PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

प्रदेश २ मा दल टुटफुटको असर : ओलीभन्दा माधव मजबुत, महन्थ - राजेन्द्र कमजोर हुँदा उपेन्द्र बलियो



सुमित मिश्र

प्रदेश २ मा दल टुटफुटको असर : ओलीभन्दा माधव मजबुत, महन्थ - राजेन्द्र कमजोर हुँदा उपेन्द्र बलियो

जनकपुरधाम : दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी नेपाल र एमाले विभाजनको सिकार भएको छ। एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी नामसहित दल दर्ताका लागि निवेदन दिइसकेका छन्। यता जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामको दल दर्ताका लागि निवेदन दिइसकेका छन्।

केन्द्रमा भएको विभाजनको असर प्रदेश २ मा पनि परेको छ। ७ वटामध्ये ६ प्रदेशमा एमाले विभाजित भएपछि संस्थापन पक्ष अर्थात ओली पक्ष मजबुत देखिएको छ।

तर प्रदेश २ मा भने माधव समूह मजबुद् देखिन्छ। प्रदेश २ को प्रदेश सभा हाल नेकपा एमालेबाट २१ जना प्रदेशसभा सदस्य छन्।

यस्तै जसपामा उपेन्द्र यादव नेतृत्वको जसपा बलियो देखिएको छ। प्रदेश नम्बर २ मा सरकार बनाउनुपूर्व तत्कालिन दुई दल समाजवादी पार्टी र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनको सरकार बनेको थियो। त्यसपछि प्रदेशमा जसपा नेपाल बनेर सरकारको बागडोर सम्हालिरहेका जसपासँग कुल ५५ जना प्रदेशसभा सदस्य छन् जस मध्ये पुर्व राजपाका २५ जना प्रदेशसभा सदस्य रहेका थिए। तर पूर्व राजपाका २५ जना प्रदेशसभा सदस्यमध्ये ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा खुलिसकेका छन्। प्रदेशसभा निर्वाचनको क्रममा ३० प्रदेशसभा सदस्य निर्वाचित उपेन्द्र पक्षसँग अहिले ३९ जना प्रदेशसभा सदस्य भइ सकेको छ।

ओली बलियो कि माधव?

प्रदेशको निर्वाचन हुँदा एमाले र माओवादी मिलेर बनेको नेकपा दोस्रो ठूलो शक्तिको रुपमा स्थापित भएको थियो। तर अहिले सो दलमा टुटफुट हुँदै पुछारमा पुगेको छ । १०७ सदस्यीय रहेको प्रदेशसभा अहिले १०४ सदस्यीय रहेको छ। नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो।

एमालेको अहिले प्रदेश २ को प्रदेशसभामा २१ जना प्रदेशसभा सदस्य रहेका छन्। जसमध्ये १३ जना प्रदेशसभा सदस्य माधव पक्षमा खुलेका छन् भने बाँकी ८ जनामात्रै ओली पक्षमा। एमाले विभाजित भएपछि प्रदेश २ को प्रदेशसभामा नेपाल पक्ष यसरी मजबुत स्थितिमा छ।

प्रदेशसभामा एमालेबाट चुनाव जितेका प्रदेशसभा ससदस्यहरु मध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेपाल समूहमा लागेका छन्।

त्यस्तै ओली समूहमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन्।

प्रदेश २ बाट एमालेका ३२ केन्द्रीय सदस्य छन्। केन्द्रीय सदस्यको मामिलामा दूबै समूह बराबर स्थितिमा रहेको छ। ३२ केन्द्रीय सदस्यमध्ये १६ जना ओली समूहमा छन् भने १६ जना माधव समूहमा। एमालेको प्रदेश कमिटीमा भने माधव समूह मजबुत स्थितिमा छ। एमालेको १ सय सदस्यीय प्रदेश कमिटीमा ६० जना माधव समूहमा छन् भने ४० जना ओली समूहमा। त्यस्तै प्रदेश २ को ८ जिल्लामध्ये ६ जिल्लामा माधव समूह मजबुत स्थितिमा छ। ५ जिल्लामा माधव समूहले जिल्ला कमिटीको नेतृत्व नै गरिरहेको छ। यस हिसाबले माधव समूह मजबुत देखिन्छ।

आ-आफ्नो पक्ष मजबुत रहेको दुबै पक्षको दाबी

नेता माधव नेपालले निर्वाचन आयोगमा नया पार्टी दर्ता गराउन निवेदन दिएपछि एमाले विभाजन हुने निश्चित भएको छ। यस्तो अवस्थामा निर्वाचन आयोगले जनप्रतिनिधिहरुको हकमा २१ दिनभित्र कित्ता स्पष्ट पार्न समय दिएको छ। अहिले नै नेकपा एमालेको संस्थापन पक्ष वा माधव पक्षमध्ये कुन पक्ष मजबुत रह्ने कुराको विषयमा बोल्नु हतार हुने प्रदेश २ का नेताहरु बताउँछन्। यद्यपि दूबै समूहका नेताहरु आ–आफ्नो पक्ष मजबुत रहेको दावी गर्ने गरेका छन्।

माधव पक्षमा लागेका एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य शत्रुधन महतो भन्छन्, ‘निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र नपाउञ्जेल र हेड काउण्ट नहुन्जेल कुन समूह मजबुत भन्ने विषयमा कुरा गर्नु हतार होला। २१ दिन पर्खिनुस कुन समूह मजबुत भन्ने प्रश्नको जवाफ आफै पाउनु हुनेछ।’

यता माधव पक्षकै नेता श्रीप्रसाद साहले यहाँका नेताहरुले पार्टी नभई देशलाई महत्व दिएकाले आफ्नै पक्षको स्थिति मजबुत रहेको ठोकुवा गरे। ‘हामीले यो सन्देश दिन सफल भएका छौँ कि आफ्नै पार्टीको नेता प्रतिगमनकारी बन्यो वा संविधानको बर्खिलाप काम गरे त्यसको बिरोधमा आवाज उठाउन पनि पछाडी पर्दैनौँ,’ साहले भने ‘हामी आउने निर्वाचनमा ओलीको प्रतिगमनको विषयमा जनतालाई बुझाउने छौँ, जनताले पक्कै हाम्रो विश्वास गर्नेछ।’ आउने निर्वाचनमा पार्टी विभाजनको प्रत्यक्ष असर परे पनि ओलीभन्दा माधव पक्षकै स्थिति मजबुत रहने उनले दाबी गरे।

यता ओली समूहको प्रदेश २ को प्रदेशसभा सदस्य शारदादेवी थापाले अहिले गणितीय हिसाबमा ओली पक्ष कमजोर देखिए पनि जनाधारमा मजबुत रहेको दावी गरिन्। निर्वाचन आयोगले २१ दिनको समयमा सीमा कित्ता स्पष्ट पार्न समय दिएको छ उल्लेख गर्दै थापाले भनिन ‘सूर्य चिन्हलाई माया गर्नेहरु पक्कै पनि ओली कमरेडको साथमा उभिनेछन्। अहिले हाम्रो स्थिति प्रदेश २ मा कमजोर छ तर पदको लोभमा माधवजीसँग लागेकाहरु कति दिनसम्म टिक्लान त्यो हेर्न बाँकी छ।’

जसपाका यादव र ठाकुर पक्षमा को मजबुत?

महन्थ ठाकुर समूह प्रदेश नम्बर २ मा जसपा विभाजन गर्दा उपेन्द्र यादव नेतृत्वको जसपाभन्दा कमजोर देखिएका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशतमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि महन्थ ठाकुर समूहले पनि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

महन्थ ठाकुर पक्षका नेतासमेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले स्वयं तत्कालिन राजपा नेपालको भन्दा अहिलेको अवस्था कमजोर देखिएको बताए। जसपा गठनपूर्व राजपा नेपालसँग २५ जना प्रदेशसभा सदस्य थियो। तर सो मध्ये ९ जना प्रदेशसभा सदस्य उपेन्द्र यादव पक्षमा खुलिसकेका छन्। उनले पार्टी एकीकरण गर्नु पूर्व राजपा नेपालले प्रदेश नम्बर २ मा जिल्ला तथा प्रदेश स्तरमासमेत अध्यक्ष मण्डल गठन गरेर पार्टी संचालन भइरहेको उल्लेख गर्दै भने, ‘राजपा रहँदा अध्यक्ष मण्डल बनाएर प्रदेश तथा जिल्ला कमिटी सञ्चालन भएको थियो, जिल्ला तथा प्रदेश स्तरीय कमिटी गठनको आन्तरिक तयारीमै रहेको बेला समाजवादी पार्टीसँग एकता भएर जसपा बन्यो। हामीसँग राजपाको जिल्ला कमिटी तथा प्रदेश कमिटी नै थिएन। त्यसको आन्तरिक तयारीमै रहेको बेला जसपा पनि विभाजनको अवस्थामा पुगेको र को कता लाग्ने हो भन्ने कुरा अझै पनि अन्योल रहेकाले निर्वाचन आयोगले दल विभाजनसम्बन्धी जारी गरेको अध्यादेश अनुसार दल छुट्याउनका लागि सांसद र जनप्रतिनिधिका लागि २१ दिनको समयसिमा तोकेकोले यसका यकिनरुपमा संगठनात्मक अवस्था भन्नका लागि केहि समय अवश्य पनि चाहिन्छ।’

उनले अघि थप्दै भने, ‘तर प्रदेशसभामा हामीसंग रहेका २५ जना प्रदेशसभा सदस्य मध्ये ९ जना उपेन्द्र पक्षमा लागेपछि हामी अहिले केहि कमजोर अवश्य पनि भएका छौँ। तर नयाँ पार्टी संगठन निर्माणमा अवश्य पनि केहि समय लाग्ने र हाम्रो आधार क्षेत्र अवश्य पनि हामीले बलियो रुपमा निर्माण गर्नेछौँ।’

तत्कालिन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनिष सुमन अहिले मुल पार्टीमै रहेको बताउछन्। उनले भने ‘मैले न कित्ताकाट गरेको छु, न त मुल पार्टी छोडेको छु। आफु जसपामै विगतमा पनि रहेको र अहिले पनि छु।’

उनले महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा जानका लागि पार्टी फोड्नसमेत उद्धत देखिएको आरोप लगाए। उनले प्रतिगामी ओली सरकारमा समय व्यतित गरेर पार्टीको नामसमेत बदनाम गर्न पछि नपरेकाहरुले गुट र समूहमा रमाउने भएकाले गुट स्थापना गर्न लागेको भन्दै महन्थ ठाकुरको आलोचनासमेत गरे। उनले भने ‘विगतमा पनि महन्थ ठाकुरजी र राजेन्द्र महतोजी पार्टी संगठन निर्माणमा ध्यान नदिई गुट, समूह र ग्रुपमै रमाउने भएकाले अहिले राजनीतिबाटै तह लाग्नुपर्ने अवस्थाको सिर्जना भएको हो। उहाँले सोचे जस्तो समुहमा रमाउन नसकेको र ओली जस्ता प्रतिगामीको काँध थाप्न मरिहत्ते गर्नुले उहाँहरुको प्रदेश नम्बर २ मा जनाधार निकै कमजोर छ।’

प्रदेशसभा निर्वाचनको क्रममा ३० प्रदेशसभा सदस्य निर्वाचित उपेन्द्र पक्षसँग अहिले ३९ जना प्रदेशसभा सदस्य छन्।

प्रदेशमा महन्थ ठाकुर पक्षका २ जना मन्त्री र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह र राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादवसमेत उपेन्द्र पक्षमा लागेका छन्। राजपा नेपालबाट मन्त्री तथा प्रदेशसभा सदस्य र केही स्थानीय तहमा निर्वाचित भएकाहरु समेत उपेन्द्र पक्षमा लागेका छन्। मन्त्री नवलकिशोर साह र रामनरेश राय यादव, प्रदेशसभा सदस्यहरु मनिष सुमन, पूर्व राज्यमन्त्री सुरेशकुमार मण्डल, रानी शर्मा तिवारी र डा. रिना यादव, डा. अञ्जुकुमारी यादव, विक्की यादव, नेत्रविक्रम साह उपेन्द्र यादव पक्षमा लागेका छन्।

प्रदेश नम्बर २ मा हाल जसपा नेपाल, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयूक्त सरकार छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell