PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अफगानिस्तान मामिलामा चीनको ‘पोजिसन’ के हो?, ‘अफगान जनताको इच्छा र रोजाइको सम्मान गर्छौँ’



अफगानिस्तान मामिलामा चीनको ‘पोजिसन’ के हो?, ‘अफगान जनताको इच्छा र रोजाइको सम्मान गर्छौँ’
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङ। Photo : FMPRC

अफगानिस्तानमा तालिबानले नियन्त्रण जमाएसँगै अन्य मुलुकहरुले दूतावास बन्द गरेर कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई घर फर्काए पनि चीनले भने काबुलमा आफ्नो दूतावासबाट सामान्य रुपमा नियमित काम भइरहेको जनाएको छ।

चीन अफगानिस्तानका जनताको इच्छा र रोजाइको सम्मान गर्ने बताएको छ। चीनले अन्य देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको अनुशरण गर्दै आएको र अफगान नागरिकप्रति मैत्रीपूर्ण नीति अपनाएको बताएको छ। उसले अफगान जनताको आफ्नो भविष्य र भाग्य निर्धारण गर्न पाउने स्वतन्त्रताको सम्मान गर्ने पनि जनाएको छ।

यसअघि, २८ जुलाईमा चिनियाँ स्टेट काउन्सिलर र विदेश मन्त्री वाङ यीले अफगानिस्तानको तालिबान राजनीतिक समितिका प्रमुख बरादार र उनको पार्टीलाई थियानचिनमा भेटेका थिए। सो क्रममा अफगानिस्तानमा रहेका चिनियाँहरुको सुरक्षा प्रतिबद्धताबारे पनि कुराकानी भएको बताइएको छ।

चिनियाँ विदेश मन्त्रालयले सोमवार पत्रकारहरुलाई अफगानिस्तान मामिलामा चीनको अवस्थाबारे जानकारी दिएको छ। अफगानिस्तान मामिलामा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङ र पत्रकारबीचको सवाल जवाफ :

सीसीटीभी रिपोर्टर : अफगानिस्तानमा आवस्था निकै तीव्र रुपमा विकसित भइरहेको हामीले पायौँ, अफगानिस्तानको वर्तमान स्थितिलाई चीनले कसरी टिप्पणी गरेको छ?

हुवा चुनयिङ : अफगानिस्तानको स्थितिमा अहिले ठूलो परिवर्तन आएको छ। हामी अफगानिस्तानका जनताको इच्छा र रोजाइको सम्मान गर्छौँ। अफगानिस्तानमा ४० वर्ष भन्दा बढी समय युद्ध चल्यो। युद्ध रोक्नु र शान्ति प्राप्त गर्नु ३ करोड भन्दा बढी अफगानी जनताको सर्वसम्मत आवाज मात्र होइन, अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरुको साझा अपेक्षा पनि हो।

अफगान तालिबानले हिजो अफगानिस्तानमा युद्ध समाप्त भएको र उनीहरु एक खुला र समावेशी इस्लामिक सरकारको स्थापनाको लागि वार्ता गर्ने तथा अफगानिस्तानका नागरिकहरु र विदेशी मिशनहरुको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार कदम चाल्ने भनेर भनेको कुरा चीनले नोट गरेको छ। अफगानिस्तानको स्थिति सहज बनाउन, सबै प्रकारका आतंकवाद र आपराधिक कार्यहरु रोक्न तालिबानका यी बाचाहरु कार्यान्वयन गर्नुपर्छ भन्ने चीनको अपेक्षा हो, ताकी अफगान जनता युद्धबाट टाढा रहन सकुन् र आफ्नो सुन्दर मातृभूमि को पुनर्निर्माण गर्न सकुन्।

फिनिक्स टीभी रिपोर्टर : अफगानिस्तानको तालिबान राजधानी काबुलमा प्रवेश गरिसकेको छ र उनीहरुले शान्तिपूर्ण सत्ता हस्तान्तरणको लागि हरसंभव प्रयास गरिरहेको बताएका छन्। कतारमा दुई पक्षबीच वार्ता हुने अपेक्षा गरिएको छ। के चीनले तालिबान सत्तामा रहेको सरकारलाई मान्यता दिनेछ? अफगानिस्तानमा तालिबानको बहाली हुनु चीनको लागि के अर्थ राख्छ?

हुवा चुनयिङ : अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता र देशका विभिन्न पक्षहरुका इच्छाको पूर्ण सम्मान गर्ने आधारमा चीनले अफगान तालिबान र अन्य पक्षसँग सम्पर्क र सञ्चार कायम राखेको छ। र, सधैँ अफगानिस्तान मुद्दाको राजनीतिक समाधानको बढावामा चीनले रचनात्मक भूमिका खेलेको छ। सबैलाई थाहा छ कि २८ जुलाईमा स्टेट काउन्सिलर र विदेश मन्त्री वाङ यीले अफगानिस्तानको तालिबान राजनीतिक समितिका प्रमुख बरादार र उनको पार्टीलाई थियानचिनमा भेटेका थिए।

हामीले आशा गरेका छौँ कि एक व्यापक र समावेशी राजनीतिक ढाँचा स्थापना गर्न अफगान तालिबान अफगानिस्तानका सबै पार्टीहरु र जातीय समूहहरुसँग एकजुट हुनेछ। जुन अफगानिस्तानको आफ्नै राष्ट्रिय परिस्थितिहरुको लागि उपयुक्त हुनेछ र अफगानिस्तानमा स्थायी शान्तिको आधार खडा हुनेछ।

अफगान तालिबानले धेरै पटक उनीहरु चीनसँग राम्रो सम्बन्ध विकास गर्ने र अफगानिस्तानको पुनर्निर्माण तथा विकासमा चीनको सहभागिताको लागि आशा गरेको बताएको छ। उनीहरुले चीनलाई खतरा हुने गरी कुनैपनि पक्षलाई अफगानिस्तानको भूभाग प्रयोग गर्ने अनुमति दिने छैनन्। हामी यसको स्वागत गर्छौँ। लामो समयदेखि चीनले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डताको सम्मान गरेको छ, अफगानिस्तानको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन, र सधैँ सबै अफगान नागरिकप्रति मैत्रीपूर्ण नीति अपनाएको छ। चीनले अफगान जनताको स्वतन्त्र रुपमा आफ्नो भाग्य निर्धारण गर्ने अधिकारको सम्मान गर्दछ र अफगानिस्तानसँग राम्रो छिमेकी, मैत्रीपूर्ण र सहयोगी सम्बन्ध विकास गर्न तथा अफगानिस्तानको शान्ति र पुनर्निर्माणमा रचनात्मक भूमिका निभाउन इच्छुक छ।

रोयटर्स रिपोर्टर : के अफगानिस्तानमा चिनियाँ दूतावास अझै सञ्चालनमा छ? के चीनले कूटनीतिज्ञ फिर्ता बोलाउने कुनै योजना बनाएको छ? के तपाईँ अफगानिस्तान मा आफ्ना नागरिकहरुको सुरक्षाबारे चिन्तित हुनुहुन्छ?

हुवा चुनयिङ : अफगानिस्तानमा चिनियाँ दूतावास अझै सामान्य रुपमा सञ्चालनमा छ र चिनियाँ राजदूत तथा दूतावासका कर्मचारीहरु अझै पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्। अफगानिस्तानका रहेका धेरैजसो नागरिकहरु दूतावासको व्यवस्थापनमा पहिले नै स्वदेश फर्किसकेका छन्। केहि छिटपुट रहेका व्यक्तिहरु स्वेच्छाले बसेका हुन्। दूतावासले उनीहरुसँग सम्पर्क गरिरहेको छ र उनीहरु हाल सुरक्षित छन्। अफगानिस्तानमा रहेको चिनियाँ दूतावास अफगानिस्तानको स्थितिको विकासलाई नजिकबाट हेरिरहेको छ र अफगानिस्तानमा रहेका हरेक चिनियाँ नागरिकहरुलाई आवश्यक सेवा तथा सहायता प्रदान गर्न जारी राख्नेछ।

एजेन्स फ्रान्स प्रेस रिपोर्टर : अमेरिका र धेरै देशहरूले अफगान नागरिकहरुलाई देश छोड्न दिन अफगान तालिबानलाई आग्रह गरेका छन् र नयाँ हिंसाको जिम्मेवार अफगान तालिबान हुने चेतावनी दिएका छन्। अफगान जनताको वर्तमान स्थितिबारे चीनको ‘पोजिसन’ के हो? के अफगानिस्तानको वर्तमान अवस्थाले छिमेकी देशहरुसँग चीनको कूटनीतिक सम्बन्धमा केही असर पार्छ?

हुवा चुनयिङ : खासमा मैले तपाईँको प्रश्नको उत्तर अघि भर्खर मात्रै दिएँ।

अफगान तालिबानले हिजो अफगानिस्तानमा युद्ध समाप्त भएको र उनीहरु अफगानिस्तानका नागरिकहरु र अफगानिस्तानमा रहेका विदेशी मिशनहरुको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार कदम चाल्ने भनेर भनेका कुराहरु हामीले नोटिस गरेका छौँ। यी बाचाहरु कार्यान्वयन गर्न सकिनेछन् भन्ने हामीले आशा गरेका छौँ ताकी अफगान जनताहरु युद्धबाट टाढा रहन सक्नेछन् र आफ्नो सुन्दर मातृभूमिको पुनर्निर्माण शुरू गर्न सक्नेछन्।

चीनले सधैँ अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता र देशका विभिन्न पक्षहरुको इच्छाको सम्मानको आधारमा अफगान तालिबानसँग सम्पर्क र सञ्चार कायम राख्दै आएको छ। हामीले आशा गरेका छौँ कि एक व्यापक र समावेशी राजनीतिक ढाँचा स्थापना गर्न अफगान तालिबानले अफगानिस्तानका सबै पार्टीहरु र जातीय समूहहरुसँग एकता गर्नेछ। जुन अफगानिस्तानको आफ्नै राष्ट्रिय परिस्थितिहरुको लागि उपयुक्त हुनेछ र अफगानिस्तानमा स्थायी शान्तिको आधार खडा हुनेछ। अफगान तालिबानले धेरै पटक उनीहरु चीनसँग राम्रो सम्बन्ध विकास गर्न चाहेको र चीनलाई खतरा हुने गरी कुनैपनि पक्षलाई अफगानिस्तानको भूभाग प्रयोग गर्ने अनुमति नदिने बाचा पनि गरेका छन्। हामी यसको स्वागत गर्छौँ।

चीनले सधैँ अन्य देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको अनुशरण गर्दै आएको छ र सधैँ सबै अफगान नागरिकप्रति मैत्रीपूर्ण नीति अपनाएको छ। हामी अफगान जनताको आफ्नो भविष्य र भाग्य निर्धारण गर्न पाउने स्वतन्त्रताको सम्मान गर्छौँ। उनीहरुलाई यो अधिकार छ। हामी अफगानिस्तानसँग राम्रो छिमेकी, मैत्रीपूर्ण र सहयोगी सम्बन्धको विकास गर्न चाहन्छौँ र अफगानिस्तानको शान्तिपूर्ण पुनर्निर्माणमा एक रचनात्मक भूमिका निभाउनको लागि इच्छुक पनि छौँ।

इण्डियन ब्रोडकास्टिङ कर्पोरेशन रिपोर्टर : अफगानिस्तानमा चिनियाँ दूतावास अझै सामान्य रुपमा सञ्चालित छ भनेर तपाईँले भर्खरै उल्लेख गर्नुभयो। के चीनले अफगानिस्तानका कूटनीतिज्ञहरुको सुरक्षाको बारेमा टिआनजिनमा तालिबानका प्रतिनिधिहरुसँग कुराकानी गरेको थियो? तपाईँले भर्खरै भन्नुभयो कि चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काएको छ। के म सोध्न सक्छु, कति जना चिनियाँहरु अफगानिस्तानमा छन् र कति जनालाई स्वदेश फर्काइयो?

हुवा चुनयिङ : मैले अघि भर्खर मात्रै पनि भनेको थिएँ, हिजो अफगान तालिबानले सार्वजनिक रुपमा भनेको थियो कि उनीहरु अफगानिस्तानका नागरिकहरु र अफगानिस्तानमा रहेका विदेशी मिशनहरुको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार कदम चाल्नेछन्। मैले पहिले पनि उल्लेख गरिसकेको छु कि अफगानिस्तानका लागि चिनियाँ राजदूत र दूतावासका कर्मचारीहरुले अझै पनि आफ्नो पदमा छन् र आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्। अफगानिस्तानमा चिनियाँ नागरिकहरुको संख्याबारे जुन तपाईँले सोध्नुभएको छ, मलाई अझै थाहा छैन। तर, म के भन्न सक्छु भने धेरैजसो चिनियाँ नागरिकहरु दूतावासको सहयोगमा सुरक्षित रुपमा चीन फर्किसकेका छन् र त्यहाँ केहि छिटपुट कर्मचारीहरु स्वेच्छाले बसेका छन्। अफगानिस्तानस्थित चिनियाँ दूतावासले उनीहरुसँग सम्पर्क गरिरहेको छ, र उनीहरु हाल सुरक्षित छन्। अफगानिस्तानस्थित चिनियाँ दूतावासले अफगानिस्तानको विकसित अवस्थालाई शुक्ष्म रुपमा हेरिरहेको छ। दूतावासले अफगानिस्तानमा चिनियाँ संस्था र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित अफगान पक्षहरुलाई आग्रह पनि गरिरहेको छ।

प्रेस ट्रस्ट अफ इण्डियाका रिपोर्टर : काबुल अहिले भ्रम र आतंकले भरिएको छ। विशेषगरी, हजारौँ मानिसहरु आफ्नो शहरबाट सकेसम्म धेरै टाढा भागेका छन्, र विमानस्थल पनि रोकिएको छ। अफगान तालिबानप्रति चीनको वर्तमान नीति के हो? अफगानिस्तानको भूभाग चीनको हितप्रति हानी हुने गरी प्रयोग गर्न नदिने अफगान तालिबानले प्रतिज्ञा गरेको छ। के चीनले समग्र स्थितिलाई अफगान तालिबानले गरेको प्रतिज्ञाको आधारमा लिनेछ? के यसको मतलब यो हो कि चीनको हानी गर्ने समूहहरुलाई अफगान तालिबानले स्वीकार गरोस् भन्ने चीन चाहँदैन? वा यसको मतलब अफगानिस्तानमा एक समावेशी र शान्तिपूर्ण सरकार स्थापित होस् जो अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त हुनेछ भन्ने चीनले आशा गरेको छ?

हुवा चुनयिङ : म तपाईँको प्रश्नको छोटोमा जवाफ दिन सक्छु। चीनको विदेश नीतिको एक महत्वपूर्ण सिद्धान्त भनेको अन्य देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हो। हामी सबै देशहरुको सार्वभौमसत्ता र स्वतन्त्रता तथा सबै देशका जनताहरुद्वारा उनीहरुको आफ्नै राष्ट्रिय परिस्थिति अनुसार उपयुक्त मार्ग छान्न पाउने स्वतन्त्रताको सम्मान गर्छौँ। अफगानिस्तानको परिस्थितिमा ठूलो परिवर्तन आएको छ। चीनले गर्न सक्ने र अब गर्ने कुरा भनेको अफगान जनताको इच्छा र रोजाइको सम्मान, अफगानिस्तानलाई युद्ध यथाशक्य चाँडो रोक्न सहयोग, रुपान्तरणलाई सहज बनाउने, सबै प्रकारको आतंकवादलाई रोक्ने र शान्ति प्राप्त गर्ने हो।

यो आशा छ कि अफगानिस्तान र अन्तर्राष्ट्रिय समुदायको अपेक्षाहरुलाई पूरा गर्ने गरी अफगान तालिबान अफगानिस्तानमा रहेका सबै दलहरु र जातीय समूहहरुसँग एकजुट भएर व्यापक र समावेशी राजनीतिक संरचना स्थापित गर्नेछ र अफगानिस्तानमा स्थायी शान्ति प्राप्त गर्नेछ। अफगान जनता युद्धबाट जति सक्दो चाँडो बच्न सकुन् भन्ने हामी चाहन्छौँ।

एनबीसी रिपोर्टर : तपाईँले भन्नुभयो कि चीनले अफगान जनताको रोजाइको सम्मान गर्दछ। तर, अफगानिस्तानको वर्तमान स्थिति उनीहरुको रोजाइमा छैन। कूटनीतिक दृष्टिकोणबाट चीनले अफगान तालिबानसँग सञ्चार कायम राखेको थियो र गत महिना थियानचिनमा वार्ताको क्रममा सुरक्षा प्रतिबद्धता पनि प्राप्त गरेको थियो। के यो बुझ्न सकिन्छ कि पार्टीहरुले अफगानिस्तानको वैध सरकारको रूपमा अफगान तालिबानलाई स्वीकार गरे?

हुवा चुनयिङ : मैले यसबारे स्पष्ट पारिसकेको छु। स्टेट काउन्सिलर वाङ यी र अफगान तालिबान राजनीतिक समितिका प्रमुखबीच टिआनजिनमा भएको बैठकको प्रेस विज्ञप्ति जारी भइसकेको छ, र तपाईँले अनलाइनमा हेर्न पनि सक्नुहुन्छ। त्यतिबेला चिनियाँ पक्षले अफगानिस्तानमा रहेका सबै पक्ष र जातीय समूहहरु एकजुट भएर ‘अफगानिस्तानको नेतृत्व र अफगानिस्तानको स्वामित्व’को सिद्धान्त लागू गर्ने र अफगानिस्तानमा शान्ति र मेलमिलाप प्रक्रियालाई प्रवर्द्धन गर्ने गरी चाँडै नै ठोस परिणाम प्राप्त गर्ने आशा व्यक्त गरेको थियो। समावेशी राजनीतिक संरचना। यो अफगानिस्तान मुद्दामा चीनको लगातारको अवस्था हो।

जहाँसम्म ‘मान्यता’को कुरा छ, म के भन्न चाहन्छु भने अफगानिस्तानलगायत संसारका सबै देशहरुप्रति चीनको स्थिति भनेको अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु हो, र हामी सबै देशका जनताको स्वतन्त्र रूपमा उनीहरूको विकास मार्ग छनोट गर्ने र स्वतन्त्र रूपमा निर्णय गर्ने अधिकारको सम्मान गर्छौँ। चीनको पोजिसन सधैँ आफ्नो भाग्य र भविष्यसँग जोडिएको छ।

मैले पहिले उल्लेख गरेझैँ चीनले अफगानिस्तानको सार्वभौमसत्ता र देशका विभिन्न गुटहरुको इच्छाको पूर्ण सम्मानका आधारमा अफगान तालिबानसँग सम्पर्क र सञ्चार कायम राखेको छ। वर्तमान परिस्थितिमा हामी यो आशा गर्छौँ कि संयुक्त रुपमा व्यापक र समावेशी राजनीतिक संरचना स्थापनाको लागि अफगान तालिबान अफगानिस्तानका सबै दलहरु र जातीय समूहहरुसँग एक हुनेछ जुन अफगानिस्तानको आफ्नै राष्ट्रिय परिस्थितिहरुको लागि उपयुक्त हुनेत र अफगान जनतालाई युद्धबाट टाढा राख्नेछ। युद्ध रोक्ने र शान्ति प्राप्त गर्ने अफगान जनताको सर्वसम्मत आवाज हो र यो अफगान जनताको हितमा छ। चीनले अफगान जनतालाई उनीहरुको हित अनुरुपको निर्णय लिने कुरामा सहयोग गर्दछ।

फलो-अप : के तपाईँले यो निश्चित गर्न सक्नुहुन्छ कि अफगानिस्तानमा सरकार र सुरक्षा बलले उस्तै सुरक्षा मापदण्डहरु बनाउनु भन्दा पहिले चीन अफगानिस्तान गएको थियो?

हुवा चुनयिङ : हामीले सधैँ अफगान पक्षहरुलाई चिनियाँ संस्था र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी उपायहरु अपनाउन आग्रह गर्दै आइरहेका छौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell