PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

पुजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटीमा रिहा,एक वर्ष बित्न लाग्दा पनि ४ आरोपी अझै फरार



सुमित मिश्र

पुजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटीमा रिहा,एक वर्ष बित्न लाग्दा पनि ४ आरोपी अझै फरार

जनकपुरधामः रौतहटस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या आरोपी वडाध्यक्ष दुई लाख धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत रौतहटले माधवनारायण नगरपालिका–४ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी साहका हत्या आरोपी वडाध्यक्ष शेख नुरुल्लालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

२०७७ भदौ ३ गते पुजारी साहको हत्या भएदेखि फरार रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेखलाई अदालत रौतहटको ७ नम्बर इजलासका न्यायाधीश श्याम विहारी मौर्यको एकल इजलासले दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

साउन २२ गते (शुक्रवार) अदालतमा हाजिर भएका उनले दुई लाख धरौटी बुझाई रिहा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

२०७७ भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी साहको खाना खाँदै गरेको अवस्थामा देब्रे कन्चटमा गोली हानी हत्या गरिएको थियो।

पुजारीको हत्या आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। जसमध्ये रामनरेश पटेल र बालकुमार पटेललाई सोही समयमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पुर्पक्षका लागि गौर कारागारमा छन्।

पुजारी श्रीराम साहको हत्या भएको एक वर्ष बित्न लाग्दा पनि हत्यामा संलग्न रहेका थप ४ जना पक्राउ पर्न सकेका छैनन्। हत्यामा संलग्न देवाही गोनाही–१ का राजेन्द्र राउत कुर्मी, रामप्रवेश राउत कुर्मी, विकाउ भन्ने मोहम्मद काशिम र ममताज देवान पक्राउ परेका छैनन् । यि चार जना अझै फरार रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell