PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

भोजपत्रदेखि ताडपत्र समेटिएको यस्तो छ न्यायिक संग्रहालय

भोजपत्रदेखि ताडपत्र समेटिएको यस्तो छ न्यायिक संग्रहालय


काठमाडौँ: पञ्चवर्षीय रणनीतिक योजनाले न्यायिक संग्रहालयको परिकल्पना अघि बढाएसँगै पछिल्लो डेढ वर्षयता न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा धमाधम काम भयो। नेपालको लिखित कानुनी शासन प्रणाली अवलम्बन हुनुअघिका शिलालेख तथा लिखित कानुनपछिका दस्तावेज खोज्ने क्रम समितिले अघि बढायो। एक वर्षभन्दा लामो समयको मेहनतपछि सर्वोच्चमा न्यायिक संग्रहालय स्थापना भएको छ।

मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संग्रहालय उद्घाटन गरेका छन्। न्यायिक संग्रहालय न्यायलयको इतिहासमा पहिलो हो।

तीन सय ५० भन्दा बढी सामाग्री समेटेर संग्रहालय स्थापना गरिएको छ। तर, स्थान अभावका कारण अहिले १५ प्रकृतिका सामाग्रीमात्र राखिएको छ।

के छ संग्रहालयमा?

संग्रहालयमा लिखित कानुनअघिको शिलालेख संग्रहित छ। यस्तै, १९४५ मा जारी भई १९८४ मा प्रकाशन भएको मुलुकी ऐनको पाँचौँ भागसम्म सग्रहित छ। विभिन्न समयमा संशोधन भएका मुलुकी ऐन र २०२० सालनमा जारी भएको मुलुकी ऐन पनि संग्रहित छ। मुलुकी ऐन प्रतिस्थापन गर्ने मुलुकी अपराधसंहिता र कार्यविधि तथा देवानी संहिता र कार्यविधि पनि संग्रहालयमा राखिएका छन्।

संग्रहालयमा कानुन प्रणालीको पुरातन र आधुनिक अवस्था झल्कने सामाग्रीहरु छन्। नेपालको पहिलो संविधान मानिने नेपाल सरकारको अन्तरिम शासन विधान पनि संग्रहालयमा छ।

भोजपत्रको नमूना, ताडपत्रको नमूना, बाँसको कलम पनि राखिएका छन्। भोपजत्र पुरातत्व विभागबाट संग्रहालयमा ल्याइएको हो। तत्कालीन समयमा नियम तथा आदेशलाई जनाउने सवालहरु पनि संग्रहालयमा छन्। मुलुकी सवाल १९७४, कितापी सवाल १९६४ संग्रहालयमा छन्।

हालको राजपत्र भनेर चिनिने नेपाल गजेटको पहिलो प्रकाशन पनि संग्रहालयमा छ। २०२३ सालमा पहिलोपटक गजेट प्रकाशित भएको थियो। जुन अहिलेको राजपत्र हो। तत्कालीन समयमा न्यायाधीशहरुको पूर्ण बैठकले गरेका हस्तलिखित निर्णय पनि संरक्षणका लागि राखिएका छन्।

१९७० यता इलाका अदालतलहरुले गरेका नेपाली कागजमा लेखिएका लामा लामा फैसला पनि संग्रहालयमा छन्। त्यस्ता फैसला लामो एकै पानामा सीमित छन्।

संग्रहालयमा न्यायिक इतिहास झल्काउने तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको फूलकोर्टको तस्विर राखिएको छ। अदालतको ऐतिहासिक विकासक्रमसँग सम्बन्धित अन्य सामाग्री पनि संग्रहालयमा छन्। पहिलो महिला न्यायाधीश सुशीलासिंह शिलुको तस्विर पनि संग्रहित छ। न्याय कानुन क्षेत्रका अन्य पहिलो व्यक्तिहरु महान्यायाधिवक्तालगायतको विवरण पनि संग्रहालयमा छ।

विभिन्न मुद्दाका क्रममा संकलित दशी पनि संग्रहालयमा छन्। न्यायाधीशको पोशाक झल्किने प्रतीमा पनि संग्रहालयमा स्थापना गरिएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell