PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

मिथिलाञ्चलमा यस्तो देखियो झुला उत्सवको रौनक



सुमित मिश्र

मिथिलाञ्चलमा यस्तो देखियो झुला उत्सवको रौनक

जनकपुरधाम : मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुला उत्सव (झुल्नोत्सव)को रौनकता सहजै देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजन कीर्तन गरी झुला उत्सव मनाइने गरिन्छ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मावलम्बीहरु मठमन्दिरमा झुला उत्सव धुमधामका साथ मनाइरहेका छन्। मिथालाञ्चल क्षेत्र, भारतको बिहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिर लगायत धनुषा, महोत्तरी, सिरहा, सर्लाहीमा धुमधामसाथ झुल्नोत्सव पर्व मनाउने परम्परा रहेको छ।

साउन शुक्ल तृतीया तिथिबाट शुरु हुने झुल्नोत्सव पूर्णिमासम्म प्रत्येक राति जारी रहन्छ। झुल्नोत्सवमा विशेष गरी भगवान् सीता-राम र राधा-कृष्णलाई झुलामा झुलाइने परम्परा रहेको छ।

यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि देवीदेवताको प्रतीमा स्थापित प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतीमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए।

यस उत्सवमा जनकपुरधामका मन्दिरहरुबीच उत्सवको प्रतिस्पर्धा नै देख्न सकिन्छ। एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन कीर्तन र लोक कथाहरु सुनाइने गरिन्छ। जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइन्छ।

कसरी शुरु भयो झुल्नोत्सव?

जनकपुरधाममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासले गरेको बताइन्छ। दासको आगमनको समय सन् १७३० लाई मानिन्छ। त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरुको स्थापना भएको र विभिन्न उत्सवहरुको सुरुवात समेत भएको मानिन्छ।

सुरकिशोर दास माता जानकीलाई छोरी मान्दथे। उनले कहिलेकाहीँ माता जानकीसँग कुराकानी गर्ने गरेको मानिन्छ र माता जानकीको सल्लाहमा आदि महन्थ सुरकिशोर दासले यस झुल्नोत्सवको प्रारम्भ गरेका हुन्।

सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ।

जनकपुरधाममा झुलाको आकर्षण

मिथिलाञ्चलमा धानको रोपनी समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता शुरु भएको हेर्न सकिन्छ। यस क्रममा हरेक मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने गीतहरु कर्णप्रिय आवाजमा सुन्न सकिन्छ।

झुल्नोत्सवमा युवतीहरु झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेध बाड्ने परम्परा रहेको छ। मिथिलाञ्चलको मठमन्दिरमा साउन महिनाभरी उत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुल्नोत्सव डोरी काटी विधिवत् रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ।

झुल्नोत्सव अवर्णीय र अकथनीय रहेको तथा एकातर्फ मानिसलाई आनन्दको अनुभूति गराउँने र अर्कोतर्फ हृदयलाई भक्तितर्फ ओतप्रोत गराउने जनविश्वास रहेको छ। जनकपुर एवं मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुला उत्सव मनाउने परम्परा रहेपनि जानकी मन्दिर एवं राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु रहेको हुन्छ।

जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम-सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell