PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुँदै, सर्वोत्कृष्ट फिल्मलाई ‘नियुफ’मा प्रदर्शन गरिने



लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुँदै, सर्वोत्कृष्ट फिल्मलाई ‘नियुफ’मा प्रदर्शन गरिने

काठमाडौं : नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता गर्ने घोषणा गरेको छ। नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) दशौँ संस्करणको सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिता शुरु गरिएको हो।

लैङ्गिक समानताका विषयमा बनेका अथवा सो विषयसँग सम्बन्धित लघु चलचित्रले प्रतियोगितामा सहभागी हुन पाउने युरोपियन युनियनले उल्लेख गरेको छ।

प्रतियोगितामा सहभागीमध्ये सर्वोत्कृष्ट फिल्मलाई आगामी असोज १ देखि ९ गतेसम्म सञ्चालन हुने नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) मा प्रदर्शन गरिनेछ। यस वर्षको दसौँ संस्करण भर्चुअल रुपमा आयोजना हुँदैछ।

लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने छ।

प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपाली नागरिक हुनुपर्ने र फिल्म ४० मिनेट वा त्यो भन्दा कम हुनु पर्ने नियम छ। त्यसबाहेक प्रतियोगितामा सहभागी हुने फिल्म सन् २०१८ वा त्योभन्दा पछि बनाइएको हुनुपर्नेछ।

नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन पाउनेछन् तर फिल्ममा अंग्रेजी भाषामा सबटाइटल हुनु पर्नेछ। यदि पुरै फिल्म अंग्रेजी भाषामा छ भने त्यसमा नेपाली सबटाइटल अनिवार्य हुनुपर्ने युरोपियन युनियनले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने फिल्मकर्मीले आफ्नो फिल्म एमपी ४ फर्म्याटमा भदौ १५ गते मध्यराति सम्ममा पठाइ सक्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell