PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

लिलाराज खतिवडाको प्रश्न : यतिबिघ्न नक्कली पत्रकार किन नेपालमा?



लिलाराज खतिवडाको प्रश्न : यतिबिघ्न नक्कली पत्रकार किन नेपालमा?

  • लिलाराज खतिवडा -

छयालिस सालको एसएलसीपछि प्रदर्शनीमार्गको आरआर कलेजमा पत्रकारिता विषय लिएर प्रविणता प्रमाणपत्र र स्नातक तह अध्ययन गर्दा मलाई कुनै अनुमान थिएन कि मैले पढेको शास्त्रको आज आएर नेपाल देशमा यति धेरै हुर्मत काढिन्छ वा समयान्तरमा यो पेशा यति धेरै बदनाम हुन्छ।

राज्यको चौथो अङ्ग स्वीकार गरिएको पत्रकारिता पेशाप्रति उबेला निकै सम्मान थियो। तर, आज त्यो सम्मान क्रमशः धुलिसात भइसकेको छ। पत्रकारिता एकपटक शिखरमा आफ्नो उत्कृष्टताको झण्डा फहराएर आज दिवालिया हुन्जेलसम्मको समयलाई मैले निकै मिहिनता र निरीहतासाथ अवलोकन गरेको छु। अवलोकन शब्द अलिक साँघुरो होला, मैले त त्यो लामो कालखण्डलाई बडा मजाले जिएको छु। आखिर जसका लागि लेखिन्छ वा बोलिन्छ वा देखाइन्छ उसैले अविश्वास गरेपछि कस्तो हबिगत हुन्छ होला?

सत्य बोल्नुपर्दा, इच्छा हुँदाहुँदै मुलुकका लागि निकै नै कम लेखे पनि आफ्ना लागि मैले धेरै लेखेँ। अब अनेक बाधा अड्चनका बावजूद मैले लेखेको त्यो सब मुलुकका लागि भयो कि भएन, अरुले मूल्याङ्कन गर्ने कुरा हो।

लेख्न मैले स्यानैदेखि सिके पनि लेखक बन्ने मेरो कुनै अभीप्सा थिएन। आफूलाई लेखक भनेर बोलाउन पनि मलाई मन पर्दैन। कसैले मलाई लेखक भन्यो भने, गिज्याए जस्तो लाग्छ। तारिफ होइन, यो अवहेलना जस्तो लाग्छ।

रिपोर्टर भएर काम गर्दाताकाका अखबारहरुमा छापिएका सामग्रीको संग्रह आज मसँग छैन। कुनै पनि अखबारमा आफूले लेखेका कटिङ्सको जोहो मैले गरिँन। प्रेस काउन्सिल र केही पुस्तकालयमा खोज्न जाने जाँगर छैन। किनभने, मेरा लागि हिजो के लेखियो भन्ने कुराले महत्त्व राख्दैन।

महत्त्व राख्छ त एउटै कुराले। त्यो हो, आज के लेखियो?

अखबारले आजको भाषा बोल्छ। अझ इन्टरनेटले त अहिलेकै पलको भाषा बोल्छ।

पछिल्ला पाँच/छ वर्ष लगातार अनलाइन पोर्टलहरुमा लेखेपछि मलाई अखबार ‘लेन्दी भर्सन’ लाग्न थाल्नु स्वाभाविक थियो। चाङ्का चाङ् अखबार किनेर पढ्ने आदत थियो। तर, अहिले क्रमशः अखबारको मोह पनि कम भएर गयो। अखबार छापिएर बजारमा आइपुग्दासम्म त यता अनलाइनमा एक किसिमको तमाशा भइसकेको हुन्छ। अखबारबाटै लेखन कार्य थालेता पनि प्रविधिमा आएको अकल्पनीय परिवर्तनलाई आज आत्मसात र सम्मान गर्न कर लाग्छ। निकै समयदेखि मैले मसला पोको पार्नका लागि समेत अखबार किनेको छैन। अखबार खरिद गर्ने पैसाले अहिले मोबाइल डाटा किन्ने आदत नै भएको छ।

रिपोर्टर हुँदा अखबारमा आफूले लेखेका सबै समाचार, फिचर वा रिपोर्टहरुको दाँजोमा पछिल्ला वर्षहरुमा मैले जे जति कलम घिसेँ, ती सबै असामान्य थिए वा छन्। कारण बडा दर्दनाक छ।

बिपश्यना जान थालेको दुइ वर्षपछि सन् १९९९ मा मेरो टाउकोमाथि निदान गरिएको भयंकर मानसिक रोग ‘प्यारानोइड स्किजोफ्रेनिया’सँग लगातार चौध वर्ष युद्ध गरेपछि जब मैले पुनः लेख्न थालेँ, दावीकासाथ भन्न सक्छु, चेतनाको अज्ञात रसातलबाट गरेको अध्ययन, अनुसन्धान र अनुभवले उधिन्न भ्याइएका प्रसंग र प्लटहरु अर्को सामान्य लेखकले कदापि उधिन्न सक्दैन थियो। मैले जुन सूचना वा सन्देशहरु मथिङ्गल गरेँ, त्यो नेपालमा अर्को लेखकले गर्न सकेको छैन र सक्दैन पनि। ‘स्किजोफ्रेनिया’ निदान भएपछि धेरै कम मान्छेहरुले मात्रै सामान्य जीवन ज्यूँने सौभाग्य पाएका छन्। भयंकर मानसिक रोग लागेर पनि पुनः सामान्य जीवनमा फर्किएर जिन्दगी जोत्न थाल्नु त्यति सहज छैन। त्यो पनि नेपाल देशमा!

अर्कातिर साइकोसिस नभोगेरै पागलपनमा कलम चलाउने लेखकहरु पनि नभएका होइनन्। तर, मेरो के दावी छ भने अनुभव र प्रयोगबिनाको लेखन एकदमै सतही र एकलकाँटे हुन्छ। त्यस्तो रचना कालजयी हुन सक्दैन।

मानसिक रोग लागेको व्यक्तिलाई यहाँ पागल भनिन्छ। अरु भन्दा फरक र तेज ऊर्जा लिएर कोही प्रकट भए उसलाई पागल भनिन्छ। अलिक गहन कुरा गर्नेहरु पनि यहाँ पागल नै कहलिन्छन्। कोही चुनौती स्वीकार गरेर अघि बढ्छन् र कालान्तरमा अरुलाई पागल बनाइदिन्छन्। कोही केवल चाँदमारा वा लुनेटिक नै रहन्छन् वा त्यो आयाम नाघेर निर्वाणमा समेत पुगिदिन्छन्।

धक फुकाएरै भन्नुपर्दा, कैयौं वर्ष बिकराल मानसिक रोगसँग लडेर जब सन् २०१५ मा मैले ‘म को हुँ’ भन्ने उपन्यास बजारमा ल्याएँ, मलाई मिडियाबाट नगण्य फोनहरु आए। जब कि कुनै दिन म पनि राजधानीको मूलधारे पत्रकारिताको एक सदस्य हुने गर्दथेँ। मेरा थुप्रो कलिगहरु मिडियाको लगाम खिँच्थे वा खिँच्छन्। रोगसँग लडिरहेका बेला पत्रकारितासम्बद्ध संस्थाले मलाई कुनै सहयोग गरेनन्। बरु उल्टै पागल भनेर पन्छिए। पागलको धब्बा लगाएर कतिपय चल्तीका अखबारले मेरा लेख वा फिचरहरु छाप्न छाडे। ठाउँठाउँमा शुभचिन्तक र असल मित्रहरु नभइदिएका भए मलाई संघर्ष कायम गर्न र अघि बढ्न अति कठिन हुने थियो।

‘संघर्षमा विद्या सिक्नू’ वा ‘विद्या सिक्न संघर्ष गर्नू,’ हमेशा यो मेरो एउटा गुप्त मन्त्र रहन पुग्यो। मैले तदनुरुप गएर मानसिक समस्याहरुसँग लड्न सकेँ। त्यसो त म कुनै पनि विद्या सिकिसकेपछि अर्को नयाँ विद्या सिक्नतर्फ लाग्छु। मैले धेरै विद्या सिक्न बाँकी नै छ। यता नेपाली भाषामा लेख्न सिक्न मलाई निकै वर्ष लाग्यो। नेपाली धेरै दुरुह र गहन भाषा पनि हो। अझै धेरै सिक्नु छ। अंग्रेजी भाषामा लेख्ने प्यास थाँती राखेर लगातार मातृभाषामा कलम चलाउँदा मलाई खूब आनन्द आउँछ।

संवाददाताको रुपमा काम गर्न थालेको २७ वर्षपछि आजका दिनमा मात्रै भन्न सक्छु, कि म लेख्न सक्छु। तर, अब लेख्न जानिसकेपछि मेरो नयाँनयाँ विद्या सिक्ने इच्छाका अगाडि मैले कलमको नीबलाई निकै तेज बनाउनु पनि जरुरी भएको छ। लेखनका साथ अन्य विद्या सिक्न गाह्रो। तर, त्यही गाह्रोमा नै म प्रायः लेखिदिन्छु। किनभने, लेखन कार्यमा मस्तिष्क शत् प्रतिशत ब्यस्त हुन मन पराउँछ। अन्य घिसेपिटे कामहरुमा लाग्दा लेखन कमजोर हुने मेरो अनुभव छ। तर, उता फेरि प्रसस्तै अनुसन्धान गरेर तथा एड्वेन्चर भोगेर लेख्नुको मजा नै छुट्टै।

लेखनकार्यले मेरो सारा समय ओगटिरहेको हुन्छ। अरुले देख्दा खासै केही नगरिरहेको देखिएता पनि म भित्रभित्रै लेख्ने सामग्रीहरु उमालिरहेको हुन्छु। कतै घुम्न जाँदा म ज्यादा से ज्यादा आफ्नो मस्तिष्कको घ्राँण शक्ति बढाउने कोसिस गर्छु। सूचना र जानकारीहरु सुँघ्दैसुँघ्दै हिँड्ने मेरो बानी छ। आम मानिस, विभिन्न स्थान र वस्तु परिस्थिति वा कुराहरुलाई मिहिन अवलोकन गरिएन भने लेख्ने बेलामा वर्णन गर्न कठिन हुन्छ। जब म लेखिरहेको हुन्छु, केही विशेष काम गर्न रुचाउँछु – योजनाविहीन घुमघाम, आवारागर्दी र जताततै जुनसुकै विषयमा गफगाफमा उद्दत हुनु, प्रसस्तै सुत्नु, उपवाश बस्नु, जाग्राम बस्नु, तमाखु खानु आदि। तमाखु खाएर मस्त सुत्नु अनि उठेर लगातार लेख्नु – एक किसिमले मेरो आदत हो। तर, नेपाल देशमा आजकल राम्रो तमाखु पाइँदैन। नेपालका धेरै प्राचीन धरोहर र खजानाहरु आजकल तस्करको कब्जामा!

भन्न मन लाग्छ, नेपालको पत्रकारिता र साहित्य क्षेत्रमा केहीलाई छाडेर अरु सबै ठगहरु हुन्। उनीहरु लेख रचना माँग्छन्, छाप्छन्। अनि पैसा दिने बेलामा आफ्नो लुतो कन्याउँछन्। म यिनलाई बौद्धिक ठग भन्न पनि अल्छी मान्छु। किनभने यी केवल ठग हुन्। राँगाको मःम पसल भन्दा बढी यहाँ मिडियाहरु खुलेका छन्। केहीलाई छाडेर विश्लेषण गर्दा तिनीहरुको दिनचर्या चोरीचकारी वा कपी - पेस्टमा नै बितिरहेको हुन्छ। हिजोका हकरहरु आज नामी पत्रकार छन्। हकर? यहाँ त पाकेटमारहरु पो प्रेसपास बोकेर पाँचतारे होटल धाउँछन्। आज नेपालको पत्रकारितामा यस्तो चुतियागिरी छाएको छ कि त्यसलाई रछ्यानको संज्ञा दिँदा पनि हुन्छ।

प्रसस्तै बजेट नभएका दिवालियाहरुलाई किन दिने पत्रकारिता गर्ने लाइसेन्स? लेखक वा स्तम्भकार वा संवाददाता लगायतलाई उचित पारिश्रमिक दिन नसक्ने मिडियालाई राज्यले किन चौथो अंगको सुविधा दिने? के पत्रकारिता केही पनि काम नपाएर वा रातारात लखपति हुने भ्रममा रेडलाइट एरियामा गरिने दलाली हो?

त्यसो त एउटी कलगर्लले पनि आफ्नो कामको हाताहाती ज्याला पाउँछे। तर, एउटा स्वतन्त्र लेखक? नेपालमा एउटा स्वतन्त्र लेखक कैयौँ निकृष्ट कारणहरुले घिनलाग्दो अवस्था भोगिरहेको हुन्छ। कतिपय अवस्थामा ऊ फोगटमा कलम रगडिरहेको हुन्छ। अनि यहाँका लाचार, लोभी र कप्टी सम्पादकहरु आफ्ना नियमित लेखक वा स्तम्भकारलाई न कहिल्यै कफी खान बोलाउँछन् न त हालखबर सोध्छन्। सत्ताको तलुवा चाटिरहेका त्यस्ता सम्पादकहरुको आक्कल झुक्कल अनुहार देख्दा टिठ मात्रै लाग्छ। यस्तो अवस्था गीताको ‘कर्म गर, फलको आश नगर’ समान!

यस प्रकार, यहाँ कलम घिसेर मोक्ष त प्राप्त होला। तर, पेटलाई पोषण – असम्भव!

अर्को कुरा, यदि नेपालमा बेश्याबृत्ति वैध हुँदो हो त नब्बे प्रतिशत मिडियाहरु भटाभट बन्द हुने थिए। अर्थात्, यदि तपाईं यो देशका नब्बे प्रतिशत मिडियाहरु बन्द गर्न चाहनुहुन्छ भने, बेश्याबृत्तिलाई वैध गरिदिनुहोस्। बात खत्तम्!

कारण उल्लेख गरिरहनु पर्ला र?

यहाँ हल्लुँणको कन्दनी भिरेका र जल्लादको डोरीको जनै लगाएका धेरै मान्छेहरु मिडिया र साहित्यको ठेकेदार भएर बसेका छन्। अनुहारमा झिँगा भन्किरहेका चेहरा लुकाएर उनीहरु टुटेफुटे अखबार वा अनलाइन पत्रिका निकाल्छन्। वा क्यामेराको फ्रेमभित्र पनि यदाकदा त्यस्ता मान्छेहरु सिँगान कोट्याएर मुखमा हालिरहेका हुन्छन्।

पत्रकारिता जागृतहरुले गर्ने बौद्धिक काम हो। जसकसैको वशमा यो छैन। यसमा धेरै अध्ययन र अभ्यासको जरुरत पर्छ। सोसल मिडियालाई पत्रकारिता मान्ने नेपालीहरु अझै धैरै नै छन्। हिजोका फोटो स्टुडियो आज युट्युबर छन्। हिजो बिहेको भिडियो खिच्नेहरु आज एउटा सस्तो बुम बोकेर पत्रकार भन्दै ठगी हिँड्छन्। वा समाजमा भ्रम फैल्याउँछन्। समातेर जेल हाल्नुपर्नेहरु आज सत्तामा भएकाले तिनीहरुको तलुवा चाट्नेहरु चाँहि यसप्रकार यहाँ पत्रकारका रुपमा ग्याल्ग्याल्ती भएका छन्। शुरुशुरुमा मिडियाहरु यति सारो कर्कश, कहालीलाग्दा र आपराधिक थिएनन्। तर, आजको स्थिति निकै भयावह छ। यसले हाम्रो समाजलाई कतातिर लगिरहेको छ? सोचनीय विषय हो।

अर्कातिर आज झुठा समाचार, प्रपोगाण्डा र मानहानीका अनेक ठेलीहरुले मिडिया प्रदुषित छन्। अनि तिनका पछि कुद्ने नादान र ‘भेस्टेड इन्ट्रेस्ट’ग्रस्त मान्छेहरुको त कुरै बेग्लै। ‘भुस्याहा कुकुर’लाई पनि मिडियाको लाइसेन्स दिनाले आज नेपाली पत्रकारिता निकै लज्जित हुन पुगेको छ। यहाँ नाम चलेका टप टेन मिडिया स्क्यान गर्दा यस्तो लाग्छ कि या त उनीहरु अनेक मादक द्रब्यहरुले मातेका छन् या त भित्री वस्त्र समेत त्यागेर बजारमा नाङ्गै हिँडिरहेका छन्।

दुई दशक अगाडि रत्नपार्कतिर बेचिने सन्ध्याकालीन पत्रिकाभन्दा पनि धेरै झुर कथित मिडियाहरुको किन आज बिगबिगी बढेको छ? के यी कुत्सित चाल बोकेको कुनै संगठित गिरोहद्वारा सन्चालित छन्? कि ती सब फगत कुण्ठा र दिग्भ्रम पोख्ने घटिया प्लेटफार्म हुन्?

अब अलिकति बिगत कोट्याउँ। विक्रम संवत २०३० को दशकमा नेपालमा सर्वप्रथम त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रदर्शनीमार्गको रत्नराज्य कलेजमा आमसञ्चार अर्थात् पत्रकारिताको पढाइ शुरु भयो। २०४६ मा प्रजातन्त्रको आगमन हुँदा निजी क्षेत्रबाट नेपाल प्रेस इन्स्टिच्यूट, एनपीआईले तालिम शुरु गरेको थियो।

नेपालका धेरै जसो पत्रकार उत्पादन गर्नेमा रत्नराज्य कलेज र एनपीआई नै पर्दछन्। पछिल्ला वर्षहरुमा भने पत्रकारिता पढाउने र तालिम दिने अनेक कलेज र संस्थाहरु खुलेका छन्। पत्रकारिता पेशामा युवाहरुको आकर्षण बढेको र बढ्दो छ। त्यसो त कतै तालिम नै नलिइ पनि पत्रकारितामा लागेर नाम र दाम कमाउनेहरु पनि निकै छन्। वा यहाँ त अहिले बढीजसो नक्कली पत्रकारहरुकै बिगबिगी छ। अनि अर्कातिर त्यस्ता नक्कली पत्रकारबाट भुटिएका मान्छेहरुको संख्या पनि बढिरहेको नै छ।

सर्वप्रथम रत्नराज्य कलेजमा पत्रकारिता विभाग स्थापना हुँदासम्म नेपालमा पत्रकारहरु स्वविवेकले, रहरले, बाध्यताले वा साथीसंगतीमा तयार हुन्थे। एकातिर पञ्चायती शासनको नियन्त्रित दवदवा र अर्कातिर पैसा कमाउन भन्दा पनि निश्चित उद्देश्यले पत्रकारिता गर्नु पर्ने बाध्यता भएकाले पत्रकारिता ऐरेगैरेको वशको कुरो थिएन, त्यतिबेला।

साहस, चाकडी, हुर्मत, बेइज्जती खप्न सक्ने ल्याकत वा हत्या हुन सक्ने संभावनामा पनि आफूलाई बचाइराख्ने क्षमताहरु त्यतिबेलाको पत्रकारिताका निर्दिष्ट मूलभूत बूँदा हुन्थे।

त्यतिबेलाको बजारमा निस्किने अखबार धेरैजसो राजनीतिक परिवर्तनका पक्षमा हुन्थे। केहीलाई छाडेर त्यतिबेलाका प्रायः अखबारका सम्पादक वा पत्रकारहरु भनेका एक किसिमले राजनीतिक कार्यकर्ता नै हुने गर्दथे। अहिले पनि यो क्रम जारी छ। र, यो नै पेशाको प्रमुख क्यान्सर हो। सबै राजनीतिक दलहरु भित्र समातेर जेलमा कोच्नुपर्ने मान्छेहरुको संख्या बढ्न थालेको अवस्थामा इमान्दार मान्छेहरुले त्यस्तो दलबाट आफूलाई अलग्याउनु पर्नेमा उल्टो अन्धभक्ति शैलीमा पेश हुन आउँछन्। यसको कारण, उनीहरु सुरक्षित छैनन्। दलभन्दा बाहिर उनीहरु आफूलाई सकुशल राख्न सक्दैनन्। आजको पुस्ताका लागि यस्ता मान्छेहरु आउटडेटेड हुन्। चाहे ती नेता हुन् वा पत्रकार वा जो कोही। आजको पुस्ता राजनीतिक दलबिहीन समाजको परिकल्पनामा जुटिसकेको छ। हेर्दाहेर्दै यहाँ एउटा ठूलो जमात, दलगत जमात विस्थापित भएरै छाड्ने छ।

रत्नराज्य कलेजमा त्यसरी पत्रकारिताको पढाइ शुरु भएता पनि नेपालमा आमसञ्चारको फैलाव र पहुँच बढेको भने २०४७ को संविधानले प्रदत्त गरेको वाक तथा प्रेस स्वतन्त्रता, छापखानाको अधिकार र सूचनाको हकले गर्दा नै हो। निजीकरण र सूचनाको हक प्राप्त हुनुले वा भनौं, देशको संप्रभूता जनतामा नीहित हुनुले नेपालमा यसपछिका ३१ लामा वर्षहरुमा अनेक अभूतपूर्व छलाङ मारिए।

आज देशमा अनेक अखबार, इ-अखबार, रेडियो, टेलिभिजनहरु छन्। तिनमा काम गर्ने हजारौं ‘पत्रकार’हरु छन्। अझ स्पष्ट भन्दा हिँजोआज त घरघरमा पत्रकार छन्।

तर, यता नेपालको वर्तमान कानूनमा पत्रकार हुनुका आफ्नै नियम, उपनियमहरु छन्। तर कसले मान्ने कानून नेपालमा?

कानूनको हालत एकातर्फ खस्किँदो छ भने अर्कातर्फ समाज पनि हरतरफ भ्रष्टाचारले आक्रान्त छ। मुलुक मासक्राइमले संक्रमित छ। अहिले त न्यायालय नै चरम् विवादमा छ। सर्वोच्च अदालत नै राजनीतिक अखडा भएको छ। राजनीतिकरण र भ्रस्टाचारले क्यान्सर ग्रस्त न्यायालयलाई हाल विदेशी शक्तिबाट सञ्चालित भएको आरोप छ।

कानून जब जनताको हातमा भइसकेपछि यहाँ को भन्दा को कम? यहाँ हर कोहीलाई कानून हातमा लिन मन लाग्छ। कानून हातमा लिएर यहाँ दिनदहाडै अनेक अपराधहरु मञ्चन हुन्छन्। कानून पैसामा बिक्छ। शक्तिले दमित हुन्छ। प्रहरी प्रशासन अपराधीको संरक्षणमै ब्यस्त छ। अनि यहाँ केवल मिडियाको प्रदुषणको कुरा गरेर के गर्ने? वा नगरेर पनि के गर्ने?

कुनै पनि मुलुकमा प्रेस स्वतन्त्रता हुनु राम्रो कुरा हो। तर, यहाँ त अलिक बढी नै भएन र? यतिबिध्न नक्कली पत्रकार नेपालमा किन?

यहाँ सर्टिफिकेट किनेर पनि पत्रकार। अर्काको सर्टिफिकेटको मुकुण्डो ओढेर पनि पत्रकार। राजनीतिक पार्टीका पकेटका र पेन्टीका छुट्टाछुट्टै पत्रकार। ब्यापारी, पुलिस, आर्मी, ठेकेदार, माफिया – सबका आ-आफ्नै पत्रकार। अब त टोले गुण्डाहरु पनि वरिष्ठ पत्रकार!

मलाई सोध्न मन छ, नेपालाँ आईएसआईएसका पनि छन् कि कोही पत्रकार?

छन् होला जस्तो लाग्छ। किनभने, हामी नेपालीहरु हरतरफ अगाडि छौँ। स्मार्ट पनि छौँ। हामी दुइ पेग हानेपछि अंग्रेजी फरर बोलिदिन्छौँ। अनि तेस्रो पेग मारेपछि देश र जनता लुट्न वा झुक्याउन ताम्सिन्छौँ।

यहाँ खोइ कसलाई के भन्नु?

अनि कसका लागि लेख्नु?

लेखेर के हुन्छ?

आजको यो भ्रष्ट र विकृत समाजमा सत्य अनुसूची पस्किनुको कुनै तात्विक महत्त्व बाँकी होला र?

प्रश्नको जवाफ यसरी दिन्छु – समाज झन् झन् भ्रष्ट र विकृत भएका कारण नै लेख्ने हो। लेख्नुपर्ने प्रमुख कारण नै समाजको त्यही खस्कँदो अवस्था हो।

अनि लेख्नै परेपछि झन् झन् सशक्त लेख्दै जाने हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell