वीरगंज : वीरगंज लिंकरोडस्थित भवानी अस्पताल प्रालिमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने चार जनाको पहिचान प्रहरीले खुलाएको छैन।
वीरगंज महानगर-२० मनियारी निवासी ३८ वर्षीया रमिता देवीको अस्पतालमा आइतवार भएको मृत्युको विषयलाई लिएर चिकित्सक डा विजय महतो र नर्स बबिता चौधरीमाथि हातपात गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो। भवानी अस्पतालमा आइतवार बिहान ११ बजे रमिता देवीलाई उपचारको लागि ल्याइएको थियो।
उपचारको क्रममा आधा घण्टापछि उनलाई मृत घोषित गरिएको थियो। परिवारजनले शव बुझेर लगेका थिए। तर, १:३० बजे पुनः उनी जीवित भएको भन्दै परिवारजनले सोही अस्पतालमा उपचार गर्न लगेका थिए।
अस्पतालले पुनः रमिता देवीलाई मृत घोषित गरेपछि उनका परिवारजन र आफन्तजनले चिकित्सक र नर्समाथि हातपात गर्दै अस्पतालमा तोडफोड गरेका थिए। मृतकका आफन्त अस्पतालको स्वास्थ्यकर्मीको लापरबाहीले उनको मृत्यु भएको भन्दै आक्रोशित भएका थिए।