बुटवल : लामो समयसम्म विवादमा तानिएको जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेशको विवाद केन्द्रको आधिकारिकतासँगै टुंगिएको छ। लुम्बिनीमा जसपा विपक्षमा भएपनि पार्टीकै महन्थ ठाकुर पक्षका ३ सांसद मन्त्री बनेका थिए।
उनीहरुलाई पार्टीले कारवाही गरेर सांसद पद गएको छ। सन्तोष पाण्डे र बिजय बहादुर यादव प्रत्यक्ष निर्वाचित भएपनि कल्पना पाण्डे भने समानुपातिक सांसद थिइन्।
कल्पनालाई सांसद पदबाट हटाएसँगै समानुपातिकमा नयाँ सांसदलाई ल्याउन जसपा अन्तिम तयारीमा लागेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गरेपछि मात्र जसपाबाट हुने नयाँ सांसदको टुंगो लाग्ने भएपनि केही नामहरु चर्चामा आएको जानकारी दिए।
बन्द सूचीमा तत्कालीन सबै पार्टीबाट आएका व्यक्तिको नाम आउने भएपनि तत्काल २ जनाको नाम चर्चामा रहेको उनले बताए। जसपाको लुम्बिनीको समानुपातिक सांसदमा निर्मला मुडभरी भण्डारी र यज्ञ पोखरेलको नाम चर्चामा रहेको छ।
भण्डारीको संभावना मुख्य रुपमा अगाडि आएपनि पोखरेलको पनि संभावना बलियो रहेको पार्टीको स्रोतले पहिलोपोष्टलाई जानकारी दिएको छ। पार्टीमा महिला सहभागिता प्रतिशतलाई हेरेर निर्णय हुने स्रोतले जनाएको हो।
निर्मला तत्कालीन राजपाको बन्द सूचीको १ नम्बरमा रहेकी छिन् भने यज्ञ तत्कालीन नयाँ शक्तिको बन्द सूचीको १ नम्बरमा छन्। नियमावलीमा प्रदेशसभा सदस्यको पद रिक्त भएमा अर्को सदस्य मनोनयन गर्ने व्यवस्था छ।
जसअनुसार रिक्त भएको जानकारी प्रदेशसभा सचिवालयले निर्वाचन आयोगलाई गराउनु पर्दछ। प्रदेशसभा सदस्य नियमावली २०७४ को नियम ४७ बमोजिम नयाँ मनोनयनको प्रक्रिया शुरु हुनेछ।
रिक्त भएको जानकारी पाएपछि आयोगले सम्बन्धित दललाई अर्को उम्मेद्वारको नाम मनोनयन गरी पठाउन सात दिनको समय दिई जानकारी गराउने छ। जानकारी प्राप्त भएपछि सम्बन्धित दलले दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय अनुसार उम्मेद्वारको बन्द सूचीमा कायम रहेको अर्को उम्मेद्वारको नाम मनोनयन गरी पठाउनु पर्नेछ।
उम्मेद्वार मनोनयन गरी पठाउँदा जुन समावेशी समूहको सदस्यको पद रिक्त भएको हो उपलब्ध भएसम्म सोही समावेशी समूहको उम्मेद्वारको नाम मनोनयन गरी पठाउनु पर्ने व्यवस्था छ। मनोनयन गरी पठाएको उम्मेद्वारलाई आयोगले सदस्य पदमा निर्वाचित भएको घोषणा गर्नेछ।