PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दोहोरीमा धमाधम दोहोरो अर्थ लाग्ने शब्द, 'बोल माया'की गायिका शान्तिश्रीको, 'हेर्ने हो र देखाइदिम्'



दोहोरीमा धमाधम दोहोरो अर्थ लाग्ने शब्द, 'बोल माया'की गायिका शान्तिश्रीको, 'हेर्ने हो र देखाइदिम्'

काठमाडौं : नेपाली लोकदोहोरी क्षेत्रमा एकपछि अर्को दोहोरो  शब्द प्रयोग भएका गीतहरु आउने क्रम जारी छ। गीत सार्वजनिक भएको केही दिनमा गीतका शब्दलाई लिएर आलोचना बढ्न थालेका छन्।

केही दिन अघिमात्रै दुर्गेश थापाले ‘बीच्च बीच्चमा ४- ख्यास्स पुतली’ गीत ल्याएपछि विवादमा तानियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गीतमा प्रयोग 'ख्यास्स पुतली' शब्दमाथि आप्पति जनायो। र, उक्त शब्दलाई हटाउन आग्रहसमेत गर्‍यो।

तर दुर्गेशले प्रतिष्ठानको आग्रह टेरेनन्। फलस्वरुप प्रतिष्ठानले दुर्गेशलाई सदस्यताबाट वञ्चित गर्ने निर्णय गर्‍यो। साथै प्रतिष्ठानले दोहोरो अर्थ दिने शब्दहरु प्रयोग नगर्न लागि आग्रह गर्दै आएको छ। तर पनि दोहोरो अर्थ लाग्ने गीत आउने क्रम भने रोकिएको छैन।

'लाजले छोपेको- हेर्ने हो र देखाइदिम्' बोलको गीतमा यस्तै शब्दहरु प्रयोग भएका छन्। राजु सुनामको शब्द तथा संगीत रहेको गीतमा गायिका शान्तीश्री परियार र यज्ञ बिकको स्वरले स्वर दिएका छन्। गीत तीन दिनअघि युट्युबमा सार्वजनिक भएको हो।

गीतको भिडियोमा पुष्प खड्का र जिशु कोइराला फिचर्ड छन्। नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको छ।

‘हेर्ने हो र देखाइदिम्’ बोलको गीत शब्दहरु दोहोरो अर्थ दिने खालको भएको बताइएको छ। यही गीतको बोललाई लिएर टिकटक प्रयोगकर्ताहरुले दोहोरो अर्थ दिने खालका भिडियोहरु बनाउन थालेका छन्।

साथै गीतमा प्रयोग भएका शब्दलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचनासमेत गरेका छन्। नवीना थापा नामका एक प्रयोगकर्ताले भनेकी छिन्, 'दुर्गेशको गीत नराम्रो लाग्नेहरू यो गीत चाई राम्रो लाग्यो होला होइन दोहोरी प्रतिष्ठानलाई नि राम्रो लागेछ जे होस्।'

त्यसैगरी अर्का प्रयोगकर्ताले गीतमाथि कुनै कारवाही नथालिएको आरोप लगाउँदै प्रतिष्ठानमाथि प्रश्न उठाएका छन्। 'कता छ दोहोरी गीत प्रतिष्ठान? के यो गीतका शब्द विवादास्पद छैन र?' गणेश बानियाँ नामका प्रयोगकर्ताले प्रश्न गरेका छन्। तोपबहादुर खड्का नामका प्रयोगकर्तालाई भने शान्तिश्री परियारकै स्वरमा यस्तो शब्दको गीत आएकोमा लाज नै लागेछ। उनले भनेका छन्, 'शान्तिजीबाट यस्ता शब्दको व्यापार हुनु लज्जास्पद।'

‘हेर्ने हो र देखाइदिम्’ गीतको शब्दमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कस्तो एक्सनमा उत्रिएला? त्यो भने हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell