हेटौँडा : वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डे तथा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका-५ स्थित लापिलाङमा पहिरोको स्थलगत निरीक्षण गरेका छन्। शुक्रवार मन्त्रीद्वयले सामूहिक रुपमा दोलखाको कालिन्चोक स्थित घट्टेखोलाको वरिपरि गएको ठूलो रानीबन पहिरोको स्थलगत निरीक्षण गरेका हुन्।
पहिरोको निरीक्षण र स्थानीयसँग साक्षात्कारपछि मन्त्रीहरुलाई वडा नम्बर ५ का अध्यक्ष सुवास थामीले पहिरोको तत्कालीन तथा दीर्घकालीन समाधानको मागपत्र सहित ध्यानाकर्षण पत्र बुझाएका थिए। पत्र बुझ्दै मन्त्रीहरुले तत्काल प्रतिपरिवार राहत स्वरुप २५ हजार र घर निर्माणका लागि प्रतिपरिवार ४ लाख दिने प्रदेश सरकारको नीति भएकोले बस्ती स्थानान्तरणका लागि तत्काल सुरक्षित स्थान पहिचान गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन्।
गतवर्ष वर्षातमा शुरु भएको पहिरोले ९ घर बगाएको थियो। यस वर्ष पनि पहिरो थपिएपछि लापिलाङ गाउँ नै जोखिममा परेको स्थानीयले बताएका छन्। पहिरोले हालसम्म कुनै मानविय क्षति नभए पनि यस वडाका करिब सय परिवार जोखिममा परेका छन्।
अवलोकनमा आन्तरिक मामिला मन्त्री तथा सामाजिक विकास मन्त्रीका साथै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत, प्रदेश सांसद जुनेली श्रेष्ठ, दोलखा जिल्ला समन्वय सभापति डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, कालिन्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक लगायतको सहभागिता थियो।