PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

देउवालाई विगतका सबै गल्ती सच्याउने अवसर : समयमै १४ औं महाधिवेशन



देउवालाई विगतका सबै गल्ती सच्याउने अवसर : समयमै १४ औं महाधिवेशन

  • खिला कार्की-

नेपाली कांग्रेसका सभपाति एंव प्रधानमन्त्री शेरबहादुर देउवामाथि सधै लाग्ने आरोपहरु हुन् - दरबारमा प्रजातन्त्र बुझाएको, संसद विघटन गरेको तर आम निर्वाचन गराउन नसकेको, पार्टी विभाजन गरेको। नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा लामो समयसम्म महाधिवेशन नै गर्न नसकेको पनि आरोप लाग्दै आएको छ देउवामाथि। संभवत यी दुई आरोपले देउवालाई आक्रोशित पनि बनाउँछ। बेला बेला उनले भन्ने गरेका छन् - २०५८ सालमा संसद विघटन गरे पनि आफु चुनाव गराउन प्रतिवद्ध हुँदाहुँदै सबै राजनीतिक दलले चुनाव सार्न दिएको सुझाव कार्यान्यन गरेको हो।

यी दुईवटा तथ्यलाई लिएर देउवाको प्रजातन्त्र प्रतिको निष्ठामा समेत प्रश्न उठाउने गरिन्छ। तर देउवाको प्रजातन्त्र प्रतिको निष्ठा र योगदानमा प्रश्न उठाउने कुनै ठाउँ छैन। उनको केहि व्यवहार र केहि बाध्यताले यो प्रश्न गर्ने ठाँउ दिँदै आएको छ। 

देउवामाथि आएका आरोप क्रमशः मेटिँदै आएका छन्। कांग्रेस विभाजन गरेको भन्ने आरोप मुल पार्टीसँग आफू नेतृत्वको प्रजातान्त्रिक कांग्रेस एकिकरण गरि मुल पार्टीकै सभापति भएर मेटाइसकेका छन्। अनि देउवा प्रधानमन्त्री भएर चुनाव गराउदैनन् भन्ने शंका गर्ने ठाँउ पनि अब छैन। झण्डै झण्डै असंभव मानिएको २०७४ सालको स्थानीय, प्रदेश र संघको चुनाव आफै प्रधानमन्त्री भएर गराए देउवाले। यसले देउवाले चुनाव गराउदैनन् भन्ने शंका गर्ने छुट दिएको छैन।

संसद विघटन गरेर प्रजातन्त्रिक संस्थाप्रति कतै देउवाको निष्ठा कमी हो कि भन्ने शंका गर्ने ठाँउ पनि देउवाले निवारण गरिसकेका छन्। केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा देउवा पुनःस्थापनाको पक्षमा उभिए। प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउन आफै पुगे। देउवा कै नेतृत्वमा प्रतिनिधिसभा पुनःस्थापना भयो। विगतमा संसद विघटन गरेको दाग पनि देउवाले मेटाएका छन्।

अब देउवालाई लगाउने एकमात्र आरोप हो - नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा संघको अधिवेशन गराएनन् भन्ने। यसैलाई आधार बनाएर कतै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन समयमा गराउदैनन् कि भन्ने शंका जारी छ।

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पनि प्रभावित भइसकेको छ। पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरि मिति तय भएको छ। त्यही महाधिवेशनका लागि बनाइएको कार्यतालिका अनुसार, गाउँ–नगर वडा अधिवेशन १२ साउनमा, गाउँ–नगरपालिका अधिवेशन १६ साउनमा र प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउनमा गर्ने तय गरिएको थियो। तर यी अधिवेशन हुन सकेनन्। अब प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनमा, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा र प्रदेश अधिवेशन १ र २ भदौमा निर्धारण गरिएको छ। तर अब यी मिति पनि प्रभावित हुन निश्चित छ।

यसरी महाधिवेशनको कार्यतालिका प्रभावित भएसँगै अध्यक्ष भएको अवस्थामा नेपाल विद्यार्थी संघको अधिवेशन नगराए झै देउवाले कांग्रेसको महाधिवेशन गरादैनन् कि भन्ने शंकाले लंका पार गर्न खोज्दै छ। अब देउवाको पहिलो ध्यान नै महाधिवेशनका विषयमा उठेका शंकाले लंका पार गर्नबाट रोक्न पर्छ। जसका लागि क्रियाशील सदस्यतामा देखिएको विवादलाई सहज ढंगले निवारण गर्नुपर्छ। देउवा नेपाली राजनीतिको सगरमाथामा पुगिसकेका छन्। दुइ–चार ठाँउको क्रियाशील सदस्यता विवादमा अल्झेर महाधिवेशनका बारेमा उठेको शंकाले लंका पार गर्‍यो भने नेपाली राजनीतिको सगरमाथामा पुगेको देउवाको उचाई एकैपटक सडकमा पुग्नेछ।

तसर्थ कांग्रेस सभापति देउवाले आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरेर क्रियाशील सदस्यताको विवाद अन्त गर्न जरुरी छ। उनको इच्छा पनि यही होला। कोही पनि सगरमाथामा पुगेको आफ्नो उचाईलाई सडकमा झार्न चाहादैन। अर्को महत्वपूर्ण पक्ष भनेको देउवा पनि जीवनको उतारार्धमा छन्। उनीमाथि विगतमा लागेका आरोपहरु बाध्यताको उपजदेखि उनको आफ्नै व्यवहारको उपज हैनन् भन्ने प्रमाणित गर्न पनि देउवाले समयमा महाधिवेशन गराउनै पर्छ। पार्टीको १४ औं महाधिवेशन समयमा नै देउवाले गराएमा देउवामाथि लाग्दै आएको अर्को आरोप पनि बाध्यताको उपज थियो भन्ने प्रमाणित हुनेछ। अन्यथा हिजोमा गल्ती पनि देउवाको व्यवहारका उपज हुने र अहिलको कांग्रेसको इतिहास धुमिल बनाउने काम पनि बाध्यताको हैन देउवाको व्यवहारको उपज हो भन्ने प्रमाणित हुनेछ। देउवाले चुमेको सगरमाथाको उचाई त सडकमा पुग्ने नै छ। वीपी कोइरालाले स्थापना गरेको कांग्रेस पार्टीको पनि इतिहास निमिट्यान्न हुनेछ। कांग्रेसको सभापति, वीपी कोइरालाको उत्तराधिकारी भएका नाताले कम्तीमा पनि देउवाले यो बाटो रोज्नेछन भन्ने धेरै कांग्रेसलाई विश्वास दिलाउन जरुरी छ। धेरै कांग्रेसलाई विश्वास दिलाउनु भनेको फेरि पनि नेतृत्वमा आउने अवसर पनि होला।।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell