीहरुको पोशाकमाथि चर्चा हुने गर्छ। यतिसम्म कि कहिले त महिला खेलाडीको मेहनेतभन्दा पोशाकको चर्चा नै बढी हुन्छ।

टोकियो ओलम्पिकमा पनि आफ्नो सहुलियतको पोशाक लगाउनेबारे विवाद नै चलिरहेको छ। जर्मनीका महिला जिमनास्टिक टिमले आधा शरीर मात्रै छोप्ने पोशाक 'लियोटार्ट' को सट्टा पुरा शरीर ढाक्ने 'यूनीटार्ड' लगाउने निर्णय लिएका छन्।

पुरै शरीर ढाक्ने पोशाकमा बढी आराम पाउने उनीहरुको मान्यता छ। पोशाक लगाउने कुरामा पुरुषसमान स्वतन्त्रता दिइनुपर्ने उनीहरुले बताएका छन्। तर, पुरुष खेलाडीहरुको पोशाकको विषयमा शरीरलाई आकर्षक देखाउनुपर्ने कुनै नियमहरू छैनन्। जसकारण उनीहरु सबै ध्यान खेल दिन सक्छन्।
तर, खेलको नियम बनाउनेहरुले भने महिलाको पहिरनलाई खेल जति नै महत्व दिएको पाइन्छ। महिला खेलाडीले खेल खेल्दा होस् या भागदौड गर्दा उ आकर्षक देखिराख्नुपर्छ भन्ने मान्यता केहीको छ।

खेलकुद क्षेत्रमा सधै पुरुषहरु नै हाबी हुन्छन् भन्ने अर्को मान्यता छ। तर महिलाहरूले पुरुषसहर शारीरिक कठिनाई गरेर संघर्ष गर्छन्। विडम्वना त्यसमा पनि महिलाबाट सुन्दरता र शारीरिक आकर्षण कायम राख्ने अपेक्षा गरिन्छ। महिला आकर्षक हुँदा खेलबाट ध्यान हट्दा समेत उनैमाथि आरोप लगाउने गरिन्छ।

भारतीय महिला क्रिकेट टीमकी कप्तान मिताली राजले सन् २०१७ मा जब बिना बाजूले डिजाइन गरेको 'टप' लगाएको एक सेल्फी खिचेर ट्वीटरमा पोष्ट गरिन्। उनले फोटो पोष्ट गरेसँगै उनीमाथि नकारात्मक टिप्पणी आउन थाले। उनी ट्रोलको सिकार हुन पुगिन्। कतिपयले उनलाई 'पोर्न स्टार' हो भनि कमेन्ट समेत गरे।

खेल क्षेत्रमा 'मोर्डन र फर्वार्ड' भएर पोशाक लगाएकै कारण अगाडि बढिरहेका महिलामाथि प्रश्न उठने गरेको छ। चाहे त्यो मैदान भित्र होस् या मैदान बाहिर। उनीहरुको पोशाकलाई लिएर नकारात्मक टिप्पणी हुने गर्छ।

१८ वर्षकै उमेरमा टेनिसमा भारतको नाम चिनाएकी खेलाडी सानिया मिर्जाले समेत पहिरनकै कारण आलोचना ब्यहोर्नु पर्‍यो। उनले लगाएको पोशाकमाथि अतिवादी धार्मिक संगठनले नैतिकता उल्लंघन गरेको आरोप लगाएको थियो। सन् २००५ मा सुन्नी उलेमा बोर्डले सानियामाथि 'अभद्र लुगा' लगाएर खेल खेलेको आरोप लगाए। उनले लगाएको लुगाले जवान युवतीमाथि नराम्रो असर परेको समेत भनिएको थियो।

बोर्डले एक विज्ञप्ती निकाल्दै इस्लाम महिलालाई छोटो लुगा, स्कर्ट र पुरै शरीर ढाकिने लुगा लगाउन अनुमति दिइएको छैन भनि उल्लेख गरेको थियो। 

तर सानियाले विज्ञप्तीमाथि कुनै टिपप्णी दिन उचित ठानिनन्। बरु कपडाको बारेमा यसरी विवाद हुँदा निकै दु:ख लाग्ने बताइन्।

प्रतियोगिताका लागि अभ्यास गर्दा समेत महिलाहरुले यौन दुर्व्यवहारको सामना गर्नुपर्छ। जुन साधारण समस्या बनिसकेको छ। तर महिला खेलाडीहरु राम्रो अवसरहरु गुमाउने डरले भने बोल्न सकेका छेनन्।

महिला खेलाडीहरुको आकर्षण र हिंसाबिच गहिरो सम्बन्ध छ।

जर्मन जिमनास्टिक टिमले यसै वर्षको अप्रिल मा 'यूरोपियन आर्टिस्टिक जिमनास्टिक्स च्याम्पियनशिप' मा पहिलो चोटि 'यूनीटार्ट' लगाएर विरोध प्रदर्शन गरेका थिए।

जर्मन संघले जिमनास्टिकमा महिलाहरूको 'यौनिकरण' र 'यौन हिंसा' रोक्न यो कदम आवश्यक रहेको बताएको थियो। यो हिंसा र अनावश्यक दबाबविरुद्ध बोल्नुको सुरुवात हो।

जिमनास्टिकमा हिंसाको ताजा उदाहरण अमेरिकी महिला टिमका चिकित्सकका रुपमा काम गरेका लैरी नासर हुन्। उनीमाथि १५० महिला खेलाडीले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। अदालतले उनलाई दोषी ठहर गर्दै १७५ वर्षको जेल सजाय सुनाएको छ। तर यति चाँडै 'सेक्सिस्ट सोच र संस्कृति' मा परिवर्तन ल्याउन सजिलो भने छैन।

गत साता मात्रै नर्वेको बिच- हेन्डबल टिमले जब सुविधाको लागि बिकिनी शर्टको साटो 'निकर' लगाए, टिममाथि पोशाकको नियम उल्लंघन गरेको आरोप लाग्यो। साथै उनीहरुलाई क्षतिपुर्ती तिरार्नुपर्ने समेत बताइएको थियो। तर उनीहरुको साथमा अमेरिकी पप स्टार 'पिंक' खडा भइन्। उनले क्षतिपुर्ति आफूले तिरिदिने भन्दै विद्रोह आवश्यक रहेको बताइन्।

उनले यसै विषयमा ट्वीट गर्दै लेखेकी छिन्, 'क्षतिपुर्ति त यस्तो सेक्सिस्ट नियम बनाउने संघमाथि लगाउनुपर्छ। मलाई नर्वेको महिला टिममाथि गर्व छ। निरन्तर अगाडि बढ्नुहोस्।'

बीबीसी हिन्दीमा प्रकाशित सामाग्रीको भावनुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell