सार्वजनिक रुपमा आफ्नै राष्ट्रिय टिमको आलोचना गरेपछि बेलारुसकी ओलम्पिक एथ्लिट क्रिस्ट्सिना सिमानोस्कायालाई स्वदेश फर्काउन भन्दै टोकियोस्थित विमानस्थल लगिएको छ।
क्रिस्ट्सिनाले सोमवार महिला २०० मिटर दौडमा प्रतिस्पर्धा गर्न बाँकी नै थियो। तर, छोटो समयमा नै आफूलाई अर्को दौडमा भाग लिन भनिएको भन्दै उनले एउटा भिडियो पोस्ट गरेपछि आफूलाई सामान प्याक गर्न भनिएको र विमानस्थल लगिएको उनले बताएकी छिन्।
उनले यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई हस्तक्षेप गर्न आग्रह गरेकी छिन्।
‘उनीहरुले मलाई मेरो अनुमतिबिना लैजान खोज्दै छन्’, बेलारुसियन स्पोर्ट सोलिडारिटी फाउन्डेसनको टेलिग्राम च्यानलमा पोस्ट गरिएको एक भिडियोमा उनले भनेकी छिन्, ‘म आईओसीलाई यसमा हस्तक्षेप गर्न आग्रह गर्दछु।’
एक संक्षिप्त विज्ञप्तिमा आईओसीले यसबारे मिडियामा खबर देखेलगत्तै बेलारुसको नेशनल ओलम्पिक कमिटीसँग स्पष्टीकरण मागिएको बताएको छ।
बेलारुसका पत्रकार टाडेउज गिक्जानका अनुसार क्रिस्ट्सिनालाई नलिई विमान उडिसकेको छ। उनी अहिले टोकियोस्थित हानेडा विमानस्थलमा प्रहरीको साथमा छिन्।
Turkish Airlines Tokyo-Istanbul flight took off without Tsimanouskaya. Right now she appears to be at the police station at Haneda airport. Representatives of the Japanese MFA are on their way to her. pic.twitter.com/Sw9ngMqwyX
— Tadeusz Giczan (@TadeuszGiczan) August 1, 2021
यसअघि क्रिस्ट्सिनाले युरोपियन रेडियो फर बेलारुस (ईआरबी)सँग कुराकानी गर्दै आफू स्वदेश फर्कनदेखि डराएको बताएकी थिइन्।
अनलाइनमा पोस्ट भएको एक भिडियोमा क्रिस्ट्सिनाले केही खेलाडीहरु प्रतिस्पर्धामा सहभागी हुन अयोग्य देखिएपछि आफू बेलारुसियन अफिसियलहरुको ‘सर्ट नोटिस’मा नै बिहीवारको ४०० मिटर रिलेमा भाग लिएको आरोप लगाएकी थिइन्।
उनले सो भिडियो पोस्ट गरेपछि स्टेट मिडियाले उनको आलोचना गरेको थियो। ओएनटी टेलिभिजनले उनमा ‘टिम स्पिरिट’ नभएको भन्दै उनको आलोचना गरेको थियो।
आइतवार प्रशिक्षकहरु आफ्नो रुममा आएर घर फर्किनको तयारी गर्न भनेको उनले बताएकी छिन्। उनलाई घर फर्काउनको लागि टोकियोस्थित हानेडा विमानस्थलबाट टर्किश एयरलाइन्सको इस्तानबुलसम्मको फ्लाइट बुक गरिएको थियो।
रोयटर्ससँग कुरा गर्दै क्रिस्ट्सिनाले आफूलाई टिमबाट हटाइएको बताइन्। भनिन्, ‘किनकी मैले प्रशिक्षकहरुको लापरबाहीको बारेमा मेरो इन्स्टाग्राममा बोलेकी थिएँ।’
बेलारुसको ओलम्पिक टिमले भने उनको ‘भावनात्मक र मनोवैज्ञानिक अवस्था’का कारण उनलाई टिमबाट हटाइएको भन्दै २०० मिटर दौड र ४०० मिटर रिलेमा प्रतिस्पर्धा नगर्ने बताएको छ।
