काठमाडौं : बानेश्वर-भक्तपुर ६६ केभी प्रसारणलाइन मर्मतका लागि हरेक दिन बिहान ७ देखि बेलुका ७ बजेसम्म बिजुली काटिने भएको छ।
जीर्ण अवस्थामा रहेको उक्त प्रसारणलाइनका कन्डक्टरहरु फेर्नुपर्ने भएकाले यही साउन ४ गतेदेखि नै मर्मतको काम सुरु गरिएको थियो।
उक्त प्रसारणलाइन मर्मत गर्दा लाइन मुनि रहेका ११ केभीका एचटी र एलटी लाइनहरुबाट जोखिम हुने भएकाले विद्युत आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणको भनाइ छ।
साउन १९ गतेदेखि एक हप्तासम्म सातदोबाटोदेखि बानेश्वरसम्मको लाइन मर्मत हुने भएकाले पाटन र बानेश्वर सवस्टेसनबाट ११ केभी फिडर लिएका क्षेत्रमा विद्युत आपूर्ति हरेक दिन अवरुद्ध हुने प्राधिकरणले सूचना जारी गरेको छ।