PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

संसदमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा



संसदमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

काठमाडौं : कोभिड १९ प्रभाव र वर्तमान आर्थिक अवस्था समेटेर सरकारले श्वेतपत्र जारी गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र नभनी त्यसलाई 'वर्तमान आर्थिक अवस्थाको जानकारी' भन्दै प्रतिनिधिसभामा प्रस्तुत गर्ने भएका हुन्।

अर्थमन्त्रालय स्रोतका अनुसार नयाँ सरकारले देशको आर्थिक अवस्था कस्तो छ भन्ने विषय श्वेतपत्रमा चित्रण गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले वैदेशिक ऋण तथा अनुदान परिचालन गर्न नसकेको श्वेतपत्रमा उल्लेख गरिएको छ।

यस्तै, देशमा साना तथा अनौपचारिक क्षेत्र पछाडि परेको र यसलाई लक्षित गरेर नीति तथा कार्यक्रम बनाउनु पर्ने उल्लेख श्वेत पत्रमा गरिएको छ। वित्तीय संघीयतामा पनि ओली सरकार असफल भएको निष्कर्ष पत्रमा छ। यसअघि पूर्व अर्थमन्त्री युवराज खतिवडाले २०७४ चैत १६ गते श्वेतपत्र जारी गरेका थिए।

उक्त श्वेतपत्रमा मन्त्री खतिवडाले अघिल्लो सरकार चलाएका शेरबहादुर देउवाको समयमा अर्थतन्त्र सबल नरहेको उल्लेख गरेका थिए। यस्तै विष्णु पौडेल र बाबुराम भट्टराईले पनि श्वेतपत्र जारी गरेका थिए।

अर्थमन्त्री शर्माले ल्याउने श्वेतपत्रमा अघिल्लो सरकारको कमजोरीभन्दा पनि देशको वर्तमान आर्थिक अवस्था कस्तो छ र अर्थतन्त्रमा सुधारका सम्भावना के छ भन्ने देखाउन खोजिएको स्रोतको भनाइ छ।

कोभिड-१९ को महामारीका कारण मुलुकको आर्थिक वृद्धि निकै कम देखिएको छ। गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धि ऋणात्मक देखिएको थियो। कोभिड १९ प्रभावित क्षेत्रले राहत प्याकेज माग गरिरहेका बेला सरकार खोप खरिदका लागि ऋण लिइरहेको छ। राजस्व असुलीमा कडाइ गर्न नसक्ने अवस्थामा सरकारमाथि खर्च बढाउनु पर्ने दबाब पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell