काठमाडौं : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न आजको बैठक बोलाइएको थियो।
अविश्वासको प्रस्ताव बारे छलफल हुँदै गर्दा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सचिवालयमा पठाएका थिए। शेरचनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै मुख्यमन्त्री शंकर पोखरेलले आज दिउसो १: १५ बजे राजीनामा दिएको जानकारी गराएका थिए।
त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउँदै आज तय भएको कार्यसूची हटाइएको जानकारी दिएका हुन्। सँगै अर्को बैठकको जानकारी सूचना पत्रबाट दिइने बताए।
लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुनु अघि पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए। सर्वोच्च अदालतबाट विशेष अधिवेशन रोक्ने उत्प्रेषणको आदेश लिने गरी निवेदन दर्ता भएको भए पनि फैसला नआउँदै अधिवेशन सुरु भएको थियो।
राजीनामा पत्र बुझाएका पोखरेल नेतृत्वको सत्तारुढ दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको थियो। प्रदेशसभामा प्रदेश प्रमुखबाट राजनीमा बारे आधिकारिक पत्र नआएकाले अविश्वासको प्रस्ताव पेश भएको थियो।
मुख्यमन्त्रीले राजीनामा दिएको पत्र प्राप्त भएपछि विशेष अधिवेशन अन्त्य भएको हो। पोखरेलले राजीनामा दिएर फेरि अविश्वासको प्रस्ताव छलेका हुन्। यसअघि गत वैशाखमा पनि मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव छल्न राजीनामा दिँदै सोही दिन राती पुन एकल बहुमतको मुख्यमन्त्रीको रुपमा सपथ लिएका थिए।