काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओललीले बोलाएको बैठकमा विधान महाधिवेशनका लागि दस्तावेज सम्बन्धी प्रस्ताव लगायतका विषयमा छलफल भइरहेको छ।
स्थायी कमिटी सकिए लगतै केन्द्रीय कमिटीको बैठक बस्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। आजको केन्द्रीय कमिटीको बैठकले विधान संशोधनका लागि प्रस्ताव तयार पार्ने र पार्टीका सांगठनिक विषयमा छलफल गर्ने नेताहरुले बताएका छन्।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँगको वार्ता सकारात्मक हुन नसकेपछि ओलीले सोमवार बैठक राखेका हुन्। यसअघि आइतवार नेपाल पक्षको आग्रहमा ओलीले एक दिनका लागि बैठक सारेका थिए।
विघटित कार्यदलका सदस्यहरुले ओली-नेपालसँग छलफल गरेर एकताका लागि पहल गरिरहेका छन्। तर, दुवै नेताले एक अर्का बिनाको एमाले बनाउने अडान कायमै राखेपछि वार्ता सकारात्मक हुन सकेको छैन्।
शुक्रवार सम्पन्न नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिलाई आधार मानेर सहमति खोज्नुपर्ने निर्णय गरेको थियो।