PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

नगरपालिका ठप्प पारेर ६० जना जनप्रतिनिधि र कर्मचारी देश भ्रमणमा : सरकारी खर्चमा घुम्दै, फर्किने मितिको छैन टुंगो



सुमित मिश्र

नगरपालिका ठप्प पारेर ६० जना जनप्रतिनिधि र कर्मचारी देश भ्रमणमा : सरकारी खर्चमा घुम्दै, फर्किने मितिको छैन टुंगो

जनकपुरधाम : महोत्तरीको एक स्थानीय तहका जनप्रतिनिधिदेखि कार्यालय सहयोगीसम्म सरकारी खर्चमा देशव्यापी भ्रमणमा निस्केपछि कामकाज नै ठप्प भएको छ।

जिल्लाको बलवा नगरपालिकाका नगर प्रमुख विनोदकुमार यादवदेखि कार्यालय सहयोगीसहित ६० जना जनप्रतिनिधि तथा कर्मचारीहरु ५ दिनदेखि देशव्यापी भ्रमणमा निस्केका छन्।

बलवा नगरपालिकाको ११ वटामध्ये ८ वटा वडाका वडाअध्यक्ष, कार्यकारी सदस्यहरु, नगरप्रमुख विनोद यादव, नगर उपप्रमुख रिता देवी झा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, इन्जिनियर कार्तिकेश झा, लेखा अधिकृत सत्रुधन ठाकुर, वडा नम्बर ६ का वडा अध्यक्ष वैद्यनाथ झा, वडा नम्बर ५ का वडा अध्यक्ष दिनेश यादव, वडा नम्बर ९ का वडा अध्यक्ष सोना उल्ला सेठ, वडा नम्बर १० का वडा अध्यक्ष राजकुमार यादवसहित ६० जना देशव्यापी भ्रमणमा निस्केका हुन्।

रातु नदीको किनारामा रहेको बलवा नगरपालिका क्षेत्रको अधिकांश भाग डुबान र कटान भइरहेको जनप्रतिनिधिहरु नै गाउँघर र स्थानीय जनताको समस्यालाई बेवास्ता गरी भ्रमणमा गएपछि स्थानीयवासीहरु रनभुल्लमा परेको स्थानीय अशोककुमार यादवले बताए। वर्षातमा गाउँघर डुबानमा परिरहेको बेला यसरी स्थानीय तहका निकायका जिम्मेवार जनप्रतिनिधि देखि कर्मचारीहरु करिब एक सातादेखि पोखरा, बागलुङ, चितवन, सौराहा, रामपुरलगायत विभिन्न स्थलको भ्रमणमा छन्।

आर्थिक मसान्त समापनपछि नयाँ आर्थिक वर्षको सुरुवातासँगै बलवा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु भ्रमणमा छन्।

स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिहरु समेत भ्रमणमा हुदाँ नगरपालिकाको सम्पूर्ण कामकाज नै ठप्प छ भने सेवाग्राहीहरुको समस्या दिनानुदिन बढ्दै गइरहेको स्थानीय अशोक यादवले बताए।

नगरपालिकाको खर्चमा भ्रमणमा रहेको जनप्रतिनिधिहरु कहिले आउने ठेगान नरहेको एक कर्मचारीले बताए।

यता नगर प्रमुख यादवले निर्वाचित भएको करिब ४ वर्षदेखि आफुहरु कतै पनि भ्रमणमा नगएको र यसपाली मौका मिलाएर भ्रमणमा निस्केको बताए। उनले भने, ‘४ वर्ष देखि पालिकामै रहेर जनताको सेवा गरेको र यसपालीका मौका मिलाएर नगरपालिकाबाट नै समय मिलाएर सबै जना भ्रमणमा छौँ, गाउँ घरदेखि सेवाग्राहीको कामकाजहरुमा केही समस्या जस्तो देखिए पनि हामी फर्किएपछि पुनः कामकाज हुने नै छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell