PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सवारी साधनमा २० वर्षे हदम्याद नलगाउन संसदीय समितिको निर्देशन



सवारी साधनमा २० वर्षे हदम्याद नलगाउन संसदीय समितिको निर्देशन

काठमाडौं : संसद्‍को विकास तथा प्रविधि समितिले २० वर्षे चलेको सवारी साधन संचालन रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको बैठकले सो प्रावधान अनुसार सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको हो।

२० वर्षे हदम्यादको आधारमा भन्दा पनि यान्त्रिक परीक्षण गरेर उपयुक्त ठहर गरेका सवारी साधनलाई मात्रै संचालन गर्ने अनुमति दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।

बैठकले स्मार्ट सवारी चालक अनुमति पत्र छपाई सम्बन्धमा टेन्डर गर्दा प्राविधिक समस्या देखिएको उल्लेख गर्दै टेन्डर गर्ने जिम्मेवारी पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ।

सो पत्रको प्राविधिक पक्षको ख्याल नै नगरी छपाईका लागि टेन्डर आह्वान गरिएकाले सो घटनाको छानविन गरी तत्काल जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सरकारलाई सचेत गराउनु परेको पनि सभापति खड्काले बताइन्। समितिले स्मार्ट सवारी चालक अनुमती पत्रलाई व्यवस्थित बनाउन प्रदेश र संघीय सरकारको सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने निर्णय पनि गरेको छ।

बैठकमा समितिका सदस्यहरुले स्मार्ट सवारी चालक अनुमति पत्र व्यवस्थापनमा समेत चुकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell