
संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्ने बताएको छ। इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्जको प्रतिवेदन सार्वजनिक गर्दै संघले मानव जातिकै कारण पृथ्वीको औसत् तापक्रम बढ्ने क्रम जारी रहेको जनाएको हो।
संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस बढ्ने बताएको छ। तापक्रम वृद्धिसँगै विश्वभर प्राकृतिक विपतीका घटना बढ्ने उक्त रिपोर्टमा उल्लेख गरिएको छ। अहिले धेरै स्थानमा भइरहेको अत्याधिक वर्षा, बाढी पहिरो, डढेलो जलवायु परिवर्तनकै कारण भइरहेको बताइन्छ।
रिपोर्टका शोधकर्ताहरुका अनुसार यो शताब्दीको अन्त्यसम्मा समुद्रको जल सतह पनि करिब दुई मिटर बढ्न सक्छ। जसकारण समुद्र वरिपरि रहेका वस्तीहरु जोखिममा पर्न सक्छन्।
ग्रीन हाउस ग्यासको उत्सर्जनमा कटौती गर्न सफल भए तापक्रमलाई स्थिर बनाउन सक्ने आशा समेत रहेको छ। कार्बन उत्सर्जनको क्रम घटाएमात्रै तापक्रम वृद्धि हुनबाट केही राहत मिल्ने रिपोर्टमा भनिएको छ।