करिब ५ हप्तादेखि अस्ट्रेलियाको सिड्नी लकडाउनमा छ। कोभिड १९ संक्रमण बढेसँगै लागू गरिएको लकडाउन केही दिन अघि मात्रै थप एक महिना बढाइएको थियो।
कोभिड १९ डेल्टा भेरियन्टका कारण संक्रमण बढेपछि फेरि लकडाउन थपिएको हो। जुन महिनादेखि भएको 'डेल्टा भेरियन्ट आउटब्रके' पछि ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ९ जनाको मृत्यु भइसकेको छ। शुक्रवार थप १७० जनामा संक्रमण देखिएको थियो।
संक्रमण नियन्त्रणका लागि महिनौं अघिदेखि सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाका लागि यो 'आउटब्रेक' चिन्ताको विषय बनेको छ। त्यसैले सरकारले सेनालाई सडकमा उतार्ने निर्णय गरेको हो।
सेनाले प्रहरीसँग मिलेर कोभिड १९ हटस्पट क्षेत्रहरुमा प्रहरीसँग मिलेर काम गर्नेछन्। नागरिकहरुलाई कोभिड १९ मापदण्ड पालना गराउन सेनाले सहयोग गर्नेछन्। यद्यपि, सेना परिचालन गरिनुलाई 'हतारको निर्णय' भन्नेहरु पनि छन्। अस्ट्रेलियन लर्यस एलायन्सले प्रजातन्त्रमा सेना परिचालन हुनु गम्भीर विषय रहेको टिप्पणी गरेको छ।
स्टेट पुलिस मिनिस्टर डेभिड इल्लियटले केही सिड्नीबासीहरुलाई कोभिड १९ नियम उनीहरुमाथि लागू नहुने भन्ने सोच रहेको भन्दै सेना परिचालनबाट त्यस्तो सोचमाथि नियन्त्रण पाउन सजिलो हुने बताएका छन्।
स्वास्थ्य अधिकारीहरुका अनुसार सिड्नीमा अनुमति लिएर यात्रा गरिरहेकाहरुबाट नै हाल संक्रमण फैलिएको देखिएको छ। त्यसैले पनि अनावश्यक हिँड्डुललाई रोक्न सेना परिचालन गर्न आवश्यक रहेको देखिएको बताइएको छ।