भारतमा निर्मित कोरोनाविरुद्को डिएनए खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ। जायडर कैडिलाले निर्माण गरेको जायकोभ-डी भारतीय औषधि नियमक सरकारी संस्था ड्रग्स कन्ट्रोलर जेनेरल अफ इन्डियाबाट प्रयोगका लागि अनुमति पाएको भास्करले जनाएको छ।
यता बिबिसीले भने उत्पादक कम्पनी कैडिला हेल्थकेयरको भनाई उद्धृत गर्दै यसबारे समाचार लेखेको छ। यो खोप विश्वकै पहिलो डिएनमा आधारित खोप भएको बताइएको छ। खोप १२ वर्षका बालबालबालिकामा पनि लगाउन सकिने र सोभन्दा माथिका उमेरका लाई लगाउन मिल्ने भारतीय समाचार संस्थाहरुले जनाएको छ।
कैडिला हेल्थकेयरले जायकोभ-डी ५० भन्दा बढी सेन्टरमा क्लिनिकल ट्रायल भइसकेको जनाएको छ। योसँगै भारतमा कोरोनाविरुद्धका ६ वटा फरकफरक नामको खोपले अनुमति पाएको छ। यसअघि सिरमको कोभिशिल्ड, भारत बायोटेकको कोभ्याक्सिनलगायत खोपहरुले अनुमति पाएको थियो। तीन डोजवाला यो खोप अरु खोप भन्दा फरक र यसले अरुले भन्दा इम्युनिटी बलियो बनाउने उत्पादक कम्पनीले दाबी गरेको छ। बीबीसीले यस्तो खालको डिएनए भ्याक्सिनले जनवारमा राम्रो गरे पनि मानिसमा भने राम्रो नभएको उल्लेख गरेको छ।