PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

युएईको शरणमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी



युएईको शरणमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी
File Photo: Getty Images

अफगानिस्तानका राष्ट्रपति असरफ घानी युनाइटेड अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन्। खाडी मुलुक युएईले यसको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ

आइतवार तालिबान राजधानी काबुल छिरेसँगै घानीले अफगानिस्तान छाडेका थिए। युएईका विदेशमन्त्रीले मानवियताका आधारमा घानी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरिएको बताए।

यसअघि, घानी ताजिकिस्तान पुगेको हल्ला चलेको थियो। केही अपुष्ट रिपोर्टहरुमा उनीसँग ठूलो रकम भएको पनि बताइएको छ।

घानीले अफगान नागरिकहरुलाई सम्बोधन गर्दै फेसबुकमा आफूले रक्तपात रोक्न देश छाड्ने निकै कठिन निर्णय लिएको बताएका थिए।

यद्यपि, देश छाडेकोमा अफगानिस्तानका राजनीतिक नेताहरुले उनको चर्को आलोचना गरेका छन्।

‘भगवानले उसलाई जवाफदेही बनाउनेछन् र राष्ट्रले पनि मूल्यांकन गर्नेछ,’ अफगानिस्तानको राष्ट्रिय मेलमिलापको लागि उच्च परिषद्का प्रमुख अब्दुल्लाह अब्दुल्लाहले भनेका छन्।

सोमवार एक भाषणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि देश छाडेकोमा उनको आलोचना गरेका थिए।

यद्यपि, सत्ताको औपचारिक रुपमा हस्तान्तरण नभइसकेको भन्दै अमेरिकाले घानीलाई ‘राष्ट्रपति’को रुपमा नै मान्यता दिएको छ।

सन् २०१४ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका घानी २०२० मा पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell