PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेस केन्द्रीय समिति बैठक देउवा निवास बुढानिलकण्ठमा



कांग्रेस केन्द्रीय समिति बैठक देउवा निवास बुढानिलकण्ठमा

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। महाधिवेशन कार्यतालिका संशोधनका लागि बस्न लागेको बैठक दिउँसो २ बजेबाट शुरु हुनेछ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना जारी रहेकोले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक आफ्नो निवास बुढानिलकण्ठमा डाकेका छन्। यसअघि केन्द्रीय समिति बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा हुँदै आएको थियो। सानेपामा आज पनि बारा र धनुषामा क्रियाशिल सदस्यतामा भएको धाँधलीविरुद्ध धर्ना कार्यक्रम जारी छ।

सभापति देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पार्टीको बैठक नराख्ने कांग्रेसले निर्णय गरेको छ। त्यसयता कांग्रेसको पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै आएको छ। पार्टी कार्यालयमा धर्ना जारी रहेकाले पनि बैठक सभापतिको निवासमा बस्न लागेको एक केन्द्रीय सदस्यले बताए। 'आजको बैठक बुढानिलकण्ठमा भनेर सूचना आएको छ,' ती केन्द्रीय सदस्यले भने।

आजको बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका हुनेछ। कोरोना संक्रमणको त्रास र क्रियाशील सदस्यता विवादले गर्दा पार्टीको महाधिवेशन प्रभावित भइसकेको छ।

कांग्रेसले भदौ १६ बाट १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सक्नेगरि अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्यता विवाद देखाउँदै साउन १२ गते तय गरिएको गाउँ - नगरको वडा अधिवेशन, साउन १६ गते तय गरिएको गाउँ नगरपालिका अधिवेशन, साउन २० गते तय गरिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन २३ गते तय गरिएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन - एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन स्थगित भइसकेको छ। साउन २६ गतेका लागि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको मिति पनि टरिसकेको छ। भदौ १ र २ गेत प्रदेश अधिवेशन हुने भनिएको छ। ती अधिवेशन नहुने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell