काठमाडौं : पाकिस्तानले नेपाललाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड-१९ विरुद्धको लडाइँमा सहयोग हुने हिसावले पाकिस्तानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको हो।
पाकिस्तानको सार्क राष्ट्रहरुको लागि ‘कोभिड-१९ आपतकालिन सहायता कार्यक्रम’ अन्तर्गत सो सहयोग गरिएको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जानकारी दिएको छ। जसअन्तर्गत पाकिस्तानले नेपाललाई १ करोड ९० लाख रुपैयाँ भन्दा बढी रकम बराबरको ३० थान भेन्टिलेटर र ३० थान ‘सीपीएपी’ श्वासप्रश्वास उपकरण सहयोग गरेको हो।
पाकिस्तानका ‘चार्ज डी'अफेयर्स’ अद्नन जाभेद खानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेललाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरे। सो क्रममा डा पोखरेलले सहयोगको लागि पाकिस्तान सरकार र पाकिस्तानी जनतालाई धन्यवाद दिए। त्यस्तै, खानले पाकिस्तानको नेपाललाई सहयोग जारी रहने बताए।
यसअघि, पाकिस्तानले ‘कोभिड-१९ आपतकालिन सहायता कार्यक्रम’ अन्तर्गत नै नेपाल सरकारलाई ४ करोड ३० लाख नेपाली रुपैयाँ सहयोग गरेको थियो।
Today, Cd`A a.i. of 🇵🇰 to🇳🇵@adnanjkhan79 met Dr. Roshan Pokharel, Secretary Health @mohpnep & handed over medical equipment (30xVentilators & 30xCPAP Breathing Equipment) worth over NRs. 19 mn as assistance by the Govt of 🇵🇰 for the Govt. & Ppl of🇳🇵for their fight against COVID. pic.twitter.com/av5aDcmTjg
— Pakistan Embassy Nepal (@PakinNepal) August 12, 2021