प्रिमियर लिग क्लब चेल्सीले पुन: बेल्जियन स्टार रोमेलु लुकाकुलाई अनुबन्धित गरेको छ। अघिल्लो सिजन इटालियन सिरी ए मा इन्टरमिलानलाई च्याम्पियन बनाउन सफल भएका लुकाकु फेरि पाँच वर्षका लागि चेल्सीमा आइपुगेका छन्: ९७.५ मिलियन पाउन्डमा।
ब्रिटिस फुटबलमा यो दोस्रो महँगो अनुबन्धन हो। यसअघि म्यानचेस्टर सिटीले ज्याक ग्रिलिसलाई अघिल्लो हप्तामात्र १०० मिलियन पाउण्डमा भित्र्याएको थियो। यसअघि पनि लुकाकु सन् २०११ को अगस्टमा अनुबन्धित भएका थिए। तर चेल्सीबाट मात्र एक सिजनमा १५ खेल खेलेका उनी २०१३/२०१४ को सिजनमा लोनमा वेस्ट ब्रुम हुँदै एभर्टन पुगेका थिए। खैर, त्यतिबेला र अहिले सन्दर्भ फेरिएको छ। लुकाकुले त्यसपछि राष्ट्रिय टोलिबाट होस या म्यानचेस्टर युनाइटेड र इन्टर मिलानबाट होस, आफ्नो छाप छाड्न सफल भइसकेका छन्। बेल्जियमका लागि त उनी सर्वकालिन सर्वाधिक गोलकर्ता (३१ गोल)नै हुन्।
अघिल्लो सिजन उनको २४ गोल र ११ एसिस्टको सहायतामा इन्टरमिलानले ११ वर्षपछि सिरि ए मा च्याम्पियन बन्न सफल भएको थियो। त्यसैले त उनलाई भित्र्याउन चेल्सीले ठूलो रकम खर्च गरेको छ।
सन् २०१० मा बेल्जियन लिगमा च्याम्पियन बनेयता अघिल्लो सिजन उनले सिरि ए को उपाधि जित्न सफल भएका थिए।
सन् २०१२/१३ को सिजनयता युरोपको शीर्ष पाँच लिगमा हरेक सिजन १० भन्दा बढी गोल गर्दै आएका सीमित खेलाडीमात्र छन्। जसमध्ये क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, रोबर्ट लेवान्डोस्की, लुइस स्वारेज, पियरे एम्रिक औबुमेयाङ र लुकाकु रहेका छन्।
युरो २०२० को क्रममा लुकाकुले भनेका थिए: जब मानिसहरुले लेवान्डोस्की, बेन्जेमा या ह्यारी केनको कुरा गर्छन् र भन्छन: उनीहरु विश्वस्तरीय खेलाडी हुन्,' उनले भनेका थिए, 'तर जब मेरो कुरा आउँदा राम्रो फर्ममा रहेको मात्र भनिन्छ। यसले मलाई अझ कडा परिश्रम गर्न मोटिभेसन मिल्छ।'
उनी अगाडि भन्छन्: म पनि त्यो सूचीको खेलाडी हुँ।
फरक लुकाकु
दुई वर्षअघि ओल्ड ट्राफोर्ड छाड्दाताका भन्दा फरक रुपमा लुकाकु प्रिमियर लिगमा फर्किएका छन्।
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले लुकाकु फरक खेलाडी भएको प्रतिकृया दिएका थिए।
'गोल गर्ने क्षमताका साथ उनी जन्मिएका हुन्,' उनी भन्छन्, 'हामी जसको बारेमा कुरा गरिरहेका छौं, उनीसँग ब्यक्तिगत क्षमता र आवश्यकमात्रामा परिपक्वता छ।'
चेल्सीसँग अनुबन्धनको १० वर्षपछि लुकाकु फेरि स्टामफोर्ड ब्रिज आईपुगेका छन्। आफ्नो करियरमा धेरै उतारचढाब भएको पनि उनी स्वीकार्छन्। यही उतारचढाबले नै उनलाई उत्कृष्ट खेलाडी बनाएको छ। उनी ती लुकाकु होइनन् जो दश वर्षअघि चेल्सीको जर्सीमा देखिन्थे। दश वर्षमा धेरै कुरा फेरिएको छ। पछिल्लो आधा दशकमा उनले सबै टिम र स्टाइलमा फिट हुन सक्ने सेन्ट्रल फर्वाडका रुपमा आफूलाई विकसित गरेका छन्। केले उनलाई खास बनाएको छ?
उनी न त अर्लिङ हल्याण्ड जस्तो 'सिंगल माइन्डेड' गोल स्कोरर हुन् न त रोबर्टो फर्मिन्हो जस्तो 'पासिङ लिंक अप साभेन्ट' नै। उनी ह्यारी केनजस्तै उत्कृष्ट अलराउण्ड सेन्टर फर्वाड हुन्। उत्कृष्ट स्ट्राइकरले उच्च तहमा जे गर्न सक्छ, त्यसमा उनी सबल छन्।
यदि आक्रमणको तथ्यांकलाई तीन फरक विधामा विभाजन गरेर हेर्ने हो भने-आउटपुट, पेनाल्टी बक्स थ्रेट र ओपन प्ले इन्भल्भमेन्ट- यसमा ७५ प्रतिशतभन्दा माथि विशेषगरी तीन जना स्ट्राइकरहरु देखिन्छ। पहिलो एटलान्टाका लुइस मुरिएल। दोस्रो किलियन एम्बाप्पे र तेस्रो लुकाकु।
लुकाकुको स्किलले ट्रान्जिसनको क्रममा टिमलाई सहज त बनाउँछ नै फाइनल थर्डमा पोजिसन कायम राख्न पनि सहज बनाउछ। लुकाकुको टेक्निकल सम्भावनाहरुलाई प्रयोगमा ल्याउन चेल्सीका प्रशिक्षक थोमस टुचास हात रगटिरहेका छन्।
चेल्सीको पछिल्लो सिजन र पछिल्ला केही सिजन यताको समस्या भनेको ठूला मौका (पेनाल्टी बाहेकका) अवसर सदुपयोग गर्न नसक्नु रह्यो। यही विषयमा केही समय अघिसम्म लुकाकु पनि आलोचित हुने गर्दथे। तर यसलाई उनी हटाउनु पर्ने देखिन्छ। अघिल्लो सिजनमा पनि उनले यस्ता केही मौका गुमाएका भए पनि ठूलो अवसर सदुपयोग गर्ने सन्दर्भमा उनी पाँचौ स्थानमा देखिएका छन्।
यसले गर्दा म्यासन माउन्टलाई बल अघि बढाउनदेखि टिमो वेर्नर र काइ हार्भटेजलाई बल लिनसम्म पनि सहयोग हुनेछ। यसको मतलब लुकाकुको उपस्थितिले बलअघि बढाउनमा देखिएको चेल्सीको समस्यालाई समाधान त गर्दैन तर उनको उपस्थितिले राहत भने मिल्नेछ।
त्यस्तै टिमो वेर्नरको उपस्थितिले चेल्सीसँग विश्वउत्कृष्ट एक्टिभ पेनल्टी बक्स प्लेयरको एसेट छ। त्यसमाथि लुकाकुको उपस्थितिले चेल्सीबाट पोजिसन खोस्न विपक्षीले संघर्ष गर्नुपर्ने देखिन्छ।
चेल्सी फर्कँदा खुशी
२८ वर्षे लुकाकुले आफू चेल्सी फर्कँदा खुशी भएको बताएका छन्।
'यो उत्कृस्ट क्लबमा अनुबन्धित हुन पाउँदा खुशी लागेको छ,' लुकाकुले भनेका छन्, 'यो मेरो लामो यात्रा थियो। म यहाँ एउटा बच्चाको रुपमा आएको थिएँ र धेरै कुरा सिकेको थिएँ। अहिले म फेरि धेरै अनुभव र परिपक्व भएर फर्किएको छु।'
आफुले बाल्यकालदेखि नै चेल्सीको समर्थन गरेकाले चेल्सीमा रहनुले ठूलो अर्थ राख्ने उनले बताएका छन्।
'जब मैले चेल्सी छाडेँ त्यसपछि धेरै आरोहअवरोहहरु आए। तर, ती अनुभवहरुले मलाई अझ बलियो र अझ धेरै ट्रफीका लागि चुनौती लिनसक्ने बनायो,' उनले भने, 'अझ धेरै सफलता हासिल गर्न म आतुर छु।'