कोभिड-१९ त्रासकाबीच शुरु भएको टोकियो ओलम्पिक केही दिनअघि सकियो। जहाँ चर्चित खेलहरुदेखि कमै नाम सुनिएका खेलहरुमा विश्वभरबाट खेलाडीले प्रतिस्पर्धा गरे। धेरै खेलहरुको प्रतिस्पर्धा चलिरहँदा त्यहाँ छुटेको एउटा चर्चित खेल थियो क्रिकेट। नेपाललगायतका क्रिकेटमा फ्यानबेस भएका देशहरुलाई यसमा चासो लाग्नु स्वभाविक पनि हो। र, अर्को तथ्य भनेको ओलम्पिकमा क्रिकेट अहिलेसम्म समावेश नै भएको भन्ने पनि होइन।
बुधवारमात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले अमेरिकामा हुने २०२८ को ओलम्पिकबाट समावेश हुने इच्छा जनायो। यसका लागि एउटा समिति नै बनाएर आइसीसी लाग्ने भएको छ।
हरेक ओलम्पिकमा नयाँ खेलहरु समावेश भइरहँदा क्रिकेट पनि ओलम्पिकमा समावेश भए यो नौलो कुरा भने हुनेछैन। जस्तो की २००८ मा बेङजिङ ओलम्पिकबाट समावेश गरिएको बेसबलले टोकियो ओलम्पिकमा पनि निरन्तरता पायो। त्यस्तै २०२४ को ओलम्पिकमा ब्रेक डान्सलाई पनि खेलका रुपमा समावेश गराउने तयारी रहेको छ। त्यसबाहेक चेयर लिडिङलाई पनि खेलको रुपमा ओलम्पिकमा समावेश गराउने प्रस्तावहरु आइरहेका छन्। तत्कालै केही भन्न सकिने अवस्था नरहे पनि भविष्यमा यी खेलहरुले पनि ओलम्पिकमा स्थान नपाउलान भन्ने अवस्था भने रहँदैन।
चेयर लिडिङ, बेसबल या स्केट बोर्डिङ सबै देशमा खेलिँदैन। यदि सीमित देशमा खेल्ने खेल ओलम्पिकमा देखिँदा क्रिकेट किन देखिँदैन?
पहिलो ओलम्पिकमा थियो क्रिकेट
जब आधुनिक ओलम्पिक सन् १८९६ मा आयोजना भयो, त्यतिबेला क्रिकेटलाई पनि समावेश गरिएको थियो। भलै यो खेलमा कुनै टिम सहभागी हुन आएनन्।
त्यसको ४ वर्षपछि सन् १९०० मा पनि क्रिकेट सहभागी थियो। यही ओलम्पिकमा पहिलो पटक क्रिकेटमा प्रतिस्पर्धा भएको थियो।
यसको रोचक पक्ष भनेको उक्त ओलम्पिकको आयोजक र सहभागी फ्रान्सको क्रिकेटमा अहिले सहभागिता बलियो छैन।
पेरिसमा आयोजित उक्त ओलम्पिकमा १९ खेलका विभिन्न प्रतियोगिता सम्पन्न भएको थियो। यसमा सहभागिता जनाउने वचन दिएका थिए : फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र ब्रिटेनले। तर प्रतियोगिता अघि नै बेल्जियम र नेदरल्याण्ड्सले प्रतियोगिताबाट हात झिक्ने निर्णय गरे। र, बाँकी दुई टिम फ्रान्स र ब्रिटेनबीच भएको खेललाई नै फाइनल घोषित गरियो।
यो प्रतियोगिताको नियम फरक थियो। यसमा खेलाडीको संख्या ११ नभएर १२ थियो। त्यतिबेला क्रिकेटमा टेस्टको मात्र फर्म्याट थियो। यद्यपि त्यसलाई दुई दिनमा छोट्याएर आयोजना गरिएको थियो।
यसमा सहभागिताका लागि ब्रिटेनले राष्ट्रिय टोली नभएर सामान्य टिम पठाएको थियो। र, फ्रान्सले पेरिसमा रहेका ब्रिटिस अधिकारीहरुलाई समावेश गर्दै टिम बनाएको थियो।
दुई दिनको खेलमा ब्रिटेनले फ्रान्सलाई हरायो। तर गोल्ड मेडल भने दिइएन। अर्थात ब्रिटिस टिमले रजत र फ्रान्सको टिमले काश्य पदक पाएका थिए। त्यसको १२ वर्षपछि सन् १९१२ उनीहरुको मेडललाई स्वर्ण र रजतसँग साटिएको थियो।
त्यसपछिको ओलम्पिकमा पनि क्रिकेटलाई निरन्तरता दिने तयारी गरे पनि सहभागिता जनाउने टिम नभएपछि क्रिकेट ओलम्पिकबाट बाहिरिएको थियो। त्यसयता ओलम्पिकमा क्रिकेटको सहभागिता छैन।
लामो समय सहभागितामा ध्यान नपुग्नुको कारणबारे खेल पत्रकार शरद कद्रेकर यसको फर्म्याटलाई देख्छन्।
'जब आधुनिक ओलम्पिकको सुरुवात भयो, तब उनीहरुले पाँच दिनको प्रतियोगिताको लागि स्थान बनाएनन्। त्यतिबेला मात्र टेस्ट क्रिकेटको चलन थियो,' उनी भन्छन्, 'ओलम्पिकमा यति लामो फर्म्याटमा खेल गराउन कठिन थियो। अझ धेरैवटा टिमले सहभागिता जनाए अझ प्रतियोगिता लम्बिने थियो। यो कारणले पनि क्रिकेट ओलम्पिकबाट बाहिर रह्यो।'
चासो देखाउँदै आइसीसी
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आइसीसी' ले ओलम्पिकमा क्रिकेटलाई पनि सहभागी गराउने सोच बनाएको छ। यसका लागि तयारी अघि बढाएर सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा सहभागिताको लागि सोच बनाएको आइसीसीले जनाएको छ। क्रिकेटलाई ओलम्पिकमा समावेश गराउन आइसीसीले समितिसमेत गठन गरेको छ।
३ करोडभन्दा बढी क्रिकेट समर्थक रहेको अमेरिकामा २०२८ मा ओलम्पिक आयोजना हुँदैछ, त्यहीबाट क्रिकेटले पनि ओलम्पिकमा पुनरागमन गर्न चाहेको छ। हाल आइसीसीले त्यसैका लागि तयारी थालेको हो।
यसअघि क्रिकेटले ओलम्पिकमा एकपटक मात्रै सहभागिता जनाएको थियो। सन् १९०० मा पेरिस ओलम्पिकमा दुई टिमको सहभागिता रहेको थियो। ब्रिटेन र आयोजक फ्रान्सको। अर्थात लस एन्ज्ल्समा हुने ओलम्पिकमा सहभागिता जनाए क्रिकेटले १२८ वर्षपछि ओलम्पिकमा पुनरागमन गर्नेछ।
'हामीलाई विश्वास छ, क्रिकेट ओलम्पिकको राम्रो भाग हुन सक्छ। तर हामीलाई थाह छ यो त्यति सहज हुनेछैन,' आइसीसीका अध्यक्ष ग्रेग बार्कलेले भनेका छन्, 'हामीले महसुस गरेका छौं ओलम्पिकसँग सहकार्यका लागि कदम उठाउने यो उचित समय हो।'
यसका लागि आइसीसीले इङ्ग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डका इयान वाटमोरको नेतृत्वमा ६ सदस्यीय 'वर्किङ ग्रुप' बनाएको छ।
ओलम्पिकमा नयाँ टिम कसरी सहभागी हुन्छ?
क्रिकेटलाई फलो गर्नेहरुको संख्या एक अर्बभन्दा बढिरहेको बताइन्छ। यद्यपि क्रिकेट आक्रामक रुपले फैलन भने सकेको छैन। आगामी दिनमा क्रिकेटले ओलम्पिकमा स्थान बनाउला या नबनाउला भन्ने जान्नका लागि ओलम्पिकमा कसरी खेल थपिन्छन् भनेर बुझ्न आवश्यक छ। हामीलाई थाह छ, पछिल्लो समय ओलम्पिकमा बेसबल, स्केट बोर्डिङ र सर्फिंङजस्ता खेलहरु थपिएका छ्न।
पहिला ओलम्पिकमा कुन खेल थप्ने भन्ने निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले गर्दथ्यो। तर अहिले यसको जिम्मेवारी आइओसीले सम्बन्धित देशको ओलम्पिक कमिटीलाई दिने गरेको छ।
यो परिवर्तन सन् २०२० को ओलम्पिकको एजेन्डा लागु गरिएपछि गरिएको हो। टोकियो ओलम्पिक आयोजक कमिटीले नयाँ खेललाई ओलम्पिकमा समावेश गराउने २०१५ मा दिएको थियो जुन २०१६ मा स्वीकृत भएको थियो।
त्यतिबेला आइओसीका अध्यक्ष थोमस बकले युवामा खेलको पहुँचलाई बढाउन यो कदम लिइएको बताएका थिए।
यद्यपि आयोजक देशले नयाँ खेल समेट्न केही कुराहरुमा विचार गर्न सक्छ। जस्तो कि त्यसको संरचना, खेल संस्कृति।
२०२४ को ओलम्पिक पेरिसमा हुँदैछ। त्यसपछि २०२८ को लस एन्जेल्समा। अर्थात फ्रान्स र अमेरिकामा। र, यी दुई देश क्रिकेटमा अगाडि सुनिने नाम होइनन्। जसको कारण हुन सक्छ यी देशमा क्रिकेट कल्चरको अभाव त हुन्छ नै त्यसमा पूर्वाधार र सुविधाहरुको पनि अभाव रहन सक्छ।
यसका लागि एउटा विकल्प भनेको आइओसीले यसमा पहल गर्ने नै हो। यसका लागि प्रतियोगिता हुने देशको क्रिकेट बोर्डसँगको सहकार्य आवश्यक पर्नेछ। र, यी दुई देश मिलेर क्रिकेट प्रतियोगिता आयोजनाका लागि आवश्यक सुविधाहरु ब्यवस्था गर्न सकुन्।
र, यसका लागि क्रिकेट बोर्डले ठूलो रकम सरकारसँग माग्नुपर्ने हुन्छ जुन सहज नहुन सक्छ।
अर्कोतर्फ आइसीसीले सन् २०२८ को ओलम्पिकमा क्रिकेटलाई समावेश गराउने पहल सुरु गरेको छ। अघिल्लो साल अक्टोबरमा आइसीसीले आफ्ना सदस्य राष्ट्रहरुलाई यदि क्रिकेट ओलम्पिकमा सहभागी भए आफ्नो देशको सरकारबाट कति सहयोग मिल्न सक्ला भनेर सोधेको थियो। यसबारे क्रिकेट बोर्डहरुलाई प्रश्नको एउटा सूची नै पठाएको थियो।
त्यसअघी पनि आइसीसीले यसबारे कोसिस गरे पनि यसमा सफलता पाउन सकेको थिएन। तर लस एन्जल्समा हुने ओलम्पिकका लागि आइसीसी फेरि एकपटक जुटेको छ।
आइसीसीले विश्वास लिएको छ: ओलम्पिकमा सहभागिता जनाउनाले क्रिकेटको लोकप्रियता बढाउन ठूलो योगदान मिल्नेछ।