काठमाडौं : नेकपा एमालेबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सांसदको पद फेरि गएको छ। प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको सांसद् पद गएको हो।
एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले चारैजना सांसदलाई कारवाही गरेको थियो। तर, सर्वोच्च अदालतले कारवाही गर्न नमिल्ने भन्नै उनीहरुको पद नजाने निर्णय गरेको थियो। अदालतले राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार कारबाही पार्टी केन्द्रीय कमिटीबाट हुनुपर्नेमा एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण नसोधेको आदेशमा उल्लेख गर्दै कारबाही महाधिवेशन आयोजक कमिटीको निर्णयबाट गरिनु राजनीतिक दलसम्बन्धी ऐन प्रतिकूल हुने अदालतको ठहर गरेको थियो।उक्त निर्णयविरुद्ध ओली समूह फेरि भ्याकेट निवेदन दिएको थियो।
सोमवार भ्याकेट निवेदनमा सुनुवाई गर्दै अदालतले एमालेले यसअघि गरेको कारवाही सदर हुने आदेश दिएको हो।
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने बेलामा एमालेका यी चारजना सांसदले 'फ्लोर क्रस' गरेका थिए। तर, एमालेले शाही सरकारको विपक्षा मत दिने निर्णय गरेको थियो।
अदालतले 'फ्लोर क्रस'लाई लोकतान्त्रिक पद्दती मान्न नसकिने बताउँदै कारवाही सदर गर्ने निर्णय गरेको हो।