PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

देउवा सचिवालयको प्रचारशैलीप्रति कांग्रेस प्रवक्ता असन्तुष्ट, 'काम राम्रो भए जनताले बनाउने छन् भिडियो'



देउवा सचिवालयको प्रचारशैलीप्रति कांग्रेस प्रवक्ता असन्तुष्ट, 'काम राम्रो भए जनताले बनाउने छन् भिडियो'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए यता उनको सचिवालयले देउवाले गरेका राम्रो काम भन्दै सामाजिक सञ्चालमा प्रचार थालेका छन्। 'अब बन्छ नेपाल' फेसबुक पेज र भाइबारमार्फत सचिवालय समूहले देउवाको राम्रो काम भन्दै पोस्टर र भिडियो प्रचार थालेका हुन्।

देउवाको काम राम्रो भन्दै केही भिडियो अपलोड भइसकेको छ। वाग्मती प्रदेश प्रमुखसमेत भइसकेकी अनुराधा कोइरालाले समेत देउवाको प्रशंसा गरेको भिडियो सामाजिक सञ्जालमा आइसकेको छ।

पछिल्लो समय भने सामाजिक सञ्जालमा 'यसकारण मलाई शेरबहादुर देउवा मनपर्छ किनभने…' टाइटलसहित आएका यस्ता भिडियोमा नकारात्मक टिप्पणी बढ्न थालेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले नेता तथा कार्याकर्ताले 'केपी बा आइ लभ यु' भने झैं यसलाई स्तुतिगानको कांग्रेसी संस्करण भन्दै आलोचना हुन थालेको छ।

सामाजिक सञ्जालमा आलोचना बढ्न थालेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत प्रधानमन्त्रीको सचिवालयको प्रचारशैलीप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा बिहीवार प्रवक्ता शर्माले देउवाको यो काम गर्ने बेला भएको उल्लेख गर्दै राम्रो काम गरेमा जनताले नै भिडियो बनाउने टिप्पणी गरेका हुन्।

'प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् - `भिडियो´, नत्र पार्टीले बनाउला,' शर्माले थप भनेका छन्, 'पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ।`प्रधानमन्त्रीको सचिवालय´को ध्यानाकर्षण गराएको छु।'

कामको परिणाम राम्रो दिएमा प्रचारको कमान्ड सम्हाल्न हजारौं स्यवंसेवी लामबद्ध हुने तर्कसमेत उनले पेश गरेका छन्। `खोपदेखि भोटसम्म´ को यो यात्रा तिन तहको निर्वाचनमार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ। जति चुनौती उति नै गम्भीरता अपेक्षित हुन्छ। परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन्,' शर्माले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell