हेटौँडा : बनभोज गएको समयमा मादक पदार्थ सेवन गरी महिला चिकित्सकलाई दुर्व्यवहार गरेको अभियोगमा हेटौँडा अस्पतालका एक सञ्चालक सदस्य पक्राउ परेका छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालका सञ्चालक सदस्य हीरा वाईबा अस्पतालमा कार्यरत महिला चिकित्सकमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन्।
१६ साउनमा भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानले बनभोज कार्यक्रम राखेको थियो। बनभोजमा मादक पदार्थ सेवन गरेर वाईबाले महिला चिकित्सकमाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
उजुरी दिएको करिब ६ दिनपछि अस्पताल सञ्चालक समिति सदस्य वाईबा शुक्रवार पक्राउ परेका हुन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वाईबा पक्राउ परेको जानकारी दिए। उनले वाईबामाथि अनुसन्धान हुने र दोषी देखिए कारबाही हुने बताए।
बनभोजमा वाईबाले मदिरा सेवन गरेर अपशब्द बोल्दै चिकित्सकलाई जथाभावी गाली गरेको पीडितहरुले उजुरीमा उल्लेख गरेकी छिन्। पीडित चिकित्सकहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय र प्रतिष्ठान उपकुलपतिको कार्यालयमा पनि उजुरी दिएका छन्।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाईबालाई केही महिनाअघि मात्रै अस्पताल सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए।