PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

जापानबाट आइपुग्यो अस्ट्राजेनेकाको पाँच लाख डोज खोप, कोभिशिल्ड लगाएका जेष्ठ नागरिकलाई दिइने



जापानबाट आइपुग्यो अस्ट्राजेनेकाको पाँच लाख डोज खोप, कोभिशिल्ड लगाएका जेष्ठ नागरिकलाई दिइने

काठमाडौं : जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा अस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।

जापानले नेपाललाई १६ लाख मात्रा अस्ट्राजेनेकाको खोप दिने घोषणा गरेको थियो। जापानबाटै भोलि थप तीन लाख खोप नेपाल आउनेछ। जापानले दिने भनेको बाँकी खोप एक साताभित्र नेपाल आउने मन्त्रालयले जनाएको छ।

शुक्रबार भुेटानबाट पनि दुई लाख ३० हजार मात्रा कोभिशिल्ड खोप प्राप्त भएको थियो। जापान र भुटानबाट आएको खोप कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ। नेपालले खरिद गरेको खोप भारतले उपलब्ध नगराउँदा कोभिशिल्ड खोप लगाएका १४ लाख ५० हजार व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ। नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ। चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ। भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन।

यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ। चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ। यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एण्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ।

सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell