PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

वीपीका समकक्षी रामनारायण मिश्रका छोरा हरिशंकर प्रदेश २ का प्रमुख, ६ दशकदेखि थिए राजनीतिमा



सुमित मिश्र

वीपीका समकक्षी रामनारायण मिश्रका छोरा हरिशंकर प्रदेश २ का प्रमुख, ६ दशकदेखि थिए राजनीतिमा

जनकपुरधाम : प्रदेश नम्बर २ को प्रमुखमा पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरिन् भने राजेश अहिराजलाई पदमुक्त।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश २ को प्रमुखमा नेपाली कांग्रेसका नेता एवंम पूर्व सांसद हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिलाइ सिफारिस गरेको थियो।  

शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई हटाएर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो। प्रदेश २ ले ४ वर्षमा चौथो प्रदेश प्रमुखका रुपमा मिश्रलाई पाएको छ।

प्रदेश २ मा पहिलो प्रदेश प्रमुखको रुपमा रत्नेश्वरलाल कायस्थ दोश्रो प्रदेश प्रमुखमा तिलक परियार र तेश्रो प्रदेश प्रदेश प्रमुखको रुपमा राजेश झा (अहिराज) थिए।  

सुरुमा रत्नेश्वरलाल कायस्थ तत्कालीन समाजवादी पार्टीको कोटाबाट प्रदेश प्रमुख बनेका थिए। कायस्थ २०७४ साल माघ ३ गते देखि २०७६ साल कार्तिक १८ गतेसम्म प्रदेश प्रमुख रहे। त्यस्तै, प्रदेशको दोश्रो प्रमुखका रुपमा आएका तिलक परियार तत्कालीन नेकपाको प्रचण्ड समूहको कोटाबाट ल्याइएका थिए। परियार २०७६ साल कार्तिक १८ गते देखि २०७७ साल फागुन ७ सम्म पदमा रहे।

तत्कालीन नेकपा पार्टी विभाजन भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी निकट परियारलाई प्रदेश प्रमुखबाट हटाएर राजेश झालाई गत वर्ष फागुन ७ गते नियुक्त गरेको थियो। 

शेरबहादुर देउवा नेतृत्वको सरकारले यस अघि गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिसकेको छ। 

को हुन् प्रदेश प्रमुखका लागि सिफरिसमा परेका मिश्र?
हरिशंकर मिश्रको जन्म २००२ सालमा महोत्तरीको पिपरामा भएको हो। ५९ वर्षदेखि सक्रिय राजनीतिमा रहेका मिश्रले आजै २ नम्बर प्रदेश प्रमुखको शपथ लिए। उनी वीपी कोइरालाका समकक्षी कांग्रेसी नेता रामनारायण मिश्रका छोरा हुन्। वीपीको नेतृत्वमा २०१६ सालको सरकारमा रामनारायण उद्योग मन्त्री थिए। 

राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि रामनारायणलाई समेत वीपीसँगै सुन्दरीजल कारागारमा थुनिएको थियो। बुवा जेलमा परेपछि २०१९ सालबाट राजनीतिमा सक्रिय भएका थिए हरिशंकर।

‘२०१९ सालमा बुवा जेलमा परेपछि प्रजातान्त्रिक आन्दोलनको झण्डा फहराउनकै लागि आन्दोलनको झण्डा बोकेको थिएँ,’ मिश्रले भने, ‘बुवा जेलमा परेपछि आन्दोलन शिथिल हुने र पिपरा गाउँकै नाम डुब्ने डरले बुवाको पथमा अगाडि बढेँ।’ 

रामनारायण मिश्र पक्राउ परेपछि हरिशंकर मिश्रले नै उक्त वर्ष प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनको झण्डा फहराएका थिए। त्यस समय उनी कक्षा ९ मा पढ्दै थिए। प्रजातन्त्र दिवसको अवसरमा झण्डा फहराएको भन्दै मिश्रलाई पक्राउ गरेर जलेश्वर कारागारमा राखिएको थियो। उनी अढाई महिना जेल बसे। पछि नाबालकलाई कारावासमा राखिएकोमा चर्को आलोचना भयो र उनलाई छोडियो। त्यसपछि अनवरत रुपमा उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भइ नै रहे। 

देशमा प्रजातन्त्रको पुनर्वहाली भएपछि २०४८ सालमा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा लडे। उनी विजयी पनि भए। तर, त्यसपछि दुई पटक नेपाली कांग्रेसबाट सोही क्षेत्रको प्रतिनधित्व गर्न खोज्दा असफल रहे। 

७६ वर्षीय मिश्रले पार्टी र गठबन्धनको सरकारले विश्वास गरेर नै आफूलाई प्रदेश प्रमुखमा नियुक्त गरेको बताए। उनले प्रदेश २ को सरकार र प्रदेशका जनतासँग छलफल गरेर मात्रै अगाडि बढ्ने सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell