PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अफगानिस्तानका पूर्व राष्ट्रपति कार्जाईले देश नछाड्ने, जनताको सुरक्षा गर्न दुवै पक्षलाई आग्रह



अफगानिस्तानका पूर्व राष्ट्रपति कार्जाईले देश नछाड्ने, जनताको सुरक्षा गर्न दुवै पक्षलाई आग्रह

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कार्जाईले सरकार र तालिबान दुवै पक्षलाई आफगानी जनताको सुरक्षा गर्न आग्रह गरेका छन्। तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेसँगै पूर्व राष्ट्रपति कार्जाईले भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन्।

‘म अहिले काबुलमा मेरा छोरीहरुसँग छु र म तालिबानलाई जनताको लागि सुरक्षा प्रदान गर्न आग्रह गर्दछु,’ तीन जना छोरीहरुको साथमा भिडियो सन्देशमा उनले भने।

कार्जाई सन् २००१ देखि २०१४ सम्म आफगानिस्तानका राष्ट्रपति थिए। उनले सबैलाई घरभित्रै बस्न र शान्त रहन आग्रह समेत गरेका छन्। उनले आफू र अन्य राजनीतिक नेताहरु शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न लागि परेको बताएका छन्।

 

तालिबानका लडाकुहरु काबुल प्रवेश गरेसँगै राष्ट्रपति असरफ घानीले यसअघि नै आफ्नो टिमसहित देश छाडिसकेका छन्। गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई बताए अनुसार तालिबान लडाकुहरु सबैतिरबाट काबुल प्रवेश गरेका थिए। उनले त्यसबाहेक अरु जानकारी भने दिएनन्। सो क्षेत्रमा अहिले कुनै पनि भिडन्त भएको रिपोर्ट आएको छैन।

पछिल्लो महिनामा अमेरिकाले ठूलो मात्रामा आफ्ना सैनिकलाई फिर्ता बोलाएपछि तालिबानले नियन्त्रण बढाएको थियो। त्योसँगै अफगानी सेनाको प्रतिरक्षा पनि कमजोर बनेको थियो।

अमेरिकाले काबुलस्थित आफ्नो दूतावासका कूटनीतिज्ञहरुलाई वाजिर अकबर खान जिल्लाको एक विमानस्थलमा हेलिकोप्टरमार्फत उद्धार गरेको छ। काबुलमा तालिबानको नियन्त्रण बढेसँगै अमेरिकाले उद्धारको लागि सैनिकहरु पठाएको थियो।

यसैबीच, अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेहले एक ट्विट गर्दै आफू तालिबान आतंककारीहरुसँग नझुक्ने बताए।

‘म कुनै पनि हालतमा तालिबान आतंककारीहरुको अगाडि झुक्ने छैन। म मेरा योद्धा अहमद शाह मसुदको आत्मा र विरासतलाई घात गर्दिनँ। मलाई मान्ने लाखौँ जनतालाई म निराश पार्ने छैन,’ उनले ट्विटमा भनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell