काठमाडौं : तोकिएको समयमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने निश्चित जस्तै भएको छ। यसबारे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका छन्।
सोमवार बिहानै सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता पौडेलले नेतृत्वकै कारण अहिलेको अवस्था सिर्जना भएको दुखेसो पोखेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका छन्।
पौडेलले देउवाकै कारण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुगेको आरोप लगाएका छन्।
'पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो,' पौडेलले भनेका छन्, 'आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ।'
२०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवाले पटकपटक कार्यतालिका सार्वजनिक गरेर पनि पार्टीको १४ औं महाधिवेशन समयमै गर्न नसकेको आरोप खेप्दै आएका छन्। कांग्रेस पार्टी विधानअनुसार २०७६ फागुन २४ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो। यद्यपि विधानको धारा ४३ प्रयोग गरी २०७७ फागुन २४ सम्म एक वर्ष म्याद बढाइएको थियो। उक्त समयअवधि पनि सकिएपछि कांग्रेसले संविधानको साहरा लिँदै ६ महिनाको म्याद थप गरेको हो। यो पनि भदौ २३, २०७८ मा सकिँदैछ।
कांग्रेसले भदौ १६ बाट १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सकाउने गरी अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्यता विवाद देखाउँदै साउन १२ गते तय गरिएको गाउँ - नगरको वडा अधिवेशन, साउन १६ गते तय गरिएको गाउँ नगरपालिका अधिवेशन, साउन २० गते तय गरिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन २३ गते तय गरिएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन - एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन स्थगित भइसकेको छ। अब साउन २६ गतेका लागि एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, भदौ १ र २ गेत प्रदेश अधिवेशन हुने भनिएको छ। ती अधिवेशन नहुने निश्चित भइसकेको छ। कांग्रेसले यही विषयमा छलफलका गर्नका लागि बुधवार केन्द्रीय समितिसमेत डाकेको छ।
कांग्रेसले निर्वाचन आयोगसँग सल्लाह गरी पार्टीको म्याद थप्ने विषयमा छलफल अघि बढाइरहेको छ। यद्यपि यसबारे निष्कर्ष भने निस्किसकेको छैन।
यसरी पटकपटक समय तोकेर पनि महाधिवेशन गर्न नसक्नु चरम असफलता भएको वरिष्ठ नेता पौडेलको निष्कर्ष रहेको छ। उनले भनेका छन्, 'यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ?'
सर्वत्र असफल व्यक्तिहरु बारम्बर सत्ता सम्हाल्न पुग्नु देशकै बिडम्बनासमेत भएको उनको भनाई छ। 'यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन्,' पौडेलले भनेका छन्।