PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेलम्ची बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग सिन्धु कांग्रेसको माग



मेलम्ची बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग सिन्धु कांग्रेसको माग
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्ची बाढी पीडितका लागि आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मंगलवार जिल्ला सभापति विकास लामाले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा पुनर्स्थापनाका लागि ध्यान दिनसमेत सरकारसँग माग गरेका छन्।

मेलम्चीको शिर भेम्राथाङबाट असार १ गते झरेको पहिरोका कारण आएको बाढीले हेलम्बु र मेलम्चीको नदी तटीय क्षेत्रमा विनास निम्तिएको थियो। सोहीमाथि शनिवार पुन: बाढी थपिँदा चनौटेको रातो पुल बगाउनुका साथै मेलम्ची र इन्द्रावती नदीको तटीय क्षेत्रमा थप क्षति गरेको थियो।

‘मेलम्ची नदीको बाढीको कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची र बाहुने पाटी तथा सिपाघाटसम्मको तटीय क्षेत्र उच्च जोखिममा छ। सो बाढीका कारण हेलम्बु क्षेत्रदेखि मेलम्ची सम्मको पुल तथा सडक सञ्जाल पूर्ण क्षति भई राजधानी सम्मको एकमात्र सडक सम्पर्क मार्ग टुटेको छ। दर्जानौ घरलगायत भौतिक संरचना बगाई हजारौं स्थानीय घरबार बिहिन भएका छन्। यस दुखत घडीमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले सरकारसँग आवश्यक राहत, उद्धार कार्य, पुनर्स्थापना र पुनर्निर्माणका लागि माग गरेको छ,’ सभापति लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी, लामाले पीडामा रहेका क्षेत्रका जनताको सेवामा खट्न जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएका छन्।

‘पीडामा रहनु भएका हेलम्बु, पाँचपोखरी, मेलम्ची र इन्द्रावती क्षेत्रमा तत्काल उद्धार कार्यमा जुट्न नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघलगायत पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई नेपाली कांग्रेस सिन्धुपाल्चोकबाट निर्देश गरिएको छ। साथै, सिन्धुपाल्चोक माथीको निरन्तरको विपत्तिबाट सिर्जित विषम परिस्थितिमा आफ्नो-आफ्नो क्षेत्रबाट पीडितहरुलाई सहयोग गर्नुहुन सहयोगी तथा दाताहरुसँग नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell