PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

दार्चुला घटना : छानविनका लागि टोली खलंगा पुग्दै, खोजी कार्यका लागि नेपाल र भारतका सुरक्षाकर्मी परिचालन भएको गृहमन्त्रीको भनाई



दार्चुला घटना : छानविनका लागि टोली खलंगा पुग्दै, खोजी कार्यका लागि नेपाल र भारतका सुरक्षाकर्मी परिचालन भएको गृहमन्त्रीको भनाई

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी तर्दा वेपत्ता भएका जयसिंह धामीको खोजी कार्य भइरहेको जानकारी दिएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले घटनाको छानबिनका लागि मन्त्रालयको छानबिन टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी गराएका हुन्।

यही १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित पाँच जना टोलीको आज खलंगातर्फ लागेको उनले जानकारी दिए।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले महाकाली घटनालाई लिएर भारतसामु औपचरिक विरोध जनाउन माग गरेका थिए। एमाले सांसद गणेश ठगुन्नाले भारतको औपचारिक विरोध गर्न माग गरेका हुन्।

दार्चुलाको ब्यास गाउँपालिका-२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए। त्यस्तै प्रतिनिधिसभामा बोल्ने अन्य सांसदले पनि दार्चुला घटनाका बारेमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउनुपर्ने माग गरेका छन्।

नदीमा पुल नहुँदा महाकाली नदीमा नेपाली भूभागबाट भारतीय भुभागमा जाँदा नेपाली नागरिकहरुले तुइन तरिरहेको बताउँदै गृहमन्त्री खाँणले निर्माणाधीन चार वटा झोलुंगेपुल छिट्टै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।

‘मालघाटबाट सदरमुकाम आउन झण्डै दिनभरी हिँड्नुपर्ने। पारी गए पछि सवारी चढेपछि भारतको धार्चुला पुगेर त्यहाँबाट पुल तरेर सदरमुकाम खलंगा पुग्न डेढ घण्टा लाग्छ। बाटो छिटो भन्दा छिटो बनाउन सरकार प्रतिवद्ध रहेको छ,’ उनले भने।

जयसिंह धामी वेपत्ता भएको भन्दै नरेन्द्रसिंह धामीसमेत तीन जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको जानकारी गराउँदै उनले त्यस विषयमा बुझ्न प्रत्यक्षदर्शीहरुलाई सदरमुकाम बोलाइएको बताए।

‘जयसिंह धामी भन्दा अगाडि तुइन तरेर गएका चार बहादुर सिंह धामी, अमरसिंह गौरासिंह मणिरामसिंह धामीसँग जानकारी लिने काम भएको छ। तुइन तर्न बाँकी अनिता धामी, विक्रम धामी,  रंकुली र कल्याण धामीलाई सदरमुकाम बोलाइ घटनाका बारेमा बुझ्ने काम भएको छ,’ मन्त्री खाँणले भने।

उक्त घटनामा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक भएको छ। घटनाबारे अनुसन्धान गर्न  जिल्ला प्रहरी कार्यालय दार्चुला मातहत रहेका प्रहरी चौकी, ९ वटा प्रहरी इकाई, सशस्त्र प्रहरी बल नेपालका सीमा सुरक्षाका पाँचवटा बेशबाट खोजतलासको काम भइरहेको उनले जानकारी दिए।

त्यस्तै सीमावर्ती जिल्ला बैतडी र कञ्चनपुरबाट समेत खोजतलासका लागि स्थानीय तहबाटसमेत समन्वयको काम भइरहेको उनले बताए। त्यस्तै भारततर्फ नेशनल डिजास्टर रेस्पोन्स फोर्स र एसएसबीका सुरक्षाकर्मीले पनि खोजी कार्य गरिरहेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell