बुटवल : लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री अजय शाहीलाई नेकपा (एमाले)ले पार्टीको ह्वीप उल्लंघन गरी विपक्षी गठबन्धनमा गएकोले ३ दिने स्पष्टीकरण सोधेको थियो। तर, शाहीले स्पष्टीकरण औचित्यहीन र त्यसको लिखित जवाफ दिन आवश्यक नरहेको बताएका छन्।
सूर्य चिन्हबाट चुनाव जितेर गठबन्धनको सरकारमा सहभागी भएको भन्दै लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री अजय शाहीलाई एमालेले २८ गते स्पष्टीकरण सोधेको थियो। यही बिहीवार मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र सांसद रहेका शाहीलाई विनाविभागीय मन्त्रीको सपथ खुवाएका थिए। एमाले लुम्बिनी प्रदेशले आफूसँग तीन दिने स्पष्टीकरण माग गरेको कुरा मिडियाबाट मात्र सुनेको मन्त्री शाहीले बताए।
एमाले पार्टीको तर्फबाट पठाइएको भनिएको पत्र नपाएको र तीन दिने स्पष्टीकरण सोधिएको भन्ने कुरा सञ्चार माध्यमबाट सुन्नमा आएकोले त्यो स्पष्टीकरण औचित्यहीन भएको प्रतिकृया दिए।
आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भई आएकोले स्वतन्त्र निर्वाचित प्रदेश सांसदलाई कुनै पार्टी विशेषका ह्वीप नलाग्ने उनको तर्क छ। लुम्बिनी प्रदेश सरकारका मन्त्री शाहीले आफूलाई बिनाकारण गैरकानुनी रुपमा कारवाहीको प्रक्रिया अगाडि बढाइएमा न्यायको लागि अदालतको ढोकासम्म पुग्ने बताए।
मन्त्री शाही पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ ‘ख’बाट स्वतन्त्र सांसदको रूपमा सूर्य चुनाव चिन्ह लिएर निर्वाचित हुन्।
