PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भारतमा रहेको यो मन्दिर जहाँ पुग्दा हरेक नेपालीले आफू नेपालमै रहेको महसुस गर्छन्



सुमित मिश्र

भारतमा रहेको यो मन्दिर जहाँ पुग्दा हरेक नेपालीले आफू नेपालमै रहेको महसुस गर्छन्

पूर्वीय सभ्यता र आदर्शको मौलिक पहिचान हो भारतको वाराणसी। उत्तर प्रदेशको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र। काशी वा बनारसको नामले पनि चिनिन्छ यो ठाउँ जसले हिन्दु धर्मावलम्बीहरुलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ, सधैं।

जहाँसुकै रहेका हिन्दुहरुका लागि यहाँ पुग्ने, स्नान गर्ने र पूजापाठमा सहभागी हुने महत्त्वकांक्षा हुन्छ। काशीको यस भूमिमा विश्नाथ महादेवको मन्दिर छ। भारतका विभिन्न स्थानका साथै नेपालीहरु समेत एकपटक नै भए पनि काशी विश्वनाथ महादेवको दर्शन र गंगा स्नान गर्न पुगेका हुन्छन्।

भारतको यो भूमिसँग नेपालको साइनो धेरै अघिदेखि नै रहँदै आएको हो, नयाँ होइन। बनारसमा रहेका विभिन्न घाटहरुमध्ये एउटा घाट नेपालीका लागि 'डेडिकेटेड' नै छ भन्दा फरक पर्दैन। बनारसको गंगा घाटहरु मध्ये ललिता घाटमा पुग्दा नेपालीहरु आफ्नै मुलुकमा रहेको अनुभूति गर्न सक्छन्।

ललिता घाटमा रहेको पशुपतिनाथ मन्दिर, त्यहाँ पूजाअर्चनामा व्यस्त रहेका नेपाली पूजारीहरु, संस्कृत अध्ययनका लागि बसेका नेपाली विद्यार्थी तथा आश्रममा मृत्युको पर्खाइमा रहेका नेपाली वृद्धवृद्धा। सबैले गराउने अनुभूति एकै हो – नेपालीपन।

प्राचिन नगरी, पवित्रस्थल

बनारसलाई संसारकै सबैभन्दा प्राचिन नगरीका रुपमा समेत चिनिन्छ। यो नगरी गंगा नदीको उत्तरी किनारमा रहेको छ। प्राचिन नाम वाराण्सी भए पनि लोकोच्चारणमा बनारस भनिँदै आएको छ। बनारसको विषयमा हिन्दुहरुको पवित्र ग्रन्थ ऋग्वेदमा समेत उल्लेख गरिएको पाइन्छ। यस स्थानलाई आद्य वैष्णवहरुको स्थानको रुपमा समेत चिनिन्छ। प्राचिन समयमा यो नगरी भगवान विष्णु (माधव)को पुरी (नगर) थियो भनिन्छ। त्यस स्थलमा भगवाण विष्णुको आनन्दको आँशु झरेको किम्बदन्ती छ। उनकै आशुबाट बिन्दुसरोबर बनेको मन्यता छ। त्यसैले विष्णुलाई बनारसमा बिन्दुमाधवका नामले समेत चिनिन्छ।

यद्यपि, पौराणिक कथाका अनुसार भगवान शिव ब्रह्माविरुद्ध क्रुद्ध भए। र, उनको शिर काटे। त्यो शिर उनको हत्केलामा टाँसिइरह्यो। १२ वर्षसम्म अनेकौ तीर्थाटन गरे पनि शिर हत्केलाबाट झरेन। त्यसपछि बनारसको काशी पुगे शिव। यहीँ पुगेपछिमात्र 'ब्रम्हहत्या'बाट उनले मुक्ति पाएको कथा छ।

नेपाल झल्काउने लालिता घाट

नेपाल झल्काउने वर्षौ पुरानो विरासत काशीस्थित गंगा घाटमा अहिले पनि यथावत छ। काशीको ८० वटा प्रसिद्ध गंगाघाटहरुमध्ये ललिता घाट एक हो जसले अहिले पनि नेपालको पहिचान दिन्छ। ललिता घाटमा रहेको पशुपतिनाथको मन्दिर हुबहु राजधानी काठमाडौँको पशुपतिनाथको शैलीमा छ। यस मन्दिरको नाम हो - साम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर। यस घाट अरुभन्दा फरक हुनुको कारण यही मन्दिर हो जसको बनावट अरुभन्दा विल्कुलै फरक लाग्छ। दशाश्वमेध घाट र मणिकर्णिका घाटको बिचमा रहेको ललिता घाटले छुट्टै पहिचान बोकेको छ। यस घाटलाई शुरुमा नेपाली घाट, राजराजेश्वरी घाट भनिँदै आए पनि कालन्तरमा ललिता देवी मन्दिरको नाउँले ललिताघाट हुन गएको हो।

यस घाटमा सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर, ललिता गौरी मन्दिर, गंगा केशव मन्दिर रहेको छ। घाटमा मन्दिरहरु तथा धर्मशाला निर्माण राजा राजेन्द्रवीर बिक्रम शाहले पूरा गरेका थिए। उनले सन् १८४३ मा ती मन्दिरहरुको निर्माण कार्य पूरा गराएका थिए।

त्यतिखेर मन्दिर निर्माणका लागि नेपालबाटै काठ तथा कालिगढ लगिएको थियो। काशीमा रहेको पशुपतिनाथ मन्दिरको छेउमै धर्मशाला पनि निर्माण गरिएको छ। नेपालको सांस्कृतिक झल्को दिन्छ यसले पनि। धर्मशालामा काठबाट बनेको बालकनी र आँखी झ्यालले यहाँ पुगेका नेपालीलाई भारतको बनारसमा नभई नेपालको कुनै ठाउँमा पुगेको आभाष गराउँछ। अहिले रहेका मन्दिरहरुको जिर्णोद्धार नेपाल सरकारले सन् १९४३ मा पहिलोपटक गरेको थियो।

मन्दिर संरक्षणप्रति नेपाल सरकार उदासिन

मन्दिर तथा घाटको स्वामित्वका विवाद शुरु भएपछि काशी नरेश विभूतिनारायण सिंहले नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वामित्व ग्रहण गर्नका लागि पत्र लेखेका थिए। त्यस पछिमात्रै नेपालको पुरातत्त्व विभागले यस घाटका साथै मन्दिरको रेखदेख गर्दै आइरहेको छ। पुरातत्त्व विभागले प्रत्येक ५ वर्षमा यस घाटका लागि संरक्षण समिति चयन गर्छ। हाल संरक्षण समितिका अध्यक्ष हुन् ओमकार नन्द गिरी।

अहिले यहाँको धर्मशालामा मोक्ष प्राप्तिका लागि भन्दै नेपालबाट आएका १८ बृद्धाहरु रहेका छन्। उनीहरुका लागि यही मन्दिर व्यवस्थापनले खाना र बासको चाँजोपाँजो मिलाउँदै आएको छ।

यद्यपि, भारतको बनारसस्थित नेपालको स्वामित्वमा रहेको घाटका कतिपय मन्दिर तथा जग्गाहरु अतिक्रमणमा परेका छन्। यसबारे नेपाल सरकारले चासो नदेखाएकोमा पूजारी तथा संरक्षक रोहितकुमार ढकाल चिन्तित छन्।

‘पुरातत्त्व विभागले नेपाली घाटका केही मन्दिर तथा जग्गा संरक्षण गरे पनि बाँकी भूभागको समेत संरक्षणका लागि भारत सरकारसँग समन्वय गर्नु आवश्यक छ,’ पूजारी ढकालले भने। उनका अनुसार घाटमा रहेको घरका तल्लाहरु नेपाल सरकारकै स्वामित्वमा रहे पनि भूईतल्ला भने नेपाल सरकारको स्वामित्वमा छैन। सबै तल्लाको स्वामित्व ग्रहणका लागि पनि नेपाल सरकारले चासो देखाउनुपर्ने उनको भनाई छ।

यता, भारत सरकारले विश्वनाथ करिडोर निर्माण अन्तर्गत ललिता घाटका लागि समेत बजेट छुट्याएकोमा ढकाल खुशी छन्। ‘भारत सरकारले ललिता घाटको सौन्दर्यिकरणका लागि ठूलै राशी खर्च गरिरहेको छ, यसले ललिता घाटमा आउने पर्यटकहरुको संख्यामा वृद्धि हुनेछ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell