PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बेलायतको डाउनिङ स्ट्रिटमा भोक हड्तालमा बसे भूपू गोर्खा सैनिक, समान पेन्सनको माग



बेलायतको डाउनिङ स्ट्रिटमा भोक हड्तालमा बसे भूपू गोर्खा सैनिक, समान पेन्सनको माग
Photo: GETTY IMAGES

शनिवार बिहान ज्ञानराज राई नास्ता खाएर डाउनिङ स्ट्रिट पुगे र पेन्सनको लागि प्रदर्शन गर्न शुरु गरे। त्यसपछि उनले केही खाएका छैनन्।

‘कायर हुनु भन्दा मर्नु बेस’ २०० वर्ष भन्दा बढी समयदेखि बेलायती सेनाको अभिन्न अंगको रुपमा रहेको नेपाली गोर्खा सैनिकहरुको आदर्श हो यो।

६३ वर्षीय राई आफूहरुको माग सरकारले पूरा नगरे भोकभोकै मर्न तयार रहेको बताउँछन्। २० वर्षसम्म एकसाथ लडेका बेलायती सैनिकहरुको बराबर पेन्सन पाउनुपर्ने उनको माग हो।

डाउनिङ स्ट्रिटको गेट नजिक राईको छेउमा ह्विलचेयरमा बसेका छन् ५९ वर्षीय भूतपूर्व सैनिक धन गुरुङ। र उनीसँगै छिन्, ५९ वर्षीया एकल महिला पुष्पा राना घले, जो नेपालदेखि यहाँ आएकी हुन्।

बुधवार उनीहरुले भोक हड्ताल शुरु गरेको पाँचौँ दिन भएको छ। उनीहरुले घाम पानीबाट ओत पनि लाग्न पाएका छैनन्। ‘स्थानीय नियमविपरीत’ भन्दै नगर प्रहरीले उनीहरुको ओत हटाएको थियो।

‘भोक हड्तालको लागि यो अन्तिम विकल्प हो’ राईले बीबीसीलाई भने, ‘हामीलाई सबै तवरले बेलायती सैनिकलाई जत्तिकै व्यवहार गरियोस् भन्ने चाहन्छौँ, त्यसैले हामी यहाँ छौँ, मर्नको लागि पनि तयार छौँ।’

दुवै विश्व युद्धमा गरी दुई लाख भन्दा बढी गोर्खा सैनिकहरुले बेलायतको लागि लडेका छन्। र, पछिल्लो ५० वर्षमा हङकङ, मलेसिया, बोर्नियो, साइप्रस, कोसोभो, इराक र अफ्गानिस्तानमा गोर्खा सैनिक खटाइएको छ। यस्तोमा सन् १९९७ अघि सेवानिवृत्त भएका गोर्खा सैनिकहरुले बेलायती सैनिकले पाउने केही अंश मात्रै पेन्सन पाउँछन्।

‘गोर्खा पेन्सन स्किम’ कम्तिमा १५ वर्ष सेवा गरेकाहरुको लागि भारतीय सैनिकको दरमा निर्धारण गरिएको थियो। यो योजना नेपालमा सेवानिवृत्त हुनेको लागि डिजाइन गरिएको थियो, जहाँ बेलायतको तुलनामा जीवन निर्वाह गर्न निकै सस्तो पर्छ।

तर, २००९ मा सेवानिवृत्त भएका गोर्खा सैनिकहरुले बेलायतमै बस्न पाउने अधिकार प्राप्त गरे। अभिनेत्री जोएना लुम्लेको अगुवाईमा भएको ‘हाई-प्रोफाइल’ अभियानपछि गोर्खा सैनिकहरुले यो अधिकार पाएका थिए। जोएनाका बुवाले छैटौँ गोर्खा राइफलसँग एकसाथ काम गरेका थिए।

प्रदर्शनकै लागि साउथम्प्टनबाट आएका राईले आफू काकाको पछि लागेर १७ वर्षको उमेरमा ब्रिटिश आर्मीमा भर्ती भएको बताए।

‘त्यति बेला पनि हामीले बेलायती सैनिकको तुलनामा निकै कम पारिश्रमिक पाउँथ्यौँ,’ उनले भने, ‘सेवानिवृत्त भएपछि पनि हामीले निकै कम पेन्सन पायौँ। मेरो पेन्सन प्रतिमहिना ४७ पाउन्ड मात्रै थियो जबकी बेलायती भूपू सैनिकको पेन्सन प्रतिमहिना ८०० पाउन्ड थियो।’

सैनिक सेवा छोड्दा आफूले एकमुष्ट तीन हजार पाउन्ड पाएको उनले बताए। तर, बेलायती सैनिकलाई भने ६० हजार देखि ७० हजार पाउन्ड दिइएको उनी बताउँछन्।

हाल आफूले प्रतिमहिना ३५० पाउन्ड पेन्सन पाउने गरेको उनले बताए। जबकी सोही दर्जाका बेलायती भूपू सैनिकले १ हजार २ सयदेखि १ हजार ३ सयसम्म पाउने गरेको उनको भनाइ छ। बेलायती रक्षा मन्त्रालयको डाटा हेर्दा उनको भनाइ पुष्टि हुन्छ।

राईले भोक हड्ताल गरेको यो पहिलो पटक भने होइन। सन् २००७ मा पनि उनले १४ रात र १५ दिन केही नखाई भोक हड्ताल गरेका थिए। त्यति बेला उनले सेवामा रहेका गोर्खा सैनिकहरुले अन्यले जत्तिकै पेन्सन अधिकार पाउने नियम लागू भएपछि हड्ताल रोकेका थिए।

तर, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अनुसार १ जुलाई १९९७ अघि सेवानिवृत्त भएका २५ हजार जनाले भने ‘यूके आर्म्ड फोर्सेस पेन्सन स्किम’मा सहभागी हुन पाएनन्।

बेसिङ्स्टोकका धन गुरुङले आफूले हजुरबुवाकै नियति भोगेको बताउँछन्, जो गोर्खा सैनिक हुँदै गरिबीमा फसे। आफू १५ वर्ष नै सेवामा लागेको उनले बताए, जुन गोर्खा सैनिकको लागि तय गरिएको अधिकतम अवधि थियो।

उनी यसलाई ‘ठूलो विभेद’ भन्छन्। बेलायती सैनिकले २२ वर्ष सेनामा रहन पाउँदा आफू सेवानिवृत्त हुन बाध्य भएको उनको गुनासो छ।

‘म सन् १९९४ मा सेवानिवृत्त हुँदा मेरो मासिक पेन्सन २० पाउन्ड थियो’, उनी भन्छन्, ‘त्यसले म श्रीमती, छोरी र छोरासहित कसरी बाँचे हुँला!’

नेपालका गोर्खा सैनिकका परिवारहरु गरिबीमा डुबेको उनले बताए। जसकारण उनीहरुका बालबच्चाहरुले उचित शिक्षा नपाएको उनको गुनासो छ।

‘अहिले उनीहरु साउदी अरेबिया, मलेसिया, इजरायल लगायत विश्वभर तल्लो स्तरको काम गर्न बाध्य छन्, किनकी उनीहरुसँग उचित शिक्षा छैन’, उनले भने, ‘उनीहरुसँग अरु उपाय छैन किनकी बेलायत सरकारले दिएको पारिश्रमिक पर्याप्त छैन।’

ब्रिटिश आर्मीको लागि लड्दा मृत्यु भएकाहरुको सम्झना आउँदा आफूले दुःख महसुस गर्ने गरेको र आफ्नो ‘रगत तात्ने’ उनी बताउँछन्।

‘युद्धमा घाइते भएकाहरुको मलाई सम्झना छ, घाइते हुँदा युद्धको लागि उपयुक्त छैन भन्दै उनीहरुलाई बिना पेन्सन रित्तो हात र नांगो खुट्टा घर पठाइएको थियो। यी कुराहरु सम्झदाँ निकै दुःख लाग्छ,’ उनले भने।

डाउनिङ स्ट्रिट बाहिर धन गुरुङ थकित देखिन्छन्। भोक हड्तालका कारण उनीहरुको शरीर गलेको छ। तर पनि उनको अपेक्षा छ कि सरकारले आफूहरुको मागको सम्बोधन गर्नेछ।

‘त्यसैकारण म आफ्नो जीवन नै बलिदान दिन तयार छु’, उनले भने, ‘यो २०७ वर्षदेखिको विभेद हो, यसबाट उनीहरु भाग्न पाउँदैनन्।’

‘वार्ता टोली गठन गरौँ र वार्ताको मिति तोकौँ भन्ने हाम्रो सन्देश हो। यदि उनीहरु यसो गर्न तयार हुन्छन् भने हामी भोक हड्ताल स्थगित गर्नेछौँ’, उनले अघि भने, ‘उनीहरुले समस्याको समाधान गरे हामी यो रोक्छौँ, यदि उनीहरु समस्या समाधान गर्न चाहँदैनन् भने मलाई मर्न देखि डर छैन किनकी मैले यसअघि नै आफ्नो जीवनको बलिदान गरिसकको छु।’

यसबारे रक्षा मन्त्रालयका प्रवक्ता भन्छन्, ‘गोर्खा सैनिकहरुले ब्रिटिश आर्मीको लागि गरेको ठूलो योगदानको हामी कदर गर्छौँ, र नेपालमा सेवानिवृत्त हुँदा उचित पेन्सन र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्छौँ। गोर्खा पेन्सन स्किमलाई बेलायतको सरकारी क्षेत्रको पेन्सन जस्तै दीगो र निष्पक्ष बनाउन हामी प्रतिबद्ध छौँ।’

बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell