यौन दुर्व्यवहार घटनामा मुछिएको आरोप पछि न्युयोर्कका गभर्नर एन्ड्र्यु क्युमोलाई अमेरिकाका राष्ट्रपति जो बाइडेनले राजीनामा दिन सुझाव दिएका छन्। मंगलवार गभर्नर क्युमोमाथि ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट बाहिरिएको हो।
'मलाई लाग्छ, उनले राजीनामा दिनुपर्छ,' मंगलवार दिउँसो वासिङ्टनमा प्रेस कन्फ्रेन्समा बाइडेनले भने। कुमोले वर्तमान र पूर्व कर्मचारीलाई कार्यालयमा दुर्व्यवहारजन्य वातावरणसमेत बनाएको रिपोर्ट बाहिरिएपछि उनको पद संकटमा परेको हो। डेमोक्रेट पार्टीका तर्फबाट गभर्नर बनेका कुमोले भने आफूमाथिको आरोप अस्विकार गरेका छन्। अलबानीमा भएको न्युज कन्फ्रेन्समा उनले आफूले कसैले नछोएको दाबी गरेका हुन्।
कुमोमाथि पाँच महिना अघि दुर्व्यवहारबारे आरोप लागेको थियो। त्यसपछि पाँच महिने अनुसन्धानमा १७९ जनासँग उनको व्यवहारबारे सोधिएको थियो। जसमध्ये ११ जनामाथि यौन दुर्व्यवहार गरेको प्रतिवेदन सार्वजनक भएको हो।
मंगलबार राज्यकी महान्यायाधीवक्ताले लेतितिया जेम्सले प्रतिवेदन सार्वजनिक गरेकी हुन्। उक्त रिपोर्टमा कुमोले गलत नियतले महिलाहरूलाई चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख गरिएको छ। कुमो सन् २०११ मा न्युयोर्कका गभर्नरमा नियुक्त भएका थिए।