PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वीरगंज-रक्सौल नाकाको मितेरी पुलदेखि रजत जयन्ती चोकसम्म सौन्दर्यकरण गर्न सरोकारवाला सक्रिय



वीरगंज-रक्सौल नाकाको मितेरी पुलदेखि रजत जयन्ती चोकसम्म सौन्दर्यकरण गर्न सरोकारवाला सक्रिय

वीरगंज : वीरगंज-रक्सौल नाकाको मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म सफा, स्वच्छ र सुन्दर बनाउन सरोकारवालाले छलफल शुरु गरेका छन्। कोरोना महामारीको कारण पछिल्लो समय वीरगंज नाकाको प्रवेश द्वारलाई सुन्दर र व्यवस्थित बनाउने काममा यहाँका सरोकारवालाहरुको योजना भए तापनि उक्त योजनाहरु अघि बढ्न सकेको थिएन।

तर, वीरगंजको समाजिक संघ संस्था तथा स्वयंसेवकहरुको अग्रसरतामा वीरगंजको मितेरी पुल-रजत जयन्ती चोकसम्मको १३ सय मिटर दुरीलाई सौन्दर्यकरण गर्न चरणबद्ध रुपमा योजना अघि बढाउने सहमति भएको छ।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा शनिवार राणीसति धर्मशालामा भएको सरोकारवालाहरुको बैठकमा उक्त क्षेत्रमा सरसफाई गरी गमलामा वृक्षारोपण गर्ने, कोइला र क्लिकर जस्ता कार्गो बोक्ने गाडीहरुलाई पालले छापेर पानी छर्केर भित्रियाउने वातावरण मिलाउने, रजतजयन्तीदेखि मितेरी पुलसम्म व्यापारिक मार्गसँग समन्य गरी ६ लेनको ठेक्का अनुसार काम गराउने, हालको अवस्थामा सडक खाल्डाखुल्डी परेको भागलाई मर्मत गर्ने जस्ता निर्णय भएको छ।

बैठकमा सबैले शंकराचार्य क्षेत्रलाई आकर्षक र सुन्दर बनाउन आ-आफनो विचार प्रस्तुत गरेका थिए। बैठकमा वीरगंजका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त, व्यवस्थित वीरगंजका अध्यक्ष दिलीपराज कार्की, पर्यटन पत्रकार संघका शंकर आचार्य, वीरगंज भोलेन्टियर समूहका राजन श्रीवास्तव, भारतीय महावाणिज्य दूतावासका कन्सुलर शैलेन्द्र कुमारलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell