काठमाडौं : सत्ता साझेदार दल माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ। अहिले ११ बजेबाट काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बैठक शुरु हुनेछ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन्। बैठकमा सांगठनिक प्रतिवेदन प्राथमिकताका साथ प्रस्तुत हुने बताइएको छ। स्थानीय तहदेखि केन्द्रसम्मको पार्टी संरचनालाई सक्रिय बनाउन प्रचण्डले प्रतिबेदनमा पार्टीको अबको ढाँचा प्रस्तुत गर्ने छन्।
राजनीतिक प्रतिवेदनमा कम्युनिस्ट आन्दोलन र त्यसमा पछिल्लो समय देखिएको विचलन लगायतका बिषय उल्लेख रहेको बताइएको छ।
त्यसैगरी उक्त प्रतिवेदनमा सरकारको काम कारवाहीबारे पनि उल्लेख रहेको छ।
आउने स्थानीय तहको चुनावमा पार्टीलाई कसरी जिताउने भन्नेबारे पनि केन्द्रीय कमिटीमा छलफल हुने बताइएको छ।
माओवादीमा हाल १८७ जना केन्द्रीय सदस्य छन्। बैठक भोलिसम्मै जारी रहने माओवादी केन्द्रले जनाएको छ।