काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि ठमेलमा जारी छ। ठमेलको होटल यात्रीमा केन्द्रीय सभापति शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरु सोमवारबाट भेलामा जुटेका हुन्।
संस्थापन इतरका जिल्ला सभापतिहरुले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुनुपर्ने माग गर्दै आएका छन्। यसै विषयमा नेतृत्वलाई दबाव दिन नुवाकोटका कांग्रेस सभापति जगदीश नरसिंह केसी र काठमाडौंका जिल्ला सभापति सबुज बानियाँको संयोजनमा भेला आयोजना गरिएको हो।
कांग्रेको महाधिवेशन भदौ १६ बाट काठमाडौंमा आयोजना हुने भनिए पनि कार्यतालिका प्रभावित भइसकेको छ। क्रियाशील सदस्यता विवाद टुंगोमा नपुग्दा कार्यतालिका प्रभावित भएको हो। जिल्ला सभापतिहरुको भेला आज सकिँदैछ। आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत भेलामा पुग्ने बताइएको छ।
भेलाले नेतृत्वलाई दबावका लागि निष्कर्षसहित र नेतृत्वलाई भेट्ने बताइएको छ। कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भोलि केन्द्रीय समितिको बैठक डाकेको छ।