PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

लुम्बिनी प्रदेशसभा भवन अत्याधुनिक, व्यवस्थित र उत्कृष्ट बनाउन विज्ञहरुसँग छलफल



लुम्बिनी प्रदेशसभा भवन अत्याधुनिक, व्यवस्थित र उत्कृष्ट बनाउन विज्ञहरुसँग छलफल

बुटवल : दाङको राप्ती उपत्यकामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको दोश्रो चरणको आन्तरिक व्यवस्थापनसहितको निर्माण कार्यका लागि आवश्यक परामर्श र सुझाव संकलन गर्न विज्ञहरुसँग छलफल शुरु गरिएको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न मुलुक र प्रान्तहरुका संसद् भवनहरुको अध्ययन गरी नेपालका सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशको संसद् भवनलाई पहिलो र उत्कृष्ट बनाउने उद्देश्यका साथ विज्ञहरुसँग परामर्श शुरु गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा भवनको आन्तरिक व्यवस्थापन र प्रविधि चुस्तदुरुस्त बनाउने, फर्निसिङ, सिट प्लानिङ, विद्युतीकरण, माइक साउण्ड र पूर्ण वातावनुकुलित बनाउने विषयमा उच्च प्रविधियुक्त कसरी बनाउन सकिन्छ भनेर सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग छलफल शुरु गरिएको प्रदेशसभाका प्रवक्ता एवं उपसचिव रमेश गौतमले बताए।

यसका लागि आर्किटेक इन्जिनियर, सिभिल इन्जिनियर, साउण्ड इन्जिनियर, एसि प्राविधिक, इलेक्ट्रिकल इन्जिनियर, फर्निचर डिजाइनरलगायत सम्बन्धित पक्ष र विज्ञ व्यक्तित्वसँग छलफल गरिएको उपसचिव गौतमले बताए। प्रदेशसभा भवन र प्रदेशसभा सचिवालयलाई सार्थक, आकर्षक र भव्य बनाउन आवश्यक आधारभुत कुराहरुका बारेमा विशेष चासोका साथ हेरिएको र सातवटा प्रदेशमध्ये उत्कृष्ट र छिटो बनाउने योजनाका साथ अघि बढिएको पनि उपसचिव गौतमले जानकारी गराएका छन्।

हाल निर्माणाधिन संसद् भवनमा कस्तो सामाग्री र कस्तो प्रविधि प्रयोग गर्ने भन्ने विषयमा विभिन्न मुलुक र प्रान्तहरुका नमुना संसद् भवनको अध्ययन गर्ने काम भइरहेको छ। पहिलो चरणको निर्माण सम्पन्न हुनासाथ दोश्रो चरणको काम शुरु गर्ने योजना रहेको समेत जानकारी गराउदै उपसचिव गौतमले प्रदेशसभा सचिवालयसँगै कम्पाउण्ड वाल, गार्ड रुम लगायतका संरचना निर्माणको काम पनि अब छिटै शुरु गरिने जानकारी दिएका छन्। दोश्रो चरणको निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको उपसचिव गौतमले जानकारी गराए।

यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गरी प्रदेशसभाको अधिवेशन सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको लुम्बिनी प्रदेशसभा भवनको निर्माण सम्पन्न भएपछि नेपालकै पहिलो र नमुना संसद् भवन बन्ने विश्वास गरिएको छ।

स्थापना कालदेखि हालसम्म कानुन निर्माण, पुँजीगत खर्च लगायतका विषयमा अग्रपंक्तिमा रहेको लुम्बिनी प्रदेश अत्याधुनिक र सुविधासम्पन्न नमुना प्रदेशसभा बनाउने सवालमा पनि अग्रपंक्तिमै रहने लक्ष्यका साथ अघि बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell