काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादको किचलो अझै टुंगो लाग्न सकेको छैन। रमेश लेखक संयोजक रहेको क्रियाशील विवाद छानबिन समितिले विवाद टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी सुम्पेको थियो।
गत बिहीवार यस विषयमा शीर्ष नेताले समाधान निकाल्ने निष्कर्ष निकालेको थियो।
बिहीवार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले विवाद टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको थियो।
‘हामी क्रियाशील सदस्यता छानबिन समितिले नेताहरुलाई हाम्रो प्रतिवेदन बुझाइसकेका छौँ १२ गते नै। हामीले जुन मापदण्ड बनाएका थियौँ, क्रियाशील सदस्यता छानबिन समितिले नेताहरुकै परामर्शबाट हामीहरुले मापदण्ड बनाएका थियौँ र त्यो मापदण्डले हाम्रो समितिमा सहमतिले निर्णय हुन नसकेका विषयहरुलाई केन्द्रीय नेताहरुको तहमा निर्णय गर्ने भनेर हाम्रो मापदण्डमा थियो,’ बिहीवार छानबिन समितिका संयोजक रमेश लेखकले भनेका थिए।
कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरुको, धनुषा क्षेत्र नम्बर. ४, सर्लाही क्षेत्र नम्बर २ का साथसाथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने नेता लेखकले जानकारी दिएका थिए।
यसअघि, कांग्रेसको क्रियाशील छानबिन समितिले विवाद यथावतै राखेर सभापति एवं प्रधानमन्त्री देउवालाई ‘फाइनल प्रतिवेदन’ बुझाएको थियो। यसअघि १२ गते मंगलवार केही जिल्लाको विवाद यथावत राखेर सभापति देउवालाई प्रतिवेदन बुझाइएको थियो। उक्त विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन थप म्याद दिए पनि समितिले शीर्ष नेतालाई जिम्मेवारी सुम्पेको हो।
बुढानिलकण्ठमा शीर्ष नेताको बैठक बस्दै
क्रियाशील विवाद टुंगो लगाउन बुधवार कांग्रेस शीर्ष नेताहरुको बैठक बुढानिलकण्ठमा बस्दैछ। बैठक दिउँसो ३ बजेका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
क्रियाशील छानविनका विषयमा नेताहरु सहमति नजिक रहेको मुख्य सचिव पौडेलले दाबी गरे। 'सभापति देउवासहितका नेताहरु ५ घण्टा यसै विषयमा खटेर काम गरिरहनु भएको छ। केही काम बाँकी छन्। त्यो एकदुई दिनमै टुंगो लाग्ने छ,' मुख्य सचिव पौडेलले भने। ९ लाख क्रियाशील सदस्य छानबिन सानो विषय नभएको उनको तर्क थियो। कांग्रेस क्रियाशील छानबिन समितिले ८ लाख ४६ हजार ७२९ सदस्य टुंगो लगाएर प्रतिवेदन बुझाएको थियो। सबै जिल्लाको सदस्यता टुंगो लागेमा कांग्रेस क्रियाशील सदस्य यसपटक ९ लाखको हाराहारीमा पुग्ने देखिन्छ।
यता मंगलवार सभापति देउवाइतर समूहको चाक्सीबारी बैठकले भने विवादित स्थानमा पुरानै क्रियाशील सदस्यता राखेर अधिवेशन हुनुपर्ने निर्णय गरेको छ। बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी र मिनेन्द्र रिजाललगायत नेता उपस्थित थिए।
‘क्रियाशील विवाद देशभर देखिएको छ। विवाद नसल्टे १३ औँ महाधिवेशनको क्रियाशील सदस्यबाटै महाधिवेशन गरौँ भन्ने हाम्रो माग हो। अन्तरिक्षबाट, आकाशबाट थोपरिएका र पातलबाट थुपरिएका क्रियाशील सदस्यतालाई हामी स्वीकार गर्न सक्दैनौँ,’ बैठकपछि नेता केसीले भनेका थिए।