PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

विवादका बीच ‘महाकवि देवकोटा सङ्ग्रहालय’को शिलान्यास



विवादका बीच ‘महाकवि देवकोटा सङ्ग्रहालय’को शिलान्यास
फोटो : नेपाल प्रज्ञा-प्रतिष्ठान।

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई ‘महाकवि देवकोटा सङ्ग्रहालय’का रूपमा पुनर्निर्माण गर्ने कार्यको थालनी भएको छ। पुनर्निर्माणको बिहीवार शिलान्यास गरिएको हो।

काठमाडौं महानगरपालिका-३० मैतीदेवी, शास्त्रीमार्गस्थित ‘महाकवि देवकोटा सङ्ग्रहालय’को नेपाल प्रज्ञा-प्रतिष्ठानले निर्माण गर्न लागेको हो।

मध्यान्ह १२ बजेर २५ मिनेटको शुभसाइतमा वैदिक विधिअनुसार प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘महाकवि देवकोटा सङ्ग्रहालय’ भवन पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्। शिलान्यासअघि मैतीदेवी मन्दिरमा प्रतिष्ठानका तर्फबाट क्षमापूजासमेत गरिएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास ‘कविकुञ्ज’लाई ‘सङ्ग्रहालय’का रूपमा निर्माण गर्ने उद्घोष गरेका थिए। सोही योजनाअनुरुप प्रतिष्ठानले ‘कविकुञ्ज’लाई सङ्ग्रहालयका रूपमा पुनर्निर्माण गर्न अढाई करोड रुपैयाँ तिरी देवकोटा परिवारबाट १२ आना एक दाममा फैलिएको सो घर र जग्गा किनेको थियो।

‘कविकुञ्ज’लाई भत्काएर नयाँ भवन बनाउने योजना भएपछि सो विषयमा विवाद सिर्जना भएको थियो। कतिपयले ‘कविकुञ्ज’लाई भत्काउन नहुने र त्यसैलाई सबलीकरण गर्नुपर्ने तर्क गरेका थिए। तर, प्रतिष्ठानले भने उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell